काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो जीवनकालमा १०० अर्ब डलर (१३८ खर्ब रुपैयाँ) भन्दा बढी दान गरिसकेको खुलासा गरेका छन् । बीबीसीसँगको हालैको अन्तर्वार्तामा उनले आफूले अझै धेरै दान गर्न बाँकी रहेको बताएका छन् ।
गेट्सले माइक्रोसफ्टका अर्का सह-संस्थापक वारेन बफेटसँग मिलेर यो रकम दान गरेका हुन् । उनीहरुले बिल गेट्सकी पूर्वपत्नी मेलिन्डासँग मिलेर खोलेको गेट्स फाउन्डेसनमार्फत विभिन्न परोपकारी काममा रकम खर्च गरेका छन् । आगामी मे महिनामा यो फाउन्डेसन २५ वर्ष पुग्दैछ । सो अवसरमा यस सम्बन्धी थप जानकारी सार्वजनिक गरिने गेट्सले बताए ।
आफ्नो सम्पत्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै गेट्सले भने, “मैले १०० अर्ब डलरभन्दा बढी दान गरिसकेको छु, र अझै धेरै बाँकी छ ।” यति धेरै दान गरे पनि आफ्नो दैनिक जीवनशैलीमा खासै परिवर्तन नभएको उनले बताए । “मलाई फिल्म हेर्न र बर्गर खान अहिले पनि कुनै समस्या छैन,” उनले भने ।
गेट्ससँग अझै पनि निजी विमान र कैयौं घरहरू छन् । उनले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने योजना बनाएका छन् । “यसरी सम्पत्ति दान गर्ने योजनाले उनका तीन सन्तानलाई गरिब बनाउँदैन?" भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, "उनीहरू गरिब हुँदैनन् । उनीहरूले धेरै नपाए पनि केही प्रतिशत हिस्सा पाउँछन् ।”
हाल बिल गेट्सका १०० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका १५ धनाढ्यको सूचीमा समावेश छन् । ब्लुमबर्गको पछिल्लो सूचीअनुसार उनी १६४ अर्ब डलर सम्पत्तिसहित विश्वका धनाढ्यको सूचीमा आठौं स्थानमा छन् ।