अमेरिकाको नयाँ दाउः बीवाईडी र अलिबाबा लगायत चिनियाँ सेनासँग सम्बन्ध रहेका कम्पनीको सूचीमा
जेठ २६, २०८३ १९:४६
काठमाडौँ । अमेरिकाले ई-कमर्सको दिग्गज कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी लगायतका प्रमुख चिनियाँ कम्पनीहरूलाई चिनियाँ सेनासँग सम्बन्ध रहेकाहरूको सूचीमा समावेश गरेको छ । अमेरिकी संस्थाहरूलाई यी चिनियाँ कम्पनीहरूसँग व्यापार गर्दा हुनसक्ने जोखिमहरूबारे सचेत गराउने उद्देश्यका साथ यस्तो कदम चालेको हो ।
यद्यपि, यो सूचीमा पर्दैमा उनीहरूमाथि तत्कालै कुनै प्रतिबन्ध लाग्ने भने होइन । सेक्सन 1260H को रूपमा चिनिने यो सूची सोमबार फेडरल रजिस्टर मार्फत सार्वजनिक गरिएको थियो । चीनका शीर्ष कम्पनीहरूको नाम समावेश गरिएपछि वाशिङ्टन र बेइजिङबिचको तनाव झन् बढ्ने जोखिम देखिएको छ ।
पेन्टागनले १८८ वटा चिनियाँ सैन्य कम्पनीहरूलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिम मानेर सूचीकृत गरेको छ । बीबीसीका अनुसार यी मध्ये धेरै व्यवसायहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमेरिकालाई व्यावसायिक सेवाहरू प्रदान गर्नमा संलग्न छन् । साथै, उनीहरूले विद्युतीय सवारी साधन (ईभी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता उद्योगहरूमा प्रमुख अमेरिकी कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
उदाहरणका लागि बीवाईडीले अमेरिकामा आफ्ना कारहरू निर्यात गर्दैन । तर यसै वर्षको सुरुमा उसले टेस्लालाई उछिनेर विश्वकै शीर्ष ईभी निर्माता बन्न सफल भएको थियो । यस विषयमा अमेरिकास्थित चिनियाँ दूतावासले बीबीसीसँग कुरा गर्दै उक्त सूची विभेदपूर्ण भएको बताएको छ र चिनियाँ कम्पनीहरूले विदेशका कानुनहरूको पूर्ण रूपमा पालना गरेको दाबी गरेको छ ।
अलिबाबाका प्रवक्ताले आफ्नो कम्पनीलाई यस सूचीमा समावेश गर्नुको कुनै आधार नरहेको स्पष्ट पारेका छन् । प्रवक्ताले भनेका छन्, "हाम्रो कम्पनी कुनै चिनियाँ सैन्य कम्पनी होइन र सैन्य-नागरिक फ्युजन रणनीतिको हिस्सा पनि होइन । हाम्रो कम्पनीलाई गलत रूपमा प्रस्तुत गर्ने प्रयासविरुद्ध हामी उपलब्ध सबै कानुनी विकल्पहरू अपनाउनेछौँ ।"
त्यसैगरी अर्को प्राविधिक कम्पनी बाइडुका प्रवक्ताले पनि सूचीमा आफ्नो कम्पनीलाई समावेश गर्नुको कुनै विश्वसनीय आधार नभएको र सूचीबाट आफ्नो नाम हटाउन उपलब्ध सबै विकल्पहरू प्रयोग गर्ने बताएका छन् । यस सूचीमा परेका अन्य नयाँ चिनियाँ कम्पनीहरूमा विद्युतीय कार निर्माता निओ र विमान निर्माता कोमाक पनि रहेका छन् ।
प्रविधिका दिग्गज कम्पनी टेन्सेन्ट, ह्वावे, ड्रोन उत्पादक डीजेआई र ब्याट्री निर्माता सीएटीएल जस्ता कम्पनीहरू भने यसअघि नै यसमा सूचीकृत गरिएका छन् । सन् २०१९ मा वाशिङ्टनले राष्ट्रिय सुरक्षाको चिन्ता देखाउँदै अमेरिकी फर्महरूलाई चीनको सबैभन्दा ठुलो कम्पनीमध्येको एक ह्वावेसँग व्यापार गर्न रोक लगाएको थियो ।
ह्वावेले भने आफ्ना उत्पादनहरूले सुरक्षा जोखिम निम्त्याउने दाबीलाई निरन्तर अस्वीकार गर्दै आफू चिनियाँ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ । नान्याङ प्राविधिक विश्वविद्यालयकी नीति विश्लेषक स्टेफनी कामले बेइजिङले अमेरिकी कदमलाई आर्थिक नियन्त्रणको एक रूपका रूपमा हेर्ने सम्भावना रहेको बीबीसीलाई बताएकी छन् ।
उनका अनुसार चीनले यसको जवाफमा अमेरिकी कम्पनीहरूलाई आफ्नै कालोसूचीमा थपेर वा कूटनीतिक रूपमा विरोध गरेर जवाफी कदम चाल्न सक्छ । विश्लेषक कामका अनुसार अमेरिकाले यी कम्पनीहरूलाई चिनियाँ सेनासँगको सम्झौताको कुनै स्पष्ट प्रमाणको आधारमा भन्दा पनि राज्यका कार्यक्रमहरूमा उनीहरूको सहभागिताका आधारमा सूचीकृत गरेको देखिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ २०:६
