close

यदि तपाईंको गूगल अकाउन्टको पहुँच गुम्यो भने ?

टेकपाना टेकपाना

असार ७, २०७७ ११:४४

यदि तपाईंको गूगल अकाउन्टको पहुँच गुम्यो भने ?

काठमाडौं । तपाईंले एउटा पासवर्ड मात्र हराउँदा तपाईंको डिजिटल जीवनमा कति क्षति पुग्छ ? तपाईं कतै लक भएर बस्नु पर्ने स्थिति त आउँदैन ?

अझ यदि तपाईं गूगलको जस्तो फ्री क्लाउड सर्भिस प्रयोग गर्दै हुनुहुन्छ भने कसैले पनि तपाईंलाई यो समस्याबाट बाहिर निकाल्न सक्दैन । बैंक बुक हराउँदा स्थानीय बैंकरले तपाईंको लोकेसन नेभिगेट गरेर खोज्न मद्दत गर्न सक्छ । तर पासवर्ड हराउनु भयो भने समस्या हल गर्न सोचेभन्दा धेरै गाह्रो हुन्छ । 

कल्पना गर्नुहोस्, तपाईंले पछिल्लो १२ वर्षदेखि गूगलमा आफ्नो डिजिटल जीवन बिताइ रहनुभएको छ । तपाईं गूगलको मेल र क्यालेण्डरमा भर पर्नुहुन्छ ।

स्टोरेजका लागि ड्राइभ र फोटो आर्काइभका लागि गूगल फोटोमा निर्भर हुनुन्छ भने जुन दिन तपाईंले पासवर्ड बिर्सनु हुन्छ, त्यो दिनको आफ्नो अवस्थाबारे कल्पना गर्नुहोस् त ।

प्रविधि क्षेत्रको विश्वचर्चित अनलाइन सञ्चारमाध्यम टेकक्रञ्चका पत्रकार रोन मिलरले यस्तै प्रकारको समस्या भोगेको छन् । मिलरको केही समय अगाडिको अनुभवको अनुवादित अंश ।

हू आर यू ?

करिब एक महिना अघि म मेरो गूगल अकाउन्टमा साइन ईन गर्न लाग्दै थिएँ । म पासवर्डहरु परिवर्तन गरिरहन्छु । मैले भर्खरै नयाँ पासवर्ड के राखेको थिएँ भन्ने कुरा बिर्सिएँ ।

मैले अरु समय जस्तै ‘फर्गट पासवर्ड’ मा क्लिक गरे । मलाई कन्फर्मेसन कोड सेट गर्न निर्देशन आयो, मैले त्यसै गरेँ । फेरी मेरो ईमेलमा आएको कन्फर्मेसन कोड इन्टर गरेँ । मलाई सेक्युरिटी बारे प्रश्न सोधियो मैले त्यसको पनि उत्तर दिएँ ।

यति गरसक्दा तपाईंलाई आफूले आफू भएको प्रमाणीत गर्न धेरै गरिसकेँ भन्ने लाग्न सक्छ । मैले एउटा होइन, दुइटा होइन, तर तीन/तीन वटा पहिचानका आधारहरु दिइसकेको थिएँ । तर गूगलको लागि यो पर्याप्त थिएन । 

मलाईं मैले याद गरेको नयाँ पासवर्ड इन्टर गर्न निर्देशन आयो, त्यो पनि मैले गरेँ ।  त्यसपछि मैले पहिलोपटक अकाउन्ट खोलेको विषय सोधियो । मलाईं त्यो याद थिएन ।

वास्तवमै भन्दा यो अस्वभाविक सुरक्षा आवश्यकता थियो । किनभने कसैले कहिले पहिलोपटक अकाउन्ट खोलेको कुरा कसरी याद गर्न सक्छ ? यस्ता विवरणहरु मानिसले कहिल्यै याद गर्दैनन् ।

यी सबै प्रक्रियाहरु मैले पुरा गरें । अन्त्यमा मलाई नयाँ पासवर्ड सेट गर्न अनुरोध गरिन्छ होला भनेर अपेक्षा गरेको थिएँ । तर म लक्ड आउट भएको र भित्र पस्न मैले गूगललाई अनुरोध गर्नु पर्ने भनेर नोटिफिकेसन आयो ।

मैले त्यसै अनुरुप प्रक्रिया अपनाएँ । मैले धेरै दिन कुरेँ । तर अन्त्यमा मेरो रिक्वेस्ट रद्द भएको बताइयो । गूगललाई सन्तुष्ट पार्न एउटा व्यक्तिले आफूलाई कुन कुन तरिकाले चिनाउनुपर्छ, मलाई थाहा छैन ।

तर मैले जति पनि तरिका अपनाएँ, ती सबै पर्याप्त थियो । त्यहाँ मलाई सहयोग गर्ने केही कुरा थिएन ।

जानलाई कतै ठाउँ थिएन 

म गतिरोधको अवस्थामा थिएँ । के गर्ने भनेर मलाई कुनै ज्ञान थिएन । तर मैले आफ्नो पत्रकार पहिचानलाई प्रयोग गरेर सम्पर्क गरेँ ।

यदि म पत्रकार थिइनँ भने यसरी सम्पर्क स्थापित गर्न सक्दिन थिएँ । थाहा छैन म के गर्थें । मसँग भएको कन्ट्याक्टमा मैले सम्पर्क गरेँ । तर यसबाट पनि मैले छिटो सेवा पाउन सकिनँ । 

डिसेम्बर ५ मा मैले पीआर कन्ट्याक्टलाई एउटा नोट पठाएँ । मैले उनलाई मेरो समस्या बताए  । मैले उनीसँग गूगल सम्बन्धी समाचारका लागि सहकार्य गरेको थिएँ ।

उनले मलाई मेरो समस्यालाई अगाडि बढाइसकेको बताए । साथै उनले २४ घण्टाभित्र मलाई जानकारी आउने बताए । 

तर डिसेम्बर ७ मा पनि मलाई गूगलबाट कुनै जानकारी आएन । त्यसपछि मैले उनलाई सम्पर्क गरेँ र उनले मलाई एउटा तरिका अपनाउन सुझाव दिए । तर त्यो तरिका मैले पहिले नै अपनाइसकेको प्रक्रिया जस्तै थियो ।

  • भिजिट https://accounts.google.com/signin/recovery
  • इन्टर युजरनेम
  • तपाईंले यो गूगल अकाउन्ट कहिले बनाउनु भएको थियो भन्ने प्रश्न नआएसम्म ‘ट्राइ अनोदर क्वोइसन’ मा क्लिक गरिरहनु होस्। 
  • अकाउन्ट बनाएको एउटा अनुमानित मितिमा क्लिक गर्नुहोस् र नेक्स्ट क्लिक गर्नुहोस् । 
  • अकाउन्टमा एक्सेस भएको कुनै पनि सम्पर्क नम्बर वा ईमेल एड्रेस क्लिक गर्नुहोस् र भेरिफिकेसन प्रक्रियालाई पुरा गर्नुहोस् ।
  • ती सबै प्रश्नको उत्तर थाहा नभए पनि उत्तर दिने प्रक्रिया सम्पन्न गर्नुहोस् । 

मलै फेरी पनि यो प्रक्रिया पुरा गरें । तर गूगलले फेरी पनि मेरो अकाउन्ट भेरीफाइ गर्न नसकेको जवाफ दियो ।

पाँच दिनसम्म पनि केही नभएपछि मैले डिसेम्बर १२ मा मेरो पीआर साथीलाई सम्पर्क गरें । मेरो कारण उनी पनि धेरै दिकदार भइसकेका थिए । उनले आफ्नो काम गरे र मलाईं मेरो वैकल्पिक एड्रेसमा रिसेट लिंक पठाइएको बताए ।

मैले त्यस दिन साँझ गूगलबाट ईमेल पाएँ । मलाई मेरो पुरानो अकाउन्टमा साइन ब्याक गर्ने अप्सनमा यस वा नोमा क्लिक गर्ने विकल्प थियो । मैले नोमा क्लिक गरेर नयाँ रिसेट कमाण्ड चयन गरे । तर मेरो रिसेट कमाण्ड कहिल्यै आएन ।

सक्नुहुन्छ भने मलाई सहयोग गर्नुहोस्, म लाचार छु 

डिसेम्बर १३ मा मैले ट्वीटरबाट गूगलसँग सम्पर्कका लागि प्रयास गरेँ । मैले मेरो केस नम्बर पोस्ट गरेर कसैलाई सहयोग मागे । तर कोही आएनन् ।

त्यहीँ दिन मैले मेरो दोस्रो जीमेल अकाउन्ट खोलेँ । त्यसमा मेरो पुराना डेटाहरु थिएनन् । तर पनि मलाई आवश्यक भएको कारण मैले अकाउन्ट खोलें ।

दुई दिनपछि डिसेम्बर १५ मा पनि मैले मेरो रिसेट कमाउण्ड पाइनँ र अब कहिल्यै पाउँदिन भन्ने लाग्यो । मसँग केस नम्बर त थियो तर त्यसको अस्तित्व नै छैन जस्तो लाग्यो । 

अर्को तीन दिन पनि बित्यो । डिसेम्बर १८ मा मैले त्यो बिचरा पीआरलाई सम्पर्क गरें र उसले मलाई जवाफ पनि दियो । यसपटक पनि मैले सोही प्रक्रिया पुरा गर्नुपर्ने थियो ।

तर अन्य एड्रेसको साटो मेरो अफिशियल टेकक्रञ्च मिडियाको ईमेल प्रयोग गर्नुपर्ने थियो । मैले केस नै खोलिसकेको छु भनेर उनको कुरालाई अस्वीकार गरें । तर उनले मलाई पुनः प्रयास गर्न सुझाव दिए ।

पुनर्मिलन भयो र म खुशी छु

मैले मेरो टेकक्रञ्चको ईमेल प्रयोग गरेर प्रक्रिया सुरु गरे । जसै सुरु गरें, मलाई नयाँ पासवर्ड राख्न निर्देशन दिइयो र मै मेरो पुरानो आईडी फिर्ता पाएँ । मेरो विस्तृत विवरण भएको आईडीमा फिर्ता पाउँदा निकै खुशी लागेको थियो ।

तर म जस्तो परिस्थितिबाट गुज्रिएँ, त्यो देखेर मलाई लाग्यो, एक्सेस गुमाउन कति सजिलो छ । तर त्यसलाई फिर्ता पाउन कति सीमित उपाय ।

एकपटक तपाईंले गूगलको रिकभरी प्रोटोकल हेर्नु भयो भने गूगलको ध्यानाकृष्ट गराउन एउटा मान्छेले के गर्नुपर्छ ? गूगलको आफ्नो कस्टमर सर्भिस छैन । यद्यपी म उसको स्टोरेजका लागि पैसा भुक्तानी गरिरहेको छु ।

यस्तो समस्यालाई समाधान गर्न उनीहरुसँग एउटा राम्रो संयन्त्र छैन । न त एउटा चित्तबुझ्दो प्रक्रिया नै छ । हाम्रो डिजिटल लाइफमा हाम्रो पकड कति कमजोर रहेछ भन्ने कुरा यो घटनाले देखाउँछ ।

मसँग जस्तो कामकै शिलशिलामा यदि तपाईंसँग विशेष सम्पर्क सूत्र छैन र तपाईंले आफ्नो एक्सेस गुमाउनु पर्‍यो भने तपाईं निर्विकल्प बस्नुपर्नेछ ।

यदि हाम्रो जीवन एउटा पासवर्ड र थ्री फ्याक्टर अफ आइडेन्टिफिकेसनमा निर्भर छ भने हामीलाई हाम्रो गुमेको अकाउन्टमा एक्सेस पाउन यी कुराहर पर्याप्त सबूत बन्नुपर्छ । 

अब आगामी दिनमा म पासवर्ड म्यानेजर प्रयोग गर्छु र यसलाई परिवर्तन हुन दिन्न र सबैलाई यहि गर्ने सुझाव दिन्छु । कुनै दिन तपाईंले फर्गट पासवर्ड क्लिक गर्नुभयो भने आफ्नो गूगल अकाउन्टमा एक्सेस पाएको त्यही नै तपाईंको अन्तिम दिन हुनसक्छ ।

तपाईंको डिजिटल लाइफ पासवर्ड नामको एउटा सानो धागोमा अडिएको छ । यदि कुनै क्षण तपाईंले यसलाई बिर्सिनु भयो भने तपाईं बिच्छेद हुनुहुनेछ र तपाईंको डिजिटल अस्तित्व समाप्त हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१