close

कति जीबी र्‍याम भएको फोन किन्ने ?

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १२:४८

कति जीबी र्‍याम भएको फोन किन्ने ?

काठमाडौं । नयाँ फोन किन्नु आफैंमा महत्त्वपूर्ण काम हो । मानिसहरू नयाँ स्मार्टफोन खरिद गर्नु अघि तमाम व्यक्तिसँग सल्लाह लिने गर्छन् ।

त्यस्तोमा कति जीबी र्‍याम तथा स्टोरेज भएको स्मार्टफोन उपयुक्त हुन्छ भन्ने प्रश्न पनि उठ्छ । साथै समयसँगै स्मार्टफोन स्लो भएर जान्छ । र्‍यामसँगै फोनको पर्फर्मेन्समा प्रोसेसरको समेत उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

जसले गर्दा यदि तपाईंको फोनमा राम्रो प्रोसेसर छ भने थोरै र्‍याम हुँदा पनि राम्रो स्पिड दिन सक्छ । यदि फोनको प्रोसेसर पुरानो वा कमसल छ भने चाहिं र्‍याम बढी आवश्यक पर्छ ।

कति जीबी र्‍याम भएको फोन किन्ने ?

यदि तपाईं फोन एकदमै आधारभूत प्रयोजन जस्तै, कल, मेसेज, वेब ब्राउजिङ, सामाजिक सञ्जालका लागि प्रयोग गर्नु हुन्छ भने ४जीबी र्‍याम पर्याप्त हुन्छ ।

तर यदि मल्टिटास्किङ, जस्तै गेमिङ, भिडिओ एडिटिङ जस्ता काम गर्नु हुन्छ भने तपाईंलाई ६ देखि ८ जीबीसम्मको र्‍याम चाहिन्छ । होइन, हेभी गेमिङ समेत फोनमै गर्नुहुन्छ, फोरेकसम्मको भिडिओ एडिटिङ गर्ने सोच छ भने चाहिं १२ जीबी र्‍याम उपयुक्त हुन्छ । 

पछिल्लो समय त ब्रण्डहरूले १६ जीबी र्‍यामको सिमाना तोडेको देखिन्छ । यो प्रक्रियालाई अझ रोचक बनाउन विभिन्न स्मार्टफोन ब्रान्डहरूले भर्चुअल र्‍यामसमेत ल्याएका छन् । 

अधिकतम र्‍यामले प्रभावशाली हुने सिद्धान्तसहित भर्चुअल र्‍यामको रणनीति अघि सारिएको हो । यद्यपि प्रयोगकर्तामाझ एन्ड्रोइड स्मार्टफोनमा कति र्‍याम आवश्यक छ भन्ने प्रश्न भने जिवितै छ । 

आजभोलि १४ देखि २० हजार रूपैयाँ मूल्यका स्मार्टफोनमा ४ जीबीदेखि ६ जीबी र्‍याम उपलब्ध छ । जबकि प्रिमियम (महंगा) फाेनहरू सजिलै ८ जीबी र १२ जीबी र्‍याम क्षमतामा सार्वजनिक भइरहेका छन् । 

धेरै संख्याको र्‍याम खोज्नु अहिलेको प्रवृत्ति नै बनेको छ । झट्ट हेर्दा धेरै जीबी र्‍याम भएको स्मार्टफोन नै हरकोहीको रोजाइमा पर्छ । स्मार्टफोनमा धेरै र्‍याम खोज्नु राम्रो कुरा पनि हो । जे होस् दुई वर्ष या सोभन्दा बढी समय एन्ड्रोइड स्मार्टफोनको मज्जा लिन सकिने र्‍याम त चाहिन्छ नै ।

र्‍याम भनेको एप्लिकेसन प्रोसेसर, तिनीहरूको डेटा, र अपरेटिङ सिस्टमद्वारा प्रयोग हुने मेमोरी हो । हिजोआज ४ जीबी र्‍याम स्मार्टफोनका लागि न्यूनतम मान्न सकिन्छ । यद्यपि, कम मूल्यका केही एन्ड्रोइड स्मार्टफोन २ र ३ जीबी र्‍यामका साथ पनि उपलब्ध छन् ।

तपाईंको स्मार्टफोनमा जतिसुकै र्‍याम भएपनि सीमित हुन्छ । र यसलाई निरन्तर रुपमा व्यवस्थापनको आवश्यकता पर्छ । तपाईंले एन्ड्रोइडमा नयाँ एप सुरु गर्दा यसले मेमोरीको एक भाग ओगट्छ । सामान्य एप र गेमले केही सय एमबी अर्थात् मेगाबाइट प्रयोग गर्दछन् ।

केही वर्षदेखि स्मार्टफोन ब्रान्डहरू ‘भर्चुअल र्‍याम’ को ट्रेन्डमा गइरहेका छन् । यसले भर्चुअल रूपमै र्‍यामको मात्रा विस्तार गर्दछ । यो पुरानै अवधारणा हो, जुन कम्प्युटरमा वर्षौंदेखि रहिआएको छ ।

यो पुरानो ‘स्वाप’ (SWAP) मेमोरी भएपनि स्मार्टफोनका लागि निकै राम्रो मानिन्छ । जसमा, मेमोरीको सबैभन्दा पुरानो र कम प्रयोग हुने पेजहरू स्वाप स्टोरेजमा लेखिन्छन्, र तिनीहरूले र्‍याममा ओगटेको मेमोरी खाली हुन्छ । एक पटक स्वाप-आउट मेमोरी आवश्यक भएपछि, सुरक्षित मेमोरी पेजहरू स्टोरेजबाट फिर्ता हुन्छ र र्‍याममा कपि गरिन्छ ।

यसले एप र डेटा स्टोरेज गर्न उपलब्ध र्‍यामको मात्रालाई बढाउँछ । यद्यपि, यसको सीमा भनेको यो र्‍यामको तुलनामा धेरै ढिलो हुनु हो । तर फेरि, यहाँ स्मार्टफोनका फाइदामध्ये एक आउँछ- तिनीहरूसँग धेरै कम्प्युटरभन्दा छिटो स्टोर गर्नसक्ने मोड्युल छन् । यो भौतिक र्‍याम जत्तिकै छिटो नभएपनि कम्प्युटरहरू भन्दा छिटो छ । 

अर्काेतर्फ, यदि तपाईंले ख्याल गर्नुभएको छ भने स्मार्टफोन निर्माता कम्पनीले एउटै स्मार्टफोनलाई अलग अलग र्‍याम भेरियन्टका साथ बजारमा ल्याइरहेका हुन्छन् । ता कि प्रयोगकर्ताहरू आफ्नो आवश्यकता र मागको आधारमा आफ्ना लागि उपयुक्त विकल्प छनौट गर्न सकून् ।

यदि तपाईंले इन्ट्री लेभलका वा भनौं १० हजार आसपासका मोबाइलहरु हेर्नु भयो भने त्यस्ता फोनहरुमा २ जीबी वा ३ जीबी र्‍याम रहेको हुन्छ । र्‍यामको यो आकार त्यस्ता प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ, जो फिचर वा बारफोनबाट स्मार्टफोनमा शिफ्ट भइरहेका हुन्छन् । उदाहरणका लागि तपाईंका बुबा, आमा वा हजुरआमा तथा हजुरबुबा हुनसक्नुहुन्छ । उहाँहरुका लागि यी स्मार्टफोन उपयुक्त मानिन्छन् ।

यी फोनहरु सामाजिक सञ्जाल, ह्वाट्सएप, युट्युव आदिका लागि पर्याप्त हुन्छन् । तर यहाँनिर हामी तपाईंलाई २ जीबी र्‍यामयुक्त स्मार्टफोन सकेसम्म प्रयोग नगर्न सुझाव दिन्छौं । किनभने यस्ता फोनहरुले ह्याङ भएर तपाईंलाई दिक्क पार्न सक्छन् । इन्ट्री लेभलकै स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कम्तिमा ३ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

२ जीबी र्‍यामलाई बिर्सिदिनुहोस् । यदि तपाईं स्मार्टफोनमा फेसबुक, युट्युब, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता एप्लिकेसनका साथै सामान्य किसिमका गेमिङ एप प्रयोग गर्न चाहुनुहुन्छ भने आजको समयमा कम्तिमा ४ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्नुहोस् ।

तर तपाईं सामान्य गेमिङभन्दा माथि अर्थात् हेभी गेमिङ गर्न चाहनुहुन्छ अथवा भनौं तपाईंलाई गेमिङको निकै शौख छ र १ जीबी/डेढ जीबी साइजका गेम खेल्नुहुन्छ भने फोनमा कमसेकम ६ जीबीको र्‍याम हुन जरुरी छ ।

यदि तपाईं त्यसभन्दा पनि झन् हार्डकोर गेमिङमा रुची राख्नुहुन्छ भने तपाईंको रोजाई गेमिङ स्मार्टफोन नै हो । त्यस्तो अवस्थामा ८ जीबी र्‍याम भएको स्मार्टफोन खरिद गर्ने कोसिस गर्नुहोस् ।

तर कुनै पनि स्मार्टफोनमा र्‍याम मात्रै महत्वपूर्ण र पर्याप्त हिस्सा होइन । अर्थात् ठूलो आकारको र्‍याम हुँदैमा मात्र तपाईंले स्मार्टफोनमा फास्ट पर्फर्मेन्स अनुभव गर्न पाउनुहुन्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले तपाईंको फोनमा र्‍यामका अलावा तपाईंको फोनमा पावरफुल प्रोसेसर र अप्टिमाइजेसन समेत हुन जरुरी छ । यी सबैको संयोजनबाटै तपाईंलाई फोनमा राम्रो पर्फर्मेन्स अनुभूत गर्ने मौका मिल्ने गर्दछ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १३:३