close

अब इन्ड्राइभले राइडरबाट १० प्रतिशत कमिसन लिने

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १३:३२

अब इन्ड्राइभले राइडरबाट १० प्रतिशत कमिसन लिने

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले राइडरबाट दश प्रतिशत कमिसन लिने भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै नेपालका लागि कम्पनीकी निर्देशक रिता पोखरेलले प्रति राइड दश प्रतिशत कमिसन लिने बताएकी हुन् ।

यसअघि दर्ता बिनै अनौपचारिक रूपमा इनड्राइभले नेपालमा सेवा दिइरहेको थियो । कम्पनी दर्ता नभएकाले इनड्राइभले सरकारलाई कर तिरेको थिएन । त्यसैले राइडरलाई निःशुल्क सेवा दिँदै आएको थियो । अर्थात् राइडरले सो प्लेटफर्म प्रयोग गरेर जति आम्दानी गर्थे, त्यो सबै राइडरकै हुन्थ्यो । अब भने दश प्रतिशत रकम कमिसनका रूपमा कम्पनीलाई तिर्नुपर्नेछ । 

केही समय अघि मात्रै नेपालमा दर्ता भएर इनड्राइभले प्यान नम्बर समेत प्राप्त गरेको छ । कम्पनी दर्ता भएसँगै राडइरबाट कमिसन लिन सुरु गर्न लागेको हो । 

आधिकारिक रूपमा नेपालमा दर्ता भएको इनड्राइभले राइडरबाट कमिसन उठाउन डिजिटल वालेट आईएमई पेलाई आफ्नो टपअप तथा पेमेन्ट पार्टनर बनाएको छ । आईएमई पे वालेटमा इनड्राइभ टपअप गर्ने अप्सन समावेश भइसकेको देख्न सकिन्छ । 

त्यस्तै इनड्राइभको राइडर एपमा पनि वालेटको अप्सन छ, जहाँ आईएमई पेबाट मात्र टपअप गर्न सकिने विकल्प देख्न सकिन्छ । इनड्राइभ राइडरलाई छुट्टै युनिक कोड पनि दिइएको छ । सो कोडमार्फत कुनै अर्को आईएमई पे प्रयोगकर्ताबाट पनि रकम लोड गर्न सकिन्छ ।

त्यसबाहेक राइडर आफैंले लोड गर्न चाहे भने सोझै आईएमई पेको अप्सनमा गएर रकम लोड गर्न सक्नेछन् । यसका लागि भने आईएमई पेको केवाईसी भेरिफाई गरेको हुनुपर्छ । कम्पनीले ह्वाट्सएप र एप नोटिफिकेसनमार्फत् वालेटमा टपअप गर्न राइडरलाई नोटिफिकेसन पठाएपछि अहिले राइडरले आईएमई पे एप प्रयोग गर्न थालेका छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८१ १३:३३