close

‘राष्ट्रिय एआई ह्याकाथन’ सम्पन्न, उत्कृष्ट टोलीले आगामी हप्ता शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने

टेकपाना टेकपाना

जेठ २५, २०८३ १४:३६

‘राष्ट्रिय एआई ह्याकाथन’ सम्पन्न, उत्कृष्ट टोलीले आगामी हप्ता शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने

काठमाडाैँ । ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आइतबार (२४ जेठ) मा सम्पन्न भएको छ । कोडदृष्टि सफ्टवेयर प्रालिले ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा ३२ घण्टे ह्याकाथन प्रतिस्पर्धा सम्पन्न गरेको हो । अब ह्याकाथनका विजयी टोलीहरूले आगामी हप्ता विशेष पोस्ट-इभेन्ट सत्र ‘दृष्टि लगानी’ मा सहभागी भएर आफ्नो परियोजनाका लागि लगानी जुटाउन सक्ने आयोजकले जानकारी गराएको छ ।

ह्याकाथनमा देशभरका २५० भन्दा बढी डेभलपर, विद्यार्थी, अनुसन्धानकर्ता र प्रविधि उद्यमी सहभागी भएका थिए । जसमा किस्ट कलेजको ‘टिम ४०४: फाउन्ड’ विजेता बनेको थियो भने ख्वप इन्जिनियरिङ कलेजको ‘टिम जेनोभा’ उपविजेता र एनसीआईटीको ‘बगमारा’ द्वितीय उपविजेता बनेका थिए । कान्तिपुर सिटी कलेज (डीओआईटी) को ‘केसीसी न्यूरल पल्स’ टोलीले उत्कृष्ट नवप्रवर्तनात्मक सोचको उपाधि जितेको थियो ।

यी विजयी तथा उत्कृष्ट टोलीहरुले आफ्ना नवीन एआई परियोजना तथा व्यावसायिक योजनाहरू ‘दृष्टि लगानी’ मा देशका प्रतिष्ठित लगानीकर्ता, सफल प्रविधि उद्यमी र व्यापारिक लिडरहरू सामु सिधै 'पिच' (प्रस्तुत) गर्ने विशेष अवसर पाउनेछन् । कोडदृष्टि सफ्टवेयर प्रालिले ‘दृष्टि लगानी’ लाई 'शार्क ट्याङ्क' शैली मा आयोजना गर्न लागेको छ ।

यसमा ह्याकाथनका उत्कृष्ट टोलीहरुको परियोजना व्यावसायिक रूपमा सम्भाव्य र उच्च प्रभावकारी देखिएमा लगानीकर्ताहरूले तत्कालै वास्तविक लगानी (Funding) दिनेछन् । यसका साथै, प्रविधिजन्य अवधारणालाई सफलतापूर्वक बजारसम्म पुर्‍याउन (Go-to-Market) का लागि व्यावसायिक मार्गदर्शन र मेन्टरसिप समेत प्रदान हुने आयोजकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १४:३८