close

कस्तो छ सहकारी संस्थालाई लक्षित गरी बनाइएको ‘मिरा सफ्टवेयर’ ?

टेकपाना टेकपाना

बैशाख २५, २०८१ १७:४६

कस्तो छ सहकारी संस्थालाई लक्षित गरी बनाइएको ‘मिरा सफ्टवेयर’ ?

काठमाडाैं । मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बाको रूपमा सहकारी संस्थालाई लिइन्छ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर धेरै सहकारीहरू डिजिटलाइज हुन सकेका छैनन् । सूचना प्रविधिको बढ्दो विकास र विस्तारले सहकारीहरू पनि प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना भइसकेको छ । यही मेसोमा करिब एक वर्षदेखि विभिन्न सहकारी संस्थामा प्रयोगमा आइरहेको ईआरपी सफ्टवेयरको नाम हो, मिरा (Myra) ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) र रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले याे सफ्टवेयर विकास गरेको हो ।क्लाउडमा आधारित ईआरपी सफ्टवेयरले सरकारीबाट हुने सबै किसिमका काराेबारलाई डिजिटल बनाउने नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) मनोज तिवारीले बताए ।

‘‘नेपालका ३० हजार बढी सहकारीलाई डिजिटलाइज गर्ने हाम्रो उद्देश्य छ,’ उनले भने, ‘त्यसै अनुसार मिरा सफ्टवेयरमा सहकारीलाई प्रविधिमैत्री बनाउन आवश्यक पर्ने सबै सुविधा रहेका छन् ।’’ सन् २०३० सम्म देशभरका सबै सहकारीलाई पूर्ण डिजिटलाइज गर्ने राष्ट्रिय सहकारी महासंघकाे प्रतिबद्धता कार्यान्वयन गर्ने अभियानमा मिरा सफ्टवेयर लागेकाे उनले उल्लेख गरे ।

सफ्टवेयरमा सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ई-बैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सहकारीलाई डिजिटलाइज गर्न आवश्यक पर्ने सुविधा छन् ।

वार्षिक १६ हजार रूपैयाँमा मिरा सफ्टवेयरका आधारभूत सुविधा प्रयोग गर्न सकिन्छ । अन्य सेवा लिँदा पनि न्यूनतम् शुल्क लाग्ने कम्पनीले जनाएको छ । 

आईएसओ २७००१ सर्टिफिकेट प्राप्त यस ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट मिरा एप डाउनलोड गरी डिजिटल बैंकिङको सबै सुविधा घरबाटै लिन सकिने नियोसिस टेक्नोलोजीको भनाइ छ । हाल १८१ सहकारी संस्थाहरूले याे सफ्टवेयर प्रयोग गरिरहेको छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १८:०