युट्युबर पोखरेल पक्राउमा सरकारले भन्योः अपशब्द प्रयोग गरी गालीगलौज गर्ने कार्य कानुन विपरीत
चैत ३०, २०८२ ८:१४
काठमाडौँ । गृह मन्त्रालयले युट्युबर रोषन पोखरेल पक्राउको विषयलाई लिएर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'लाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा २६ चैतमा पाँचथरका एक युवालाई प्रहरीले पक्राउ गरेको भन्दै समाचार प्रकाशित भएका थिए ।
सो प्रकरणमा मन्त्रालयले साइबर अपराधमा जिल्ला अदालतबाट अनुमति लिई कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अघि बढाइएको र सोही क्रममा २९ चैतमा उनलाई परिवारको जिम्मा लगाइएको स्पष्ट पारेको छ । "सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ," मन्त्रालयले भनेको छ, "आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ ।"
समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानुन विपरीतका कार्य भएको मन्त्रालयले स्मरण गराएको छ । "यस किसिमका कार्यहरूमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको ब्यहोरा अनुरोध गर्दै प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको जानकारी गराइन्छ," मन्त्रालयले थपेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ ८:१४
