close

मेटाको कमजोरी पत्ता लगाएर सबैभन्दा बढी रकम पाउने देशका ह्याकरको सूचीमा नेपाल पनि !

टेकपाना टेकपाना

फागुन २, २०८१ १३:३१

मेटाको कमजोरी पत्ता लगाएर सबैभन्दा बढी रकम पाउने देशका ह्याकरको सूचीमा नेपाल पनि !

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले सन् २०२४ मा बग बाउन्टी कार्यक्रम अन्तर्गत २३ लाख अमेरिकी डलर (झन्डै ३१ करोड रुपैयाँ) भन्दा बढी पुरस्कार वितरण गरेको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले बग बाउन्टी कार्यक्रम अन्तर्गत वितरण गरेको रकम खुलासा गरेको हो ।

यस कार्यक्रम अन्तर्गत मेटाका प्लेटफर्ममा कमजोरी पत्ता लगाएर रकम पाउने उत्कृष्ट तीन देशमा नेपाल पनि परेको छ । मेटाले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन सहयोग गर्ने ह्याकरहरूलाई बग बाउन्टी (पुरस्कार) प्रदान गर्दछ ।

मेटाका अनुसार सन् २०२४ मा प्रदान गरिएको कुल पुरस्कारमध्ये सबैभन्दा बढी भारत, नेपाल र संयुक्त राज्य अमेरिकाका ह्याकरहरूले प्राप्त गरेका छन् ।

सन् २०११ मा यो कार्यक्रम सुरु गरेदेखि कम्पनीले हालसम्म दुई करोड अमेरिकी डलरभन्दा बढी पुरस्कार वितरण गरिसकेको छ । सन् २०२४ मा मात्रै मेटाले करिब १० हजार बग रिपोर्ट प्राप्त गरेको थियो, जसमध्ये ६०० भन्दा बढी रिपोर्टले मान्यता पाएका थिए ।

मेटाले जेनेरेटिभ एआई, एआर/भीआर, एड्भर्टाइजिङ टुल लगायतका क्षेत्रमा सुरक्षा अनुसन्धानकर्तासँग सहकार्य गरिरहेको छ । कम्पनीले वार्षिक बग बाउन्टी सम्मेलन र अन्य उद्योग कार्यक्रमहरू मार्फत साइबर सुरक्षा अनुसन्धानकर्ताको कामको उत्सव मनाउँदै आएको छ ।

मेटाका अनुसार यसले पछिल्लो समय जेनएआई सम्बन्धी बग रिपोर्टलाई विशेष प्राथमिकता दिएको छ । यसअन्तर्गत लार्ज ल्याङ्ग्वेज मोडेलसँग सम्बन्धित गोपनीयता वा सुरक्षा समस्याको जानकारी दिने गर्ने रिपोर्टलाई विशेष प्राथमिकता दिइएको छ । यसका साथै, एड अडियन्स टुल र मिक्स रियालिटी हार्डवेयर उत्पादनमा पनि सुरक्षा अनुसन्धानलाई प्रोत्साहन दिइएको छ ।

मेटाले बग बाउन्टी समुदायसँग खुला सहकार्यलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । यसै क्रममा कम्पनीले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा वार्षिक मेटा बग बाउन्टी रिसर्च सम्मेलन आयोजना गरेको थियो जहाँ विश्वभरका शीर्ष अनुसन्धानकर्ता भेला भएका थिए । यस सम्मेलनमा नेपाली ह्याकर पनि सहभागी थिए । यस वर्ष १२-१५ मेमा जापानको राजधानी टोकियोमा सम्मेलन आयोजना हुने भएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८१ १३:४५