close

राम–लक्ष्मणः जसले विकास गरे सयभन्दा बढी प्रविधि

गोपाल साउद गोपाल साउद

फागुन ४, २०७६ १५:१८

राम–लक्ष्मणः जसले विकास गरे सयभन्दा बढी प्रविधि

बेलकोट गढी नुवाकोटमा ३९ वर्ष अघि जुम्ल्याहा सन्तानकाे रुपमा जन्मिएका राम र लक्ष्मण रिमालले एसएलसीसम्मको अध्ययन गाउँमै पुरा गरे । सानैदेखि प्रविधिमा रुची भएका यी दाजु भाइले ८ कक्षामा पढ्दाताका गाउँमै कोदो चाल्ने मेसिन बनाए ।

गाउँमा कोदो खेति हुन्थ्यो । कोदो चाल्दा हात गल्ने भएपछि सजिलोकाे लागि उनीहरुले आफ्नै प्रयासमा उक्त मेसिन बनाएका थिए ।

मदानपुरमा २०४२ सालदेखि नै बिजुली बल्न थालेको हो । दुई भाइ पढ्दा बढ्दै निदाउँथे, बत्ती भने रातभर बलिरहन्थ्यो । जसले गर्दा हरेक विहान बुबाको गाली खानुपर्ने हुन्थ्यो । यसको जुक्ति आफैले खोजे ।

सुत्ने सिरानी मुनी पिर्का, पिर्कामा प्रिङ राखे । स्वीचसँग जोडर ल्याएको डोरी त्यसैमा बाँधे । ‘यसरी पढ्दा पढ्दै निदाइएछ भने सिरानी थिचिन्थ्यो, अनि बत्ती निभ्थ्यो,’ राम आफ्नो सुरुवाती समयको आफ्नो प्रविधिसँगको लगाव सम्झिन्छन्, ‘घरमा भएको रेडियो मात्रै कम्तिमा सय पटक खोलियो होला ।’

नौ कक्षामा पढ्दा उनीहरुले टाइपराइटर बनाए । कार्बन पेपर पनि घरमै बनाउँथे । २०५४ सालमा एसएलसी सकियो । दुबै जना उच्च शिक्षाका लागि काठमाडौं आए । हुन त गाउँमै इन्टरसम्मको पढाई हुन्थ्यो । तर, पढाईसँगै जागिर गर्ने सोँचले उनीहरुलाई सहरले तान्यो ।

तस्विरः राम लक्ष्मण

तर कोठा भाडा तिर्ने पैसा भने थिएन । घरायसी काममा सहयोग गरिदिने शर्तमा टंगालको एउटा घरमा कोठा भेटियो । मुल ढोका नजिकको कोठा भएकाले कसैले घण्टी बजाउँदा खोलिदिने जिम्मा पनि उनीहरुकै हुन्थ्यो । ढोका खोल्न गइरहनुपर्ने झञ्जटबाट मुक्ति पाउन कसैले घण्टी बजाउँदा कोठाबाटै मुल ढोका खोल्न सकिने स्वीच बनाए ।

‘ढोका खोल्न र बन्द गर्न त सकिन्थ्यो, तर बाहिर को आएको छ भनेर थाहा पाउन सीसी टीभी क्यामेरा भने थिएन,’ राम एउटा रमाइलो प्रशंग सम्झिन्छन्, ‘यस्तैमा एक दिन जँड्याहा घर भित्र पस्यो । जो पायो त्यसैलाई घरभित्र आउन दिने भन्दै घरबेटीको खप्की खानुपर्‍यो ।’

घरको छतमा रहेको ट्यांकीमा पानी भर्न मोटर चलाउने स्वीच उनीहरु बस्ने कोठामै थियो । ट्याङ्कीमा पानी भरिएर पोखिँदा गाली खान्थे । त्यसको जुक्तीको रुपमा उनीहरुले पानी रित्तिँदा आफै मोटर चल्ने अनि पानी ट्यांकी भरिँदा स्वतः बन्द हुने स्वचालित प्रविधि विकास गरे ।

घरबेटीबेटीले आफ्नो घरमा भाडामा बस्ने केटाहरुले बनाएको प्रविधिको बारे आफ्ना आफन्त अनि इस्टमित्रको घरसम्म सुनाएछन् । राम लक्ष्मण आईकम सकेर बीबीएस पढ्दै थिए । बजारको विषयमा राम्रै ज्ञान थियो । अनि त्यही स्वचालित प्रविधिलाई बजारीकरण गर्न थाले । यही प्रविधि उनीहरुका लागि पहिलो व्यवसायिक प्रयास थियो ।

अहिले जस्तै त्यतिखेर पनि धारामा पानी आउने टुंगो हुँदैन थ्यो । पानी कतिखेर आउँछ र मोटर चलाउने भन्ने पिरलो काठमाडौंका धेरैजसो घरबेटीको टाउको दुखाईको बिषय हो । यसैको समाधानमा राम लक्ष्मणले पानी आएको थाहा पाउने सेन्सर राखे । जसबाट पानी आउने वित्तिकै आफै मोटर चल्दथ्यो । यी सबै प्रविधि उनीहरुले कुनै निश्चित कोर्षको पढाईबाट सिकेर नभई आफ्नै रुची र लगावका आधारमा विकास गरेका थिए ।

फरक विषय बढिरहेका उनीहरुले अब प्राविधिक ज्ञानको अभाव महसुस गर्न थाले । अनि मेकानिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, कोडिङ, सफ्टवेयर लगायतका विषयहरु अध्ययन गर्न थाले । स्वअध्ययनबाटै प्राविधिक क्षेत्रको ज्ञान हासिल गरेका उनीहरु अभ्यासबाटै अहिले प्रविधिका राम लक्ष्मणको रुपमा छुट्टै पहिचान बनाउन सफल भइसकेका छन् ।

१५ वर्ष अघि उनीहरुले बनाएको मकै छर्ने मेसिनले त्यतिखेर युथ इनिसियटिभ अवार्ड पाएको थियो । तर, किसानले खरीद गर्न सक्नेभन्दा लागत खर्च नै धेरै भएपछि बजारमा लैजान सकेनन् । सरकारले ५० प्रतिशत अनुदान दिए किसानसम्म पुर्‍याउने उनीहरुको धोको अहिलेसम्म अधुरै छ ।

तस्वीरः राम लक्ष्मण

अटोमेटिक सेक्युरिटी साइरन उनीहरुले बनाएको मध्ये धेरै रुचाइएको प्रविधि हो । काठमाडौंको प्रदुषणको मात्रा मापन गर्ने, भाइब्रेसन मापन गरी पुलको आयू अन्दाज गर्ने, जलविद्युत परियोजनाहरुका लागि खोलाको पानीको बहावको डाटा संकलन गर्ने, हावाको आद्रता र बहाव, तापक्रम, वर्षा आदिको डाटा संकलन गर्ने प्रणाली, सार्वजनिक यातायातमा जीपीएस राखेर मोबाइल एपमै ट्राफिक जाम थाहा पाउन सकिने, सूर्यको प्रकाश मापन गरी उत्पादन हुन सक्ने ऊर्जाको प्रक्षेपण गर्न मिल्ने, अफिस अटोमेसन, सवारीसाधनको डिजिटल भुक्तानी लगायत सयभन्दा बढी प्रविधि तथा यन्त्र राम लक्ष्मण दाजुभाइले बनाइसकेका छन् ।

चक्रपथमा चल्ने महानगर यातायातको लोकेशन बताउने सिस्टम पनि उनीहरुले नै बनाएका हुन् । भूकम्पको पूर्व सूचना दिने प्रविधि पनी नेपालमै विकास गरिएको छ । स्याटेलाइटबाट विद्युत् खपतको डिमाण्डसाइड म्यानेजमेन्ट प्रणालीको त १२८ देशमा पेटेन्ट नै दर्ता गराएका छन् । लाजिम्पाटमा रहेको उनीहरुको कम्पनी टेक्नोलोजी सेल्स प्रालीले अहिले ४२ जना युवालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

तस्विरः राम लक्ष्मण

२०६८/६९ सालमै राम लक्ष्मणले भोटिङ मेसिन बनाए । आफूहरुले बनाएको उक्त मेसिन अन्तराष्ट्रिय स्तरको भएको दाबी उनीहरुको रहँदै आएको छ । विभिन्न उद्योग वाणीज्य संघ, सहकारी, नेप्सकुन,स्ववियू, लगायतका ८४ चुनावमा उनीहरुको भोटिङ मेसिन प्रयोग भइसकेको छ । नेपाल जेसिजले लगातार पाँच चुनावमा भोटिङ मेसिन प्रयोग गरिसकेको छ । राजनीतिक पार्टीहरुमा राप्रपाले केही वर्ष अघि आफ्नो महाधिवेशनमै यो भोटिङ मेसिन प्रयोग गरेको थियो ।

तस्विरः राम लक्ष्मण

विदेशमा निर्यात गर्ने आकांक्षामा रहेका राम लक्ष्मणलाई त्यस अघि निर्वाचन आयोगले गराउने चुनावमा यसको प्रयोग होस् भन्ने चाहना छ । आफ्नै देशको राष्ट्रिय स्तरको चुनावमा प्रयोग भए विदेशमा विश्वास जित्न सहज हुने आशामा उनीहरुले सरकारको मुख ताकेको वर्षौं भयो ।

‘अहिलेको अवस्थामा हामी भोटिङ मेसिनबाट पैसा आम्दानी गर्ने पक्षमा छैनौँ, राष्ट्रिय स्तरको चुनावमा प्रयोग होस भन्ने चाहना मात्रै हो । त्यसो हुन सके यो मेसिनको विश्वसनीयताले आधिकारिक रुप ग्रहण गर्ने र व्यवसायिक रुपमा लैजान मजबुत आधार तयार हुन्छ भन्ने सोचाई छ,’ राम भन्छन् ।

आफ्नो भोटिङ मेसिनको विश्वसनीयता स्थापित गर्ने सवालमा उनीहरु निःशूल्क रुपमा सरकारलाई सहयोग गर्न तयार छन् । यो मेसिनबाट २८ प्रकारका चुनाव गराउन सकिने रामलक्ष्मणको भनाई छ । ‘राष्ट्रिय स्तरको चुनाव प्रणालीका हिसावले त्यति जटिल होइन,’ राम भन्छन्, ‘हामीले तयार पारेको भोटिङ मेसिनले चुनावका लागि तय गरिएका नियमलाई जस्ताको तस्तै रुपमा आत्मसाथ गर्न सक्छ,’ राम दाबीका साथ भन्छन्, ‘हाम्रो मेसिनप्रति अविश्वासको ठाउँ अहिलेसम्म देखिएको छैन ।’

विदेशी भोटिङ मेसिनहरुको तुलनामा थुप्रै फिचरहरु आफूहरुले बनाएको मेसिनमा रहेको उनीहरुको दाबी छ । यो मेसिन प्रयोग भएका चुनावमा खसेको मत अटोमेटिक र म्यानुअल गरी दुबै रुपमा गणना गर्न सकिन्छ । मेसिनमा ब्लकचेन जस्तो अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । जसका कारण एउटा उम्मेदवारको मत अर्को उम्मेदवारको नाममा पार्न नसकिने रामको भनाई छ ।

अहिलेसम्म भोटिङ मेसिनको विकासमा आठ करोड रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ ।
सरकारले राष्ट्रिय स्तरको चुनावमा आफ्नो भोटिङ मेसिन गर्न चाहेको खण्डमा निर्णय भएको पाँच महिनामै आवश्यक सम्पुर्ण मेसिनहरु उपलब्ध गराउन सकिने राम बताउँछन् । ‘आगामी चुनावमा भोटिङ मेसिन प्रयोग गर्ने सवालमा निर्वाचन आयोग पछिल्लो समय सकारात्मक देखिएको छ,’ उनी भन्छन्, ‘हामी त्यसको प्रतिक्षामा छौँ ।

तस्विरः राम लक्ष्मण

अपग्रेड गर्न सकिने गरी बनाइएको यो मेसिनमा फिंगरप्रिन्ट देखि फेस रिकग्निशनसम्मको प्रविधि समेत प्रयोग गर्न सकिन्छ । नेपालीले बनाएको प्रविधि भएकाले यसलाई प्रथामिकतामा रादिनुपर्ने आफूहरुको चाहना नभएको रामलक्ष्मण दाजुभाइ बताउँछन् । ‘हामी प्राविधिक र लागत दुबै हिसावले विदेशी कम्पनीहरुसँग प्रतिस्प्रर्धा गर्न तयार छौँ,’ उनीहरु भन्छन्, ‘सरकारले निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेर अन्तर्राष्ट्रिय स्तरको टेण्डर आह्वान गरोस् । हामी त्यसमा खुल्ला प्रतिस्पर्धा गरेरै छानिन सक्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१