काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै उनको शपथको तयारी गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पुनले मंगलबार दिउँसो ३ बजे राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् । उनीसँगै सुधन गुरुङले पुन: गृहमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा राजनीतिमा प्रवेश गरेका पुनले ६ माघमा पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनबाट विजयी पुन हाल प्रतिनिधि सभामा एक्लो स्वतन्त्र सांसद हुन् ।
पुनले लामो समयदेखि नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय हुनुपर्ने माग राख्दै आएका थिए । उनको सोही मागलाई सम्बोधन गर्दै सरकारले गत ३० वैशाखमा 'नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३' जारी गरी विज्ञान, प्रविधि र नवप्रवर्तनलाई छुट्टै मन्त्रालयको रूपमा कार्य विभाजन गरेको थियो । अब पुनले आफ्नै पहलमा स्थापित सोही मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् ।
यद्यपि, आफू मन्त्री बन्न लागेको विषयमा हालसम्म कुनै औपचारिक जानकारी नआएको सांसद पुनले बताएका छन् । टेकपानासँग कुरा गर्दै उनले भने, “सदनमा हुँदा साथीहरूले मन्त्री बन्न लागेको भनेर फोन गरेपछि मात्र मैले यसबारे थाहा पाएँ । तर, औपचारिक रूपमा मलाई अहिलेसम्म जिम्मेवार निकायबाट केही भनिएको छैन ।”
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १३:५५
