close

सीटीईभीटी अन्तर्गत प्रि-डिप्लोमा र डिप्लोमा तहमा निःशुल्क छात्रवृत्तिको मौका, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ ९:८

सीटीईभीटी अन्तर्गत प्रि-डिप्लोमा र डिप्लोमा तहमा निःशुल्क छात्रवृत्तिको मौका, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्ति कोटामा विद्यार्थी भर्नाका लागि आवेदन आह्वान गरेको छ । नेपाल सरकारको नीति अनुरूप प्राविधिक शिक्षामा गरिब, विपन्न र लक्षित वर्गको पहुँच बढाउने उद्देश्यले परिषद्अन्तर्गतका आङ्गिक, साझेदारी तथा निजी स्तरमा सञ्चालित शिक्षालयहरूका लागि यो छात्रवृत्ति खुलाइएको हो ।

कूल छात्रवृत्ति कोटा डिप्लोमा तहका लागि ३४१७ र प्रि-डिप्लोमाका लागि १०६५ छुट्याइएको छ । सरकारी वा सामुदायिक विद्यालयबाट एसएलसी वा एसईई उत्तीर्ण गरेका र परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका योग्य नेपाली विद्यार्थीहरू यस निःशुल्क छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न सक्नेछन् । यसका लागि सीटीईभीटीको आधिकारिक वेब पोर्टल मार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था मिलाइएको छ ।

२९ वैशाख २०८३ देखि सुरु अनलाइन आवेदन फाराम आवेदन फाराम बुझाउने अन्तिम मिति १३ जेठ, २०८३ राती ११:५९ बजेसम्म तोकिएको छ । आवेदन शुल्कको हकमा, डिप्लोमा तथा प्रमाणपत्र तहको निःशुल्क छात्रवृत्तिका लागि १,००० रुपैयाँ र प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि ५०० रुपैयाँ तोकिएको छ । उक्त शुल्क कनेक्ट आईपीएस वा खल्ती डिजिटल वालेटमार्फत अनलाइनबाटै बुझाउनुपर्नेछ ।

प्रि-डिप्लोमा कार्यक्रमको छात्रवृत्ति सम्बन्धि विवरणका लागि यहाँ क्लिक गरेर हेर्न सक्नु हुनेछ । डिप्लोमा तथा प्रमाणपत्र तहका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

अनलाइन आवेदन दिने तरिका

- यसका लागि सबैभन्दा पहिला www.ctevtexam.org.np मा गई Online Application मा क्लिक गर्नुहोस् ।

- त्यहाँ रहेको Register बटनमा क्लिक गरी विद्यार्थी आफैँले फाराम भर्ने भए Individual छनोट गर्नुहोस् ।

- आफ्नो पहिलो नाम, बिचको नाम र अन्तिम नाम प्रविष्ट गर्नुहोस् ।

- ईमेल एड्रेस र मोबाइल नम्बर राख्नुहोस् ।

- कम्तीमा ६ अक्षर, अङ्क र विशेष सङ्केत भएको एउटा बलियो पासवर्ड बनाउनुहोस् र Submit गर्नुहोस् ।

- दर्ता सफल भएपछि अघि प्रयोग गरिएको ईमेल वा मोबाइल नम्बर र पासवर्ड राखेर Login बटनमा क्लिक गर्नुहोस् । लगइन सफल भएपछि Login Successful सन्देश देखिनेछ ।

- ड्यासबोर्डमा Diploma/PCL Level र Pre-Diploma Level का विकल्पहरू देखिनेछन् । त्यहाँ रहेको Classified Scholarship (वर्गीकृत निःशुल्क छात्रवृत्ति) को विकल्पमा क्लिक गरी Proceed बटन थिच्नुहोस् ।

- अब यहाँ आफ्नो लिङ्ग (Male/Female/Other), जन्म मिति (विक्रम संवत्‌मा), बुबा वा आमाको नाम, धर्म र जाति छनोट गर्नुहोस् । त्यस्तै स्थायी ठेगाना अन्तर्गत प्रदेश, जिल्ला, नगरपालिका/गाउँपालिका र वडा नम्बर भर्नुहोस् । यदि अस्थायी ठेगाना पनि एउटै छ भने Same as permanent address मा टिक लगाउनुहोस् । त्यसपछि Next मा क्लिक गर्नुहोस् ।

- यति गरिसकेपछि आफूले अध्ययन गर्न चाहेको कार्यक्रम (जस्तै: Civil Engineering, Nursing, Agriculture आदि) छनोट गर्नुहोस् ।

- अध्ययन गर्न चाहेको संस्था भएको प्रदेश र जिल्ला छानेर प्राथमिकता क्रम (Priority Order) का आधारमा शिक्षण संस्थाहरूको सूची (Drag and Drop गरेर) मिलाउनुहोस् । पहिलो प्राथमिकतालाई १ मा, दोस्रोलाई २ मा राख्नुहोस् ।

- आफू योग्य भएको कोटा (साधारण वा लक्षित वर्गका विभिन्न विकल्पहरू) छनोट गर्नुहोस् ।

- शैक्षिक योग्यता खण्डमा Degree (SEE/SLC), विद्यालयको नाम, ठेगाना, विद्यालयको प्रकार (Government/Community), उत्तीर्ण वर्ष, र सिम्बोल नम्बर राख्नुहोस् ।

- नतिजाको प्रकार (Grading System वा Division) छानेर विषयगत अङ्क वा जीपीए भर्नुहोस् । यसमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको छुट्टाछुट्टै अङ्क भर्नुपर्ने हुन्छ ।

- अब सबै कागजातहरू स्क्यान गरी अधिकतम २०० केबी साइजमा (jpg, jpeg, png वा pdf फर्म्याटमा) अपलोड गर्नुपर्ने हुन्छ । जसमा नेपाली नागरिकता वा नाबालिगको हकमा जन्म दर्ताको प्रमाणपत्र, एसईई/एसएलसीको मार्कशिट, सरकारी वा सामुदायिक विद्यालयबाट पढेको प्रमाणित गर्ने सम्बन्धित पालिका वा शिक्षालयको सिफारिस पत्र तयार पार्नुहोस् । यसैगरी आफू पर्ने लक्षित वर्ग (दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अपाङ्गता, सहिद/द्वन्द्वपीडित आदि) प्रमाणित गर्ने आधिकारिक निकायको सक्कल पत्र र स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो पनि अपलोड गर्नुहो् । यसमा पछि कुनै परिमार्जन गर्न नपाइने भएकाले राम्रोसँग भेरिफाई गर्नुहोस् ।

- सम्पूर्ण विवरण भरिसकेपछि र कागजात अपलोड गरेपछि Next मा क्लिक गर्दा भुक्तानी पृष्ठ खुल्नेछ । त्यहाँ देखाइएको Connect IPS वा Khalti मध्ये कुनै एक विकल्प छनोट गरी तोकिएको शुल्क तिर्नुहोस् ।

- भुक्तानी सफल भएपछि Payment completed and Request sent successfully भन्ने सन्देश आउनेछ । त्यसपछि तपाईंले आफ्नो Application Acceptance Card प्रिन्ट गर्न सक्नुहुनेछ । यो कार्ड भर्ना हुने बेलामा अनिवार्य पेस गर्नुपर्ने भएकाले सुरक्षित राख्नुपर्छ ।

 

छनोट तथा भर्ना प्रक्रिया कसरी हुन्छ ?

विद्यार्थीको छनोट पूर्ण रूपमा योग्यताक्रममा हुने बताइएको छ । एसईईमा प्राप्त औसत ग्रेड पोइन्ट (जीपीए) लाई आधार मानेर अङ्क गणना गरिनेछ । यसमा सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकालाई थप १ अङ्क प्रदान गरिनेछ ।

यदि दुई वा सोभन्दा बढी उम्मेदवारको अङ्क बराबर भएमा क्रमशः अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयको अन्तिम ग्रेडका आधारमा योग्यताक्रम तोकिनेछ । त्यसमा पनि बराबर भएमा पिछडिएको दुर्गम क्षेत्रका उम्मेदवारलाई र सो पनि बराबर भएमा जन्म मितिका आधारमा बढी उमेर भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

आवेदन परिषद्को सम्बन्धित प्रदेश कार्यालयहरूले अनलाइनमार्फत नै रुजु गर्नेछन् । कागजात नपुगेका खण्डमा आवेदकलाई पुनः अपलोड गर्न समय दिइनेछ भने नक्कली कागजात पेस गरेमा आवेदन स्वतः रद्द हुनेछ । नक्कली कागजात पेस गरी छात्रवृत्ति पाएको कुरा पछि ठहर भएमा जुनसुकै बेला दर्ता खारेज गरी कानुन बमोजिम कारबाही हुने र ५ वर्षसम्म परिषद्का कुनै पनि परीक्षामा सामेल हुन नपाइने कडा नियम राखिएको छ ।

नतिजा प्रकाशन भएपछि उत्तीर्ण सूचीमा रहेका मुख्य उम्मेदवारहरूले १० दिनभित्र अनलाइन स्वीकृति कार्ड, सक्कल शैक्षिक प्रमाणपत्र र नागरिकता/जन्मदर्ता सहित सिफारिस गरिएको शिक्षालयमा उपस्थित भई भर्ना हुनुपर्नेछ । भर्ना हुने समयमा विद्यार्थीले अध्ययन अवधिभर सैद्धान्तिक र प्रयोगात्मक कक्षामा उपस्थित हुने स्वघोषणा सहितको कबुलियतनामा गर्नुपर्नेछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा छात्रवृत्तिमा सिफारिस भई भर्ना भएका परीक्षार्थीहरूसँग शिक्षालयले प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, नियमित परीक्षा आवेदन, पुस्तकालय वा अन्य कुनै पनि बहानामा शुल्क लिन पाउने छैन । यदि कसैले भर्ना गराइदिन्छु भनी झुट्टा आश्वासन दिएमा त्यस्तो भ्रममा नपर्न समेत परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई सचेत गराएको छ ।

थप जानकारी तथा फाराम भर्ने प्रक्रियाबारे कुनै दुबिधा भएमा सीटीईभीटीको आधिकारिक वेबसाइट www.ctevtexam.org.np मा राखिएको निर्देशिका हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ ९:३३