close

भिडभाडमा समेत कोरोनाको ज्वरो नाप्ने उपकरण नेपालमै तयार, विदेशीभन्दा आधा सस्तो

टेकपाना टेकपाना

जेठ १३, २०७७ ११:१८

भिडभाडमा समेत कोरोनाको ज्वरो नाप्ने उपकरण नेपालमै तयार, विदेशीभन्दा आधा सस्तो

काठमाडौं । भिडभाडयुक्त स्थानहरुमा कोरोनाको ज्वरो नाप्न सकिने उपकरण नेपालमै तयार भएको छ । नेपालको प्रविधि क्षेत्रमा सुपरिचित जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालको १२ जनाको टिमले दुई महिनाको समय लगाएर माइक्रोबोलोमिटर तयार पारेको हो ।

अहिले बजारमा ज्वरो नाप्न प्रयोगमा रहेका थर्मल गनमा एक पिक्सेल मात्रै प्रयोग गरिएको हुन्छ । तर, राम लक्ष्मणको टिमले तयार पारेको एउटै उपकरणमा १९२ बाई २५६ (४९,१५२) सेन्सर प्रयोग भएका छन् ।

तस्वीरः रामलक्ष्मण

माइक्रोबोलोमिटरको परीक्षण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै राम रिमालले दुई दिनमै बजारमा ल्याउने तयारी भइरहेको बताए । ‘हामीले यो उपकरण खास गरेर भिडभाड हुने स्थानमा तथा मानिसहरुको आवतजावत बढी हुने स्थानमा व्यक्तिहरुको शरीरको तापक्रम नाप्न मिल्ने गरी तयार पारेका छौं,’ टेकपानासँगको कुराकानीमा उनले भने ।

हाल बजारमा प्रयोग भइरहेका थर्मल गनको एकातर्फ गुणस्तरमै प्रश्न उठेको छ । अर्को तर्फ व्यक्तिको निकै नजिकबाट ज्वोरो नाप्नुपर्ने हुँदा परीक्षणमा संलग्न व्यक्ति समेत कोरोनाभाइरसको उच्च जोखिममा रहने गरेका छन् ।

यस्तोमा सहज विकल्पको रुपमा ज्वरोको डिग्री नै देखाउने गरी राम लक्ष्मणले माइक्रोबोलोमिटर बनाएका हुन् । ५ मिटर परैबाट व्यक्तिको तापक्रम नाप्न सक्ने यो उपकरणमा तापक्रमको तस्वीर लिने र तापक्रमको मात्रा अनुसार कलर टेम्प्रेचर देखाउने गरी दुई वटा क्यामेरा प्रयोग भएका छन् ।

तस्वीरः रामलक्ष्मण

उपकरणमा अमेरिकी कम्पनीको सेन्सर र चिनियाँ कम्पनीको क्यामेरा प्रयोग गरिएको रिमालले जानकारी दिए । ‘प्रोग्रामिङको सम्पूर्ण काम भने यहिँ गरेका हौं,’ उनले भने, ‘यो उपकरण विभिन्न नाकाहरु, सीमानाका, विमानस्थल, बसपार्क जस्ता ठाउँहरुमा प्रयोग गर्न सकिनेछ ।’

यस अलावा यो उपकरण क्वारेन्टाइन स्थल, सरकारी कार्यालय, अस्पताल, सपिङ मल, प्रहरी कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरु, हाउजिङ तथा अपार्टमेन्टमा समेत उपयोगही हुनसक्ने देखिन्छ ।

यसको माध्यमबाट समूहमा रहेका व्यक्तिहरुको एकैपटक तापक्रम मापन गर्न सकिन्छ । यदि तोकिएको (मानौं ९९ डिग्री) भन्दा बढी तापक्रम क्यामेराले फेला पारेमा समूहमा रहेको उक्त व्यक्तिलाई चिनेर अलार्म बजाइदिन्छ । जसले गर्दा त्यस्तो व्यक्तिलाई विशेष सावधानीसाथ थप परीक्षणको लागि रोक्न सकिन्छ । यसरी संभावित संक्रमणको जोखिम कम गर्न सकिने राम लक्ष्मणको विश्वास छ ।

रिमालका अनुसार यो उपकरणमा उच्च ज्वरो भएका व्यक्तिहरु देखिएको अवस्थामा अलार्म समेत बज्न थाल्छ । कोरोना पश्चातको समयलाई समेत मध्यनजर गरी माइक्रोबोलोमिटरको डिजाइन गरिएको छ । जसबाट ज्वरो आएका व्यक्तिहरुको राष्ट्रिय स्तरको डेटाबेश तयार पार्न समेत सकिने राम रिमालले बताए ।

तस्वीरः रामलक्ष्मण

माइक्रोबोलोमिटरले खिच्ने तस्वीर सहितको विवरण हेर्न इम्बेडेट स्क्रीन राखिएको छ । यसलाई इन्टरनेट मार्फत छुट्टै कम्प्युटर तथा सर्भरमा कनेक्ट गराएर समेत टाढैबाट ज्वरो मापन गर्न तथा डेटा संकलन गर्न सकिन्छ । यसरी निकै टाढा बसेर समेत रियल टाइम ज्वरो मापन गर्न सकिने राम रिमालले बताए ।

इन्टरनेट नभएका स्थानमा समेत प्रयोग गर्न मिल्ने गरी माइक्रोबोलोमिटरमै १६ जीबीको स्टोरेज समेत राखिएको छ । अन्य मुलुकमा बनेका यस्ता उपकरणहरुको मूल्य १० देखि १२ लाख रुपैयाँसम्म पर्न जान्छ । तर नेपालमै बनाउँदा चार/पाँच लाख रुपैैयाँमै उपलब्ध गराउन सकिने राम-लक्ष्मण बताउँछन् ।

‘१० युनिट माइक्रोबोलोमिटर बनाउने योजनाका साथ उपकरण आयात गरिएको भए पनि हाल छ युनिट मात्रै तयार पार्न सकिने अवस्था रहेको छ,’ रामले भने, ‘बाँकी उपकरण परीक्षणकै क्रममा खर्च भएका छन् ।’

राम लक्ष्मणले टेक्नोलोजी सेल्स प्रालिको नामबाट स्थानीय रुपमै विभिन्न प्रविधिहरुको विकास गर्दै आएका छन् । विद्युतीय भोटिङ मेसिन समेत तयार पारिसकेका उनीहरुले बजारबाट माग बढ्दै गए थप उपकरण आयात गरेर उत्पादन बढाउने योजना समेत बनाएका छन् ।

यस्ता छन् अन्य फिचर

  • एआईमा आधारित अनुहारको ज्वरो पहिचान गर्नसक्ने एचडी क्यामेरा ।
  • लाइभ प्रशारण गर्न सकिने ।
  • तोकिएको भन्दा बढी ज्वरो भएका व्यक्तिहरुको डेटा सेभ गर्न १६ जीबी स्टोरेज ।
  • टेम्प्रेचर अलर्ट तथा अलार्म दिनसक्ने ।
  • अलार्म दिने तापक्रम मिलाउन सकिने ।
  • सर्भरमा अलार्म दिइएका तस्वीर सहितको डेटा पठाउन सकिने ।
  • तापक्रम बढी भएका व्यक्तिहरुको जानकारी म्यासेजमार्फत पठाउन सकिने तथा रियल टाइम म्यासेजिङ ।
  • क्यामेराका लागि एचआई ३५१६ डीभी ३०० मेन चिपसेट, आईएमएक्स ३२७ सेन्सर, ४ एमएम लेन्स ।
  • माइक्रोबोलो सेन्सर ।
  • ३७.३ डिग्री सेल्सियस माथिको अस्वभाविक तापक्रममा अटोमेटिक अलार्म ।
  • ३० डिग्री सेल्सियस देखि ४५ डिग्री सेल्सियससम्मको तापक्रम नाप्न सक्ने ।
  • एकसाथ ६ जनासम्मको तापक्रम नाप्न सक्ने ।
  • बिजुली खपत ५ वाट मात्र ।
  • तौल २.३ केजी ।
  • एक वर्षको वारेन्टी ।
  • अंग्रेजी र नेपाली दुवै भाषामा सपोर्ट गर्ने ।
  • विण्डोज तथा एन्ड्रोइड सफ्टवेयर ।

*अपडेट गरिएको

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३