सवारी साधनमा आफूखुसी हेडलाइट तथा प्रेसर हर्न जोडे कारबाही गर्ने यातायात व्यवस्था विभागको चेतावनी
जेठ २६, २०८३ १४:२४
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको प्राविधिक स्पेसिफिकेसनभन्दा बाहिरका हेडलाइट र आफूखुसी प्रेसर हर्न जडान नगर्न कडा चेतावनी दिएको छ । विभागले मङ्गलबार एक सूचना जारी गर्दै यस्ता मापदण्ड विपरीतका बत्ती र हर्न प्रयोग गरी सवारी चलाएमा प्रचलित नियम कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारेको हो ।
पछिल्लो समय सवारी साधनमा तोकिएको स्थान नजिक वा अन्य स्थानमा उत्पादक कम्पनीले तोकेकोभन्दा भिन्न प्राविधिक स्पेसिफिकेसन भएका लाइट जडान गरी यातायात सञ्चालन गर्ने प्रवृत्ति बढेको पाइएपछि विभागले यो कदम चालेको बताइएको छ । मापदण्ड विपरीतका बत्ती जडान गर्दा सडकमा अन्य सवारी साधन चलाउन बाधा पर्ने र पैदल यात्रीसमेत दुर्घटनामा पर्न सक्ने गम्भीर सुरक्षा समस्या देखिएको विभागले जनाएको छ ।
कानुनी रूपमा पनि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले कार्यालयको स्वीकृति नलिई सवारीको स्वरूप वा बनौटमा आफूखुसी हेरफेर गर्न नहुने स्पष्ट प्रावधान राखेको छ । उक्त ऐनको दफा १६० अनुसार यसरी स्वीकृति बिना सवारीसाधनमा हेरफेर गर्ने वा गराउनेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने कानुनी व्यवस्था समेत रहेको छ ।
विभागले सवारी निरीक्षण/परीक्षण मापदण्ड २०७४ ले तोकेको हेडलाइट र हर्नको स्पष्ट मापदण्डबारे पनि सूचित गराएको छ । सूचनामा उल्लेख भएअनुसार डिप वा लो बिमको हेडल्याम्पको हकमा प्रकाशको तीव्रता १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म हुनुपर्नेछ । त्यसैगरी हाई बिम हेडल्याम्पको हकमा प्रकाशको तीव्रता प्रत्येक हेडल्याम्प १ लाख क्यान्डेला र चारवटै हेडल्याम्पको समग्रमा २ लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने प्रावधान छ । यस मापदण्ड विपरीत आफूखुसी अतिरिक्त लाइट जोड्न पाइने छैन ।
त्यसैगरी हर्नको आवाज न्यूनतम ९० डेसिबल (dB) देखि अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्नेछ । यो भन्दा बढी आवाज निकाल्ने प्रेसर हर्न वा अन्य कुनै प्रकारका हर्न जडान गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १४:२४
