close

निर्देशन अवज्ञा गर्दै नवीकरणको नाममा २ वर्षदेखि पैसा काट्दै एनसेल, तत्काल बन्द गर्न नियामकको अर्को आदेश

टेकपाना टेकपाना

जेठ १४, २०७७ १४:५१

निर्देशन अवज्ञा गर्दै नवीकरणको नाममा २ वर्षदेखि पैसा काट्दै एनसेल, तत्काल बन्द गर्न नियामकको अर्को आदेश

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै ग्राहकबाट पैसा काटिरहेको पुष्टी भएको छ । दुई साता अघि एनसेलले ग्राहकलाई जानकारी नै नदिई दैनिक १५ रुपैंयाभन्दा बढी ब्यालेन्स काटिरहेको विषयमा टेकपानाले समाचार प्रकाशित गरेको थियो ।

जसमा कम्पनीले ह्वावे गेम कन्टेन्ट र विजनेस ह्याण्डलिङ शूल्कको नाममा दैनिक १५ रुपैयाँ ३२ पैसासम्म ब्यालेन्स काटिएको देखिएको थियो । टेकपानामा समाचार प्रकाशित भएसँगै नियामकले छानविन सुरु गरेको थियो ।

छानविन चलिरहेकै समयमा टेकपानाले फलोअपको रुपमा गत हप्ता ‘स्मार्टफोन नचिन्ने ग्राहक समेत ठग्दै एनसेल, घटना सार्वजनिक भएपछि ब्यालेन्स फिर्ता’ भन्दै अर्को समाचार प्रकाशित गर्‍यो ।

स्मार्टफोन प्रयोगकर्ताले सेवा सब्स्क्राइब गरेकै कारण पैसा काटिएको बताएको एनसेलले बारफोन अर्थात किप्याड युक्त मोबाइल बोक्ने प्रयोगकर्ताबाट समेत सोही शिर्षकमा लामो समयदेखि ग्राहकको पैसा काट्दै आएको घटना सार्वजनिक भयो ।

बारफोन प्रयोगकर्ताको समेत ब्यालेन्स काटिरहेको विषयमा समाचार प्रकाशित भएसँगै धेरै प्रयोगकर्ताले त्यस्तै गुनासो गरिरहेका छन् । समाचार प्रकाशित गरेसँगै प्राधिकरणले यो विषयलाई पनि सोही अध्ययनमा समेटेको छ ।

हाल उक्त अध्ययन अन्तिम चरणमा रहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । अध्ययनकै क्रममा मंगलबार अध्ययन टोलीले एनसेललाई आदेश जारी गरेको छ ।

ग्राहकलाई थाँहै नदिई एक पटक सब्स्क्राइब गरिएको सेवा अटो रिन्यु गरिरहेको भन्दै टोलीले तत्काल उक्त कार्य बन्द गर्न एनसेललाई आदेश दिएको हो । टोलीलाई अध्ययनका क्रममा कुनै किसिमका त्रुटि पाइएमा आदेश जारी गर्नसक्ने सम्मको अधिकार दिइएको छ ।

त्यसै अनुसार उक्त आदेश जारी भएको प्राधिकरणका अध्यक्ष पुर्षोत्तम खनालले जानकारी दिए । मंगलबार अध्ययन टोलिले जारी गरेको उक्त आदेश एनसेलका लागि पहिलो भने होइन ।

प्राधिकरणले एनसेललाई सेवाको अटो रिन्यु गर्ने कार्य बन्द गर्न दुई वर्ष अघि नै निर्देशन दिएको थियो । बोर्ड को निर्णयअनुसार २०७५ साल असोज १५ गते एनसेलको नाममा पत्र काट्दै प्राधिकरणले भ्याल्यु एडेड सर्भिस (भ्यास) अन्तर्गतका सेवाहरु उपभोक्ताले प्रयोग गर्दा अटो रिन्यु हुने गरेको पाइएकाले तत्कालै बन्द गर्न भनेको थियो ।

अब उपरान्त त्यस्ता कार्य नगर्न दिइएको उक्त निर्देशन अझैसम्म कार्यान्वयन नगरेको देखिएको छ । कम्पनीले बरु ग्राहकलाई थाँहै नदिइ पैसा काट्दै आएको प्राधिकरणको निश्कर्ष छ । यस विषयमा अध्ययन टोलीले प्रतिवेदन बुझाएसँगै कारबाहिका लागि थप प्रक्रिया अघि बढाइने निर्देशक रोयले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१