close

अश्लील शब्दको आरोप लागेपछि युट्युबबाट हटाइयो नोरा फतेहीको गीत ‘सरके चुनर तेरी सरके’

टेकपाना टेकपाना

चैत ७, २०८२ १८:३७

अश्लील शब्दको आरोप लागेपछि युट्युबबाट हटाइयो नोरा फतेहीको गीत ‘सरके चुनर तेरी सरके’

काठमाडौँ । नोरा फतेही र सञ्जय दत्त अभिनीत गीत ‘सरके चुनर तेरी सरके’ मा प्रयोग भएका अश्लील शब्द र दृश्यका कारण सिर्जना भएको विवादपछि गीतको हिन्दी संस्करण युट्युबबाट हटाइएको छ । बहुप्रतिक्षित कन्नड फिल्म ‘केडी: द डेभिल’ को उक्त गीत सार्वजनिक भएलगत्तै सामाजिक मर्यादा र संस्कृतिमाथि प्रहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

गीतमा प्रयोग भएका शब्दहरू अत्यन्तै भद्दा र यौनजन्य आशयका रहेको भन्दै ‘अल इन्डिया सिने वर्कर्स एसोसिएसन’ पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ । चौतर्फी विरोध र दबाबपछि निर्माण पक्षले युट्युबबाट हिन्दी संस्करण हटाए पनि अन्य संस्करणहरू अझै यथावत् रहेको भन्दै केहीले विरोध जनाएका छन् ।

उत्तर प्रदेशको अलीगढस्थित ‘मुस्लिम पर्सनल दारुल इफ्ता’ले नोरा विरुद्ध फतवा जारी गर्दै विरोध जनाएको छ भने हरियाणा र कर्नाटक महिला आयोगले भारतीय सेन्सर बोर्डलाई कारबाही गर्न पत्राचार गरेका छन् । साथै विभिन्न ठाउँका प्रहरी कार्यालयमा उजुरी परेको छ । 

यसपछि भारतको सूचना तथा प्रसारण मन्त्रालयले समेत चासो देखाएको छ । हिन्दुस्तान टाइम्सले लेखेको समाचार अनुसार फिल्म प्रदर्शन हुनुअगावै यस्ता सामग्री सार्वजनिक भएको भन्दै मन्त्रालयले युट्युबलाई औपचारिक नोटिस पठाउने तयारी गरेको छ ।

गीतको हिन्दी संस्करण अनुवाद गर्ने रकिब आलमले भने आफू यो विवादमा तानिनु दुःखद भएको बताएका छन् । उनले भनेका छन्, “मैले यी शब्दहरू लेखेको होइन, फिल्मका निर्देशक प्रेमले कन्नडमा लेखेको गीतलाई जस्ताको तस्तै अनुवाद मात्र गरिदिएको हुँ । यस्ता शब्दहरूले विवाद निम्त्याउँछन् भन्दै मैले सुरुमै असहमति जनाएको थिएँ ।”

निर्माण पक्षले भने पूरै गीत रक्सीको बोतलको बारेमा सांकेतिक रूपमा तयार पारिएको दाबी गरेको छ ।

राजनीतिकर्मी तथा कलाकारहरूले पनि यस गीतको चर्को आलोचना गरेका छन् । अभिनेत्री कङ्गना रनावतले बलिउडले अश्लीलताको सबै सीमा नाघेको आरोप लगाउँदै यस्ता सामग्री प्रदर्शनमा कडा कानुनी प्रावधान ल्याउनुपर्ने बताएकी छिन् ।

भाजपा सांसद रवि किसनले संस्कृति र नैतिकतामा आँच पुर्‍याउने यस्ता भिडिओहरूलाई प्रोत्साहन दिन नहुने भन्दै आपत्ति जनाएका छन् । फिल्म निर्देशक ओनिरले पनि सेन्सर बोर्ड साना कुरामा अल्झिने, तर यस्ता गम्भीर विषयमा मौन बस्ने गरेको भन्दै आलोचना गरेका छन् ।

ध्रुव सर्जाको मुख्य भूमिका रहेको फिल्म ‘केडी: द डेभिल’ आगामी ३० अप्रिलमा प्रदर्शन हुने तय भएको छ । तर, फिल्म प्रदर्शनअगावै मुख्य गीत नै विवादमा परेर युट्युबबाट हटेपछि फिल्मको व्यवसायमा कस्तो असर पार्ला भन्ने चासो बढेको छ ।

यसैबिच नोरा फतेहीले आफूलाई हिन्दी संस्करणबारे पूर्ण जानकारी नभएको र निर्माण पक्षले धोका दिएको दाबी गरेकी छन् । उनले केही भागमा एआईमार्फत आफ्नो फोटो दुरुपयाेग गरेको भन्दै रिस पोखेकी छन् ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८२ २२:२१