close

टेलिफोन, इन्टरनेट, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् लगायतका क्षेत्रमा बन्द-हडताल निषेध

टेकपाना टेकपाना

जेठ २६, २०८३ १६:१२

टेलिफोन, इन्टरनेट, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् लगायतका क्षेत्रमा बन्द-हडताल निषेध

काठमाडौँ । सरकारले नागरिकको दैनिक जीवन र सूचना प्रविधिसँग जोडिएका अति आवश्यक क्षेत्रहरूमा हड्ताल गर्न पूर्ण रूपमा निषेध गरेको छ । सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले इन्टरनेट, टेलिफोन, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् जस्ता महत्त्वपूर्ण सेवाहरूमा कुनै पनि बहानामा हड्ताल वा बन्द गर्न नपाइने व्यवस्था गरेको हो ।

गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै विभिन्न २५ वटा क्षेत्रलाई आवश्यक सेवाको सूचीमा राखेर हड्ताल गर्न रोक लगाएको छ । विशेषगरी प्रविधि तथा सञ्चार क्षेत्रलाई प्राथमिकता दिँदै सरकारले इन्टरनेट सेवा, डाँक, तार वा टेलिफोन सेवा र समग्र सञ्चार सेवालाई यस सूचीमा समावेश गरेको छ ।

यसको अर्थ अब सूचना प्रविधिका पूर्वाधारहरूमा अवरोध पुर्‍याउने वा इन्टरनेट र टेलिफोन सेवा ठप्प पार्ने गरी कुनै पनि आन्दोलन वा हड्ताल गर्न कानुनी रूपमा बन्देज लगाइएको छ । यसैगरी, प्रविधिमा आधारित मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि अत्यावश्यक सेवा मानेर हड्ताल निषेध गरिएको छ । सञ्चार र प्रविधि उपकरण सञ्चालनको मुख्य आधार रहेको विद्युत् सेवामा पनि हड्ताल गर्न पाइने छैन ।

प्रविधि र सञ्चार बाहेक सरकारले अन्य दैनिक उपभोग्य तथा नभई नहुने सेवाहरूलाई पनि यो सूचीमा समेटेरको छ । जसमा निम्नअनुसारका सेवाहरू रहेका छन् ।

  • जल, स्थल वा हवाई यातायात तथा विमानस्थलको रेखदेख ।

  • अस्पताल, स्वास्थ्य केन्द्र (एम्बुलेन्ससहित) र औषधि निर्माण तथा बिक्री वितरण ।

  • खानेपानी सञ्चालन तथा वितरण

  • बैंकिङ र बीमा सेवा

  • फोहोरमैला व्यवस्थापन, सङ्कलन र ढुवानी

  • पेट्रोलियम पदार्थ (एलपी ग्याँससमेत) को पैठारी, ढुवानी र वितरण

  • दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)

  • मास्क र ह्यान्ड सेनिटाइजर सम्बन्धी सेवा

  • राहदानी विभाग र कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

  • प्रिन्ट वा सरकारी छापाखाना

  • आन्तरिक सुरक्षा र हातहतियार सम्बन्धी सेवा

  • पर्यटन आवास, मोटेल, होटेल र रिसोर्ट

  • भेटेरिनरी सेवा

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १६:४८