काठमाडौं । युट्युबमा भिडिओ हेरेर बनाएको बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् । बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नम्बर पाँच चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारू आफैंले बनाएको बन्दुक पड्किँदा घाइते भएका हुन् ।
जिल्ला प्रहरी बाँकेका अनुसार गए राति ११ बजेतिर थारू आफैंले बनाएको घरेलु हतियार पड्किएको हो ।
उनले युट्युबमा हेरी काठ र फलामबाट घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाएका थिए । जसलाई उनले आफ्नो पाइन्ट पछाडिको गोजीमा राखेका थिए । त्यहीँबाट निकाल्ने क्रममा बन्दुक पड्केको थियो ।
थारूको दाहिने खुट्टाको पछाडिको भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । हाल उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।