close

‘बलिदान’ गीत राख्दै बालेनले गरे सामाजिक सञ्जाल विधेयकको विरोध !

टेकपाना टेकपाना

माघ २३, २०८१ १६:३९

‘बलिदान’ गीत राख्दै बालेनले गरे सामाजिक सञ्जाल विधेयकको विरोध !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति संकेतपूर्ण असहमति जनाउँदै फेसबुकमा आफ्नो पुरानो गीतको भिडिओ सार्वजनिक गरेका छन् ।

बालेनले काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका बेला सुरजसिंह ठकुरीको 'इट्स माइ शो' कार्यक्रममा बलिदान फिल्मको गीत गाएका थिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँगै सो कार्यक्रममा सहभागी भएका बालेनले आफ्नै शैलीमा प्रस्तुत गरेको उक्त गीत चुनावी प्रचारप्रसार र जितका लागि प्रभावकारी बनेको चर्चा हुने गरेको छ ।

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने तथा सरकारको आलोचनालाई दबाउनेगरी प्रावधान राखिएको भन्दै आलोचना भइरहेको छ । यही सन्दर्भमा बालेनले आफ्नो पुरानो भिडिओ शेयर गर्दै विधेयकप्रति असहमति जनाएको अनुमान गरिएको छ ।

आफ्ना अधिकांश पोस्टमा क्याप्सन लेख्ने बालेनले यसपटक कुनै टिप्पणी नगरी भिडिओ मात्रै शेयर गरेका छन् ।

यस्तो छ बालेनले शेयर गरेको गीतको अंशः

मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा

बलिदानको गीतामा मेरो शब्दको सलामी
गाउँ-गाउँबाट उठ युवा कलम थामी
सोर्है आना सही कुरा, सुन सोची साराले
भुमरीमा भौतारी भविष्य अभिभाराले

के हुन्छ एउटा नाराले, सपनाको सहाराले
के भन्न पो बाँकी छ, बुद्ध नै साँची छ
कोपिला मास्दा के फुल्छ त्यो डालीमा?
आँसु र रगत लुकेको छ लालीमा

हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द्व
कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्र छ मन त, धेरै छ नि भन्न
कुरा सुख-दुखको, मुखै भो बन्द

पछिल्लो अध्यावधिक: माघ २३, २०८१ १७:११