close

ग्राहकलाई थाहै नदिई दैनिक ब्यालेन्स काट्दै एनसेल

रन्जन कोइराला रन्जन कोइराला

बैशाख २९, २०७७ १६:८

ग्राहकलाई थाहै नदिई दैनिक ब्यालेन्स काट्दै एनसेल

काठमाडौं । सोमबार सामाजिक सञ्जालमा एनसेलले ग्राहकको जानकारी बिनै दैनिक १५ रुपैंयाभन्दा बढी ब्यालेन्स काटिरहेको पोष्ट भाइरल भइरहेका छन् । ह्वावे गेम कन्टेन्ट र विजनेश ह्याण्डलिङ शूल्कको नाममा एनसेलले दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काटिरहेको देखिन्छ ।

एनसेलले यसरी ग्राहकको सहमति बिनै ब्यालेन्स काट्ने गरेको गुनासो आउन थालेको भर्खरै मात्र भने होइन । आजभन्दा एक वर्ष अघिबाटै कम्पनीले यस्तो कार्य गर्दै आएको पाइएको छ । सन् २०१९ जुलाईमा पनि यस्तै सर्भिसको नाममा पैसा काटिएको घटना सार्वजनिक भएको थियो ।

रुटिन अफ नेपाल बन्दमा बसन्तकुमार ढकालले आफूलाई थाहै नदिई ह्वावे गेम कन्टेन्टको नाममा पैसा काटेको घटना सार्वजनिक गरेका थिए ।

हेर्नुहोस् रुटिन अफ नेपालबन्दको एक वर्ष अगाडिको पोस्ट ?

Message to Ncell : This afternoon I checked my Ncell balance and found my account depleted. I felt like, हिजो मात्रै…

Posted by Routine of Nepal banda on Sunday, July 28, 2019

तर, त्यस बेला यत्तिकै सेलाएको उक्त घटाना अहिले फेरी सतहमा आएको छ । सोमबार बिहान एनसेल प्रयोगकर्ता चण्डक नायकले ह्वावे गेम कन्टेन्टको नाममा आफ्नो ११ रुपैयाँ ४९ पैसा दैनिक रुपमा काटिरहेको स्क्रिनसट सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको स्क्रिन सटमा एनसेलले ह्वावे गेम्स कन्टेन्टको नाममा आइतबार बेलुका ८ बेजेर ५७ मिनेट जाँदा एक पटक ११ रुपैयाँ ४९ पैसा र सोमबार राती १ बजेर ३७ मिनेटमा दोस्रो पटक सोही नाममा उत्तिकै पैसा काटिएको छ ।

उनले फेसबुकमा पोस्ट गेरेसँगै उनको पोष्टमा कमेन्ट गर्दै अरुले पनि आफ्नो मोबाइलबाट त्यसरी नै पैसा काटिरहेको भन्दै स्क्रिनसटहरु राखिरहेका छन् । एनसेलका अर्का प्रयोगकर्ता प्रसादी कार्कीले प्रयोगकर्ताको सहमति बिनै कम्पनीले यस्ता सेवा एक्टिभ गराइदिने गरेको बताए ।

उनले भने, ‘कम्पनीको ग्राहक सेवा केन्द्रमा बुझ्न खोज्दा विज्ञापनमा क्लिक गर्दा त्यसका लागि सोधिएको हुन्छ, तपाईंले भनेपछि मात्रै एक्टिभ हुने गर्छ भन्ने जवाफ आउँछ ।’

पोष्ट भएको अर्को स्क्रीनसटमा विजनेस ह्याड्लिङ फीको नाममा ११ रुपैयाँ ४९ पैसा काटिएको देखिन्छ । यसरी विभिन्न गेम कन्टेन्ट र विजनेस ह्याण्डलिङको नाममा व्यालेन्स काटिएका ग्राहकहरुले आफूले कहिल्यै त्यस्ता कन्टेन्ट प्रयोग नगरेको र त्यसका लागि कुनै अनुरोध समेत नपठाएको बताएका छन् ।

प्रयोगकर्ताले एक्टिभ नै नगरेको र प्रयोग नै नभएको त्यस्तो सर्भिसको नाममा किन त्यसरी पैसा काटियो त ? यो विषयमा हामीले एनसेलका प्रतिनिधिसँग कुरा गर्ने प्रयास गरेका थियौँ । तर, ती प्रतिनिधिले यो विषयमा बुझरेमात्रै जवाफ दिने बताए । (समाचार प्रकाशित भइसकेपछि एनसेलले यस सन्दर्भमा आफ्नो प्रतिक्रिया पठाएको छ । उक्त प्रतिक्रिया समाचारको अन्तिममा पढ्न सक्नुहुनेछ ।)

हामीले यसको थप जानकारीका लागि एनसेलको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क गर्‍यौं । फेसबुक पेजमा हामीले यसरी नियमति पैसा काटिरहेको विषयमा प्रश्न गर्दा एनसेलबाट प्रयोगकर्ताकै सक्रियतामा यस्तो सेवा एक्टिभेट गरिएको जवाफ आएको छ ।

तर, हामीले यस्तो सर्भिसको विषयमा आफूलाई कुनै जानकारी नै नभएको र १५ रुपैंया ३२ पैसाको प्याकेजको विषयमा एनसेलको वेभसाइटमा कुनै जानकारी नभेटिएको अर्को प्रश्न गर्‍यौं । उक्त प्रश्नमा एनसेलबाट यो ह्वावे एप ग्यालरीको ब्यानर एडमा क्लिक गर्दा एक्टिभेट हुने जानकारी दिइयो ।

एनसेलले आफूले प्रयोग गर्ने अरु सेवामा ब्यालेन्स काटिँदा नोटिफिकेसन पठाउने गरेको भए पनि यसरी काटिएको पैसाको विषयमा भने कुनै जानकारी नै नदिएको नायकको भनाई छ । ‘मेरो जानकारी बिना नै यसरी ब्यालेन्स काट्नु सरासर कम्पनीको बदमासी हो ।’

यसैबीच एक वर्षअघि एनसेलसँग भएकाे कुराकानीकाे स्क्रिनसट समेत फेला पर‍ेको छ । उक्त कुराकानीका क्रममा एनेसेलले याे थ्री डेज रिक्युरिङ प्याक भएको र हाल उक्त प्याकको विषयमा अपडेट नभएको र चाँडै हुने भनी जवाफ दिइएकाे छ ।

त्याेसँगै हामिले एनसेलकाे वेबसाइटमा उक्त प्याककाे विषयमा अध्ययन गर्‍याैं । तर, एक वर्ष बितिसक्दा पनि त्यस्ताे प्याकको विषयमा कुनै जानकारी उल्लेख गरिएकाे देखिएन ।

एनसेलबाट यस्तो जवाफ आएसँगै हामीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा सम्पर्क गर्‍यौं । प्राधिरणका निर्देशक विजयकुमार रोयले यो विषयमा प्राधिकरण अनविज्ञ रहेको बताए ।

एक वर्षदेखि नियमित रुपमा ग्राहकबाट यसरी पैसा काटिएको विषयमा प्राधिकरणमा कुनै गुनासो नै नआएको उनको भनाई छ । ‘तर, यदि यो विषय साँचो हो भने कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘यसरी कुनै प्रयोगकर्ता ठगिएका छन् भने प्राधिकरणमा उजुरी दिन आग्रह गर्न चाहन्छु ।’

यस्तो छ एनसेलको जवाफ 

प्रयोगकर्ताहरुले फेसबुक, एन्ड्रोइड ह्याण्डसेटको एपीपी वा गूगल पेजहरुमा डिजिटल विज्ञापन देखिरहेका हुन्छन् । प्रयोगकर्ताहरुले एकपटक डिजिटल विज्ञापनको पेज क्लिक गरेपछि थर्ड पार्टी पार्टनरको सब्सक्रिप्सन पेज खुल्छ । जसले शूल्क लाग्ने तौरतरिका बारे विस्तृतरुपमा बताउँछ ।

पार्टनरको पेजमा सेवाग्राहरुहरुले कन्फर्मेसन गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्छ र त्यहाँ प्रयोगकर्ताको सब्सक्रिप्सन एनसेलले रिकन्फर्म गरिदिन्छ । त्यसरी रिकन्फर्म गर्दा त्यस्ता पेजमा प्रयोगकर्ताले निश्चित शूल्कमा निश्चित सेवा सब्सक्राइब गरेको यकिन गरिन्छ ।

यो प्रक्रिया पुरा भइसकेपछि प्रयोगकर्ताले तीनओटा विकल्प पाउन सक्छन् । त्यहाँ एउटा विकल्पमा कन्फर्म अप्सन हुन्छ । यदि प्रयोगकर्ता कम्पनीका सबै शर्तसँग सहमत छ भने उसले उक्त शर्तको बटनमा क्लिक गर्नुपर्छ ।

यस्तै दोस्रो विकल्प नट नाउ पनि हुन्छ । यसमा क्लिक गर्दा ब्यालेन्स काटिँदैन । यस्तै अर्को तेस्रो अप्सन हुन्छ, नो एक्सन । यसमा क्लिक गरेको खण्डमा प्रयोगकर्ता उक्त पेजबाट बाहिरिन सक्छन् ।यस्तोमा  शूल्क पनि काटिँदैन ।

एनसेलले गेम, मनोरञ्जन तथा युलिटी उलब्ध गराउने स्थानीय तथा अन्तर्राष्ट्रिय भ्याल्यु एडेड सर्भिस अर्थात भ्यास  सेवाप्रदायकहरुसँग साझेदारी गरेको छ । यस्ता भ्यास सेवाप्रदायकले एनसेलका प्रयोगकर्तालाई दिने सेवा एक्सक्लुसिभ र विज्ञापन रहीत हुन्छन् । 

अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीहरुले प्रयोगकर्ताको ह्याण्डसेटमा डिजिटल विज्ञापन पठाउने काम गर्दछन् । उदाहरणका लागि प्रयोगकर्ताहरुले एकपटक विज्ञापन पाएपछि उनीहरु भाइबर तथा ह्वाट्सएप कल समाप्त भएपछि फेसबुक, गूगल लगायत विभिन्न प्लेटफर्ममा ती विज्ञापनहरु देखिन्छन् ।

यदि कोही यस किसिमका सब्सक्रिप्सनहरुबाट बच्न चाहन्छन् भने उनीहरुले विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्ने हुन्छ । सब्सक्रिप्सन बटन क्लिक नगर्नुहोस् । राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म नगर्नुहोस् ।

एनसेलले थर्ड पार्टी  भ्यास प्रोभाइडरले ब्यालेन्स काट्नु अघि म्यासेज र नोटिफिकेसन पठाउँछ र साथै यस्ता सेवाहरु रोक्न प्रक्रिया पनि चाल्ने काम गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१