close

ट्राफिक कारबाही नै नगरी प्रहरीले भ्रम फैलाएको हो कि सांसद हर्क साम्पाङ नै झुट बोलेका हुन् ?

टेकपाना टेकपाना

जेठ २६, २०८३ १०:३३

ट्राफिक कारबाही नै नगरी प्रहरीले भ्रम फैलाएको हो कि सांसद हर्क साम्पाङ नै झुट बोलेका हुन् ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) यतिबेला सडक दुर्घटना र त्यसपछिको ट्राफिक कारबाहीको विषयलाई लिएर विवादमा तानिएका छन् । ट्राफिक प्रहरीले लापर्बाहीका साथ सवारी चलाएको कसुरमा उनलाई कारबाही गरिएको आधिकारिक जानकारी दिएको छ । तर सांसद साम्पाङले भने उक्त कारबाहीलाई 'नक्कली' भन्दै अस्वीकार गरेपछि द्विविधाको स्थिति बनेको छ ।

केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा साम्पाङ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा उनको हात र शरीरका केही भागमा सामान्य चोट लागेको छ । दुर्घटनापछि उनले आफैँले खिचेको भिडिओमा अगाडिको गाडीले बाटोको ढुङ्गा क्रस गरेपछि आफूले एक्कासि देख्दा नियन्त्रण गर्न नसकेर लडेको दाबी गरेका थिए । उनले यसलाई सामान्य रूपमा लिँदै 'अलिअलि पिल्सिनु पर्छ, दुखाइको महसुस हुनुपर्छ' भनेका थिए ।

तर, दुर्घटना हुनुअघिको अर्को एउटा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भयो । उक्त भिडिओमा साम्पाङले एक हातले मात्र मोटरसाइकलको ह्यान्डल समातेको, अर्को हातले मोबाइलबाट सेल्फी भिडिओ खिचिरहेको र सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फितासमेत नलगाएको स्पष्ट देखिएको थियो ।

नियम बनाउने तहमा रहेका सांसदले नै सडकमा लापर्बाहीपूर्वक सवारी चलाएको र हेल्मेटको फितासमेत नबाँधेको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भयो । सर्वसाधारणले नियम मिच्दा प्रहरीले तत्काल भिडिओ बनाएर कारबाही गर्ने, तर सांसद जस्तो ओहदाको व्यक्तिलाई किन कानुनी दायरामा नल्याउने भन्दै सर्वसाधारणले प्रहरीलाई मेन्सन गरेरै कारबाहीको माग गरेका थिए ।

व्यापक जनगुनासो र भाइरल भिडिओको आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले साम्पाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) 'ङ' १८ बमोजिम 'लापर्बाहीका साथ सवारी चलाएको' कसुरमा कारबाही गर्‍यो । सोमबार नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साम्पाङलाई आवश्यक कानुनी कारबाही गरिएको जानकारी सार्वजनिक गरेको थियो ।

तर लगत्तै साम्पाङले यसको खण्डन गरे । उनले सुरुमा कारबाहीबारे अनभिज्ञता प्रकट गर्दै आफूलाई कारबाही नै नभएको र मिडियाको दुरुपयोग भएको आशयसहित फेसबुक पोस्ट गरेका थिए ।

विवादलाई अझ बढावा दिँदै उनले मङ्गलबार बिहान २ः१२ बजे अर्को पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले प्रहरीले सार्वजनिक गरेको ट्राफिक कारबाहीको चिटको स्क्रिनशट राख्दै आफूले पैसा नतिरेको र उक्त चिट नै 'नक्कली' भएको गम्भीर दाबी गरेका छन् ।

प्रमाणले के भन्छ ?

सांसद साम्पाङले चिट नक्कली भएको र आफूले जरिबाना नतिरेको दाबी गरेका छन् । डिजिटल भुक्तानी प्रणाली इसेवाको ट्राफिक फाइन पेमेन्टको विवरणले भने अर्कै तथ्य देखाउँछ । उक्त विवरण अनुसार सोमबार मात्रै हर्क राईकै नाममा चिट जारी भएको र ५०० रुपैयाँ जरिबाना लगाइएको स्पष्ट देखिन्छ । 

कोसी प्रदेशको इटहरीमा राजमार्ग डिस्टिकबाट हर्कराज राईको नाममा ८२११ नम्बरको चिट जारी भएको छ । निजी दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको कुरा चिटमा उल्लिखित विवरणबाटै स्पष्ट हुन्छ । 

 

टेकपानासँगको कुराकानीमा ट्राफिक प्रहरीले समेत चिट हर्क साम्पाङकै नाममा जारी भएको स्पष्ट पारेको छ । साम्पाङले जरिबाना नतिरेको उल्लेख गर्दै प्रहरी आफैँले तिरेको हो कि भन्दै व्यङ्ग्य गरेका छन् । तर जरिबाना रकम भने तिर्न बाँकी देखिएको छ ।  

सांसद साम्पाङले सार्वजनिक भएको चिटमा चिट काट्ने प्रहरी कर्मचारीको नाम ब्लर गरिएको सन्दर्भमा समेत आफ्नै किसिमको दाबी प्रस्तुत गरेका छन् । चिट काट्नेको नाम समेत एउटै रहेको र लुकाउन खोजे पनि बुझ्न सकिने उनको दाबी छ । तर ट्राफिक प्रहरी स्रोतले चिट प्रहरी सहायक हवल्दार पुस्कल श्रेष्ठले काटेको जनाएको छ । 

एकातिर नेपाल प्रहरी जस्तो जिम्मेवार निकायले आधिकारिक रूपमा ट्राफिक कारबाहीको चिटसहित कारबाही गरेको बताइरहेको छ भने अर्कोतिर एक बहालवाला सांसदले उक्त चिटलाई नै नक्कली भन्दै सामाजिक सञ्जालमा खण्डन गरिरहेका छन् । भिडिओले लापर्बाहीपूर्वक सवारी चलाएको र ट्राफिक प्रहरीको चिटले साम्पाङमाथि कारबाही भएको पुष्टि गरिरहँँदा सांसद साम्पाङले आफ्नो गल्ती ढाकछोप गर्न खोजीरहेको जस्तो देखिएको छ ।

एक कानुन निर्माताले सडक नियम उल्लङ्घन गर्नु र त्यसपछि आधिकारिक कानुनी कारबाहीलाई नै नक्कली भनेर चुनौती दिनुले सार्वजनिक उत्तरदायित्व माथि नै ठुलो प्रश्न चिन्ह खडा भएको छ । प्रहरीको दाबी र सांसदको इन्कारीबिचको यो टकराब अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताबिच चर्चाको विषय समेत बनेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १०:३७