close

सीजीलाई सञ्चार मन्त्रीको जवाफः प्रक्रिया पुरा गरेर आउनुहोस्, पूर्वाग्रह हुन्न

टेकपाना टेकपाना

फागुन १, २०७६ १७:२१

सीजीलाई सञ्चार मन्त्रीको जवाफः प्रक्रिया पुरा गरेर आउनुहोस्, पूर्वाग्रह हुन्न

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सीजी टेलिकमलाई युनिफाइड लाइसेन्सका लागि कानूनी प्रकृया पुरा गरेर आउन आग्रह गरेका छन् । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री बास्कोटाले आफू जुहारी खेल्ने पक्षमा नरहेको भन्दै प्रक्रिया मिचेर आउने कुरामा साथ दिन नसकिने बताएका हुन् ।

सीजीले केही दिन अघि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आफूले राज्यलाईे ४४ करोड रुपैयाँ तिरिसकेको बताएको थियो । मन्त्री बास्कोटाले उक्त रकम यस अघि उसले लिएको लिमिटेड मोबिलिटी र ग्रामीण दूरसञ्चार सेवाको सन्दर्भ भएको स्पष्ट पारे । ‘उसले ४१ जिल्लाका ५३४ ओटा गाबिसमा सेवा विस्तार गर्ने गरी अनुमतिपत्र लिएको थियो । तर उसले काम कहाँ गर्यो त ? १ हजार ६८ ओटा पीसीओहरु स्थापना गर्नुपर्ने थियो ।

यो काम गरेको भए उसले अन्य सेवाको समेत लाइसेन्स पाउन सक्थ्यो’ मन्त्री बाँस्कोटाले भने ।
कम्पनीले पूर्व शर्तहरु पुरा नगरी ढोका छदाँछँदै झ्यालबाट मन्त्रीपरिषदमा गएर नियमहरु बदल्न लगाएको मन्त्री बाँस्कोटाको भनाई छ । मन्त्रिपरिषदले गरेका निर्णयले कानूनी रुप लिन राजपत्रमा सूचना प्रकाशित हुनुपर्छ । तर, अहिलेसम्म उक्त विषय राजपत्रमा प्रकाशित भएको छैन ।

मन्त्री बाँस्कोटाले नियम नै बदल्नुपर्ने कारण स्पष्ट पार्नुपर्ने भन्दै आफू जुहारी खेल्ने पक्षमा नरहेको बताए । ‘मैले प्रस्ट भनेको छु, सबै लगानीकर्ताहरुलाई सबै क्षेत्रमा लगानीमैत्री वातावरण बनाउँछौं । त्यसमा लगानीकर्ताहरुको पनि इमान्दारिता चाहिन्छ,’ उनले भने ।

तत्कालिन एसटीएम टेलिकमले पूर्वाञ्चल विकास क्षेत्रका ५३४ स्थानमा भिस्याट प्रविधिमार्फत दूरसञ्चार सेवा उपलब्ध गराउन सरकारबाट १ करोड १८ लाख ६५ हजार अमेरिकी डलर अनुदान पाएको थियो । तत्कालीन समयमा सरकारले विश्व बैंकबाट ऋण लिएर कम्पनीलाई अनुदान उपलब्ध गराएको थियो ।

पछि त्यही कम्पनी सीजीले खरीद गरेको हो । ‘त्यस अर्थमा सीजीका सञ्चालकहरु भाग्यमानी हुनुहुन्छ । किनभने अरुले कम्पनी खडा गर्न आर्थिक तथा निर्माणको जोखिम लिनुपर्छ । तर उहाँहरुलाई त सरकारले ऋण काढेरै अनुदान दिएको छ,’ मन्त्री बाँस्कोटाले भने ।

अनुदान लिएर पनि कम्पनीले सेवा विस्तार नगरेको तर्फ संकेत गर्दै उनले भिस्याटका सामग्री तथा उपकरणहरुको अवस्थाका विषयमा प्रश्न गरेका छन् । ‘एक हजार ६८ ओटा पीसीओहरु बने की बनेनन् ? अब त्यो रकम के हुनुपर्ने हो ? काम सकेपछि त्यो रकम फिर्ता हुनु पर्ने हो कि होइन ? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो भएन ? राज्यको सम्पत्ति त हो नि ! अनुदान फिर्ता गर्नुपर्दैन होला तर एउटा सामान्य शर्त त हुन्छ नि तोकिएको काम त हुन पर्यो नि ! काम नगरेमा चाहिँ अनुदान के हुन्छ ?,’ मन्त्री बाँस्कोटाले सीजीतर्फ अनेक प्रश्नहरु तेर्छ्याएका छन् ।

अब यसको अध्ययन गर्ने उनको भनाई थियो । लाइसेन्सका लागि २० अर्ब मागेको भन्दै गलत प्रचार गरिएको भन्दै उनले आफूले घरमा राख्न लाइसेन्स शूल्कको विषय नउठाएको बताए । उनले भने, ‘मलाई त्यो लाइसेन्सको कति कति पर्छ थाहा छैन । नीतिगत कुरा जान्दछ, प्रक्रिया पुरा गरेर आउनुपर्छ कसैप्रति पूर्वाग्रह राख्दैनौं । साधारण कुरा छ, म योजना बनाएर कसैको विरुद्ध लड्ने मान्छे होइन ।’

बार्सिलोनाको वर्ल्ड मोबाइल कंग्रेसका दौरान खिचिएको फोटोको गलत प्रयोग भएको मन्त्री बाँस्कोटाको आशय थियो । ‘म साँक्षी बसेको पनि होइन, मैले सम्झौतामा सही गरेको पनि छैन र मैले लाइसेन्स दिन्छु भनेर बाचा गरेको पनि छैन । खुशीको कुरा हो विदेशीहरुसँग सहकार्य गरेर राम्रो प्रविधि भित्राउनु स्वागतयोग्य कुरा हो भनेर मैले भनेको मात्र हुँ । औपचारिक भाषण पनि होइन त्यो । व्यक्तिगत भेटघाट मात्र हो त्यो । फेरी पनि आग्रह छ प्रक्रिया पुरा गरेर आउनुहोस्, पूर्वाग्रह हुन्न,’ मन्त्री बाँस्कोटाले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१