काठमाडौं । अब डिभाइसहरूबीच गुगल मिटको कल नकाटिकनै सार्न सकिने भएको छ । एउटा डिभाइसमा गरिरहेको कुराकानी अर्को डिभाइसमा सजिलै सार्न सकिने फिचर गुगल मिटमा उपलब्ध हुने भएको हो । गुगलले यस फिचरको नाम 'स्विच हियर' दिएको छ ।
पहिले कुनै पनि अर्को डिभाइसबाट गुगल मिटको कलमा जोडिन परे उक्त कुराकानी काटेर पुन: जोडिनुपर्ने बाध्यता थियो । अब यस फिचर आएसँगै उक्त बाध्यता हट्ने छ ।
गुगलका अनुसार मोबाइल फोन वा ट्याब्लेटमार्फत भइरहेको कुराकानीलाई बिना अवरोध ल्यापटपमा सार्न सकिने छ । यसका लागि मिटिङमा जोडिने बेला 'स्विच हियर'को विकल्प देखिने छ ।
यस फिचरबाट तुरुन्तै एक-अर्को डिभाइसमा कल सार्न सकिने छ । यसले कुराकानीका दौरान भएका महत्त्वपूर्ण कुरा नछुट्ने गुगलको भनाइ छ ।
त्यस्तै अब एउटै कल फरक फरक दुई ओटा डिभाइसबाट पनि जोडिन मिल्ने भएको छ । यसका लागि अर्को डिभाइसमा उही मिटिङमा जाँदा 'जोइन हियर टू' भन्ने विकल्प देखिन्छ ।
गुगलका अनुसार यो फिचर रोलआउट हुन सुरु भइसकेको छ । केही हप्ताभित्र अधिकांश प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने छन् ।