काठमाडौं । माइक्रोसफ्ट स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म लिङ्क्डइनमा गेमिङ फिचर आएको छ । विश्वभर एक अर्ब प्रयोगकर्ता रहेको यो प्लेटफर्ममा पजलमा आधारित तीन ओटा गेम आएको हो ।
यसअन्तर्गत क्रसक्लाइम्ब, पिन पोइन्ट र क्विन्स नाम भएका गेम रहेका छन् । सोचेर खेल्नुपर्ने यी गेमले प्रयोगकर्ताको सीप तिखार्ने, ध्यान केन्द्रित गराउने र मानसिक स्वास्थ्यमा सुधार गर्ने बताइएको छ ।
लिङ्क्डइनका अनुसार प्रयोगकर्ताले दिनमा एक पटक मात्र यी गेम खेल्न सक्नेछन् । गेम खेल्नका लागि 'माई नेटवर्क' अथवा न्युज हबमा जानुपर्ने हुन्छ । प्रयोगकर्ताले आफ्नो कनेक्सनमध्ये क-कसले यी गेम खेले र उनीहरूको स्कोर कति छ भनेर समेत हेर्न सक्नेछन् ।
कस्ता छन् गेम ?
क्विन्स: यो गेम सुडोकुबाट प्रभावित भएर बनाइएको छ । यसमा तपाईंले ओभरल्याप बिना दिइएको ग्रिडमा एउटा निश्चित ढाँचामा मुकुटलाई मिलाएर राख्नुपर्ने हुन्छ ।
क्रसक्लाइम्ब: यसमा प्रयोगकर्ताले एक पटकमा एक अक्षर परिवर्तन गर्दै शब्दहरूको श्रृंखला बनाउनु पर्ने हुन्छ ।
पिनपोइन्ट: यो गेम 'वर्ड्ली', 'कनेक्सन्स' जस्तै छ । यसमा तपाईंलेसमान वर्गका शब्दहरूको अनुमान गर्नु पर्ने हुन्छ ।