close

अब पुराना लिङ्क शेयर गर्दा फेसबुकले चेतावनी दिने

टेकपाना टेकपाना

असार १३, २०७७ १२:२६

अब पुराना लिङ्क शेयर गर्दा फेसबुकले चेतावनी दिने

काठमाडौं । फेसबुकमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राजिनामा’ शिर्षक भएको समाचारबाट तपाईं पनि झुक्किनु भएको हुनसक्छ । समाचार खोलेर हेर्दा अहिलेको नभएर चार वर्ष अघिको हुन्छ ।

यो त केवल एउटा उदाहरण मात्र हो । समाचार प्रकाशित भएको मिति नहेरेरै फेसबुकमा यस्ता पुराना समाचार विश्वास गरेर शेयर गर्नेहरुको संख्या थुप्रै छ । यस्ता समाचारको भर परेर शेयर गर्नेहरुमध्ये धेरैले त आफैंले लिङ्क खोलेर पढेका समेत हुँदैनन् ।

यस्ता समाचारहरु भाइरल भएर गलत सूचनाको माध्यम भइरहेका हुन्छन् । यस्तै किसिमको जोखिमलाई मध्यनजर गर्दै फेसबुकले बिहीबारबाट नयाँ नियम लागु गरेको छ ।

यदि तीन महिनाभन्दा पुराना लिङ्क अथवा पोष्ट शेयर गरिरहनु भएको छ भने अब फेसबुकले तपाईंलाई चेतावनी दिनेछ । तीन महिनाभन्दा पुराना पोष्ट शेयर गर्न खोजेको खण्डमा तपाईं तीन महिनाभन्दा पुराना आर्टिकल शेयर गर्दै हुनुहन्छ भनेर फेसबुकले नै सचेत गराउने छ ।

चेतावनीसँगै प्रयोगकर्तालाई तीन महिनाभन्दा पुरानो भएपनी शेयर गर्ने वा त्यसै छाड्ने भनेर फेसबुकल छनोटको विकल्प समेत दिनेछ । यस्तो जानकारी तपाईंले त्यस्ता लिङ्क शेयर गर्न बटनमा क्लिक गर्दा देख्न सक्नुहुनेछ ।

तर लिंक कपी गरी सोझै पोष्ट गर्दाको अवस्थामा यस्तो चेतावनी प्राप्त हुन्छ वा हुँदैन भन्ने विषयमा स्पष्ट भइसकेको छैन । फेसबुकले कतिपय प्रयोगकर्ताले आर्टिकल लेखिएको डेटलाईन (मिति) नहेरी पढ्ने भएकाले झुक्किने समस्या देखिएको भन्दै यस्तो निर्णय गरेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३