close

गणेश नेपालीकी छोरीलाई निःशुल्क शिक्षा र परिवारलाई रोजगारी दिने काठमाडौँ महानगरको घोषणा

टेकपाना टेकपाना

असार २६, २०८३ २३:१२

गणेश नेपालीकी छोरीलाई निःशुल्क शिक्षा र परिवारलाई रोजगारी दिने काठमाडौँ महानगरको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोगसहित उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै महानगरले मृतक नेपालीका सन्तानलाई निःशुल्क शिक्षा, मानवीय सहयोग र परिवारको एक सदस्यलाई रोजगारी उपलब्ध गराउने सम्बन्धमा आगामी कार्यपालिका बैठकबाट विधिधसम्मत निर्णय गर्ने बताएको हो । 

“दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ,” महानगरले भनेको छ । 

मुगु जिल्ला घर भई हाल भक्तपुर बस्दै आएका राइड शेयरिङ एपमा आबद्ध २५ वर्षीय गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको थियो । सो घटनाप्रति महानगरपालिकाले स्तब्ध भएको जनाउँदै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेको छ । 

घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समितिप्रति ऐक्यबद्धता जनाउँदै महानगरले उक्त छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने जनाएको छ । छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने उसको भनाइ छ ।


 

पछिल्लो अध्यावधिक: असार २६, २०८३ २३:१८