close

एण्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् आईम्यासेजिङ जस्तै गूगल च्याट

टेकपाना टेकपाना

असार १७, २०७७ १९:९

एण्ड्रोइडमा यसरी प्रयोग गर्नुहोस् आईम्यासेजिङ जस्तै गूगल च्याट

काठमाडौं । एप्पलको सबैभन्दा आकर्षक फिचर भनेको उसको आइम्यासेज सेवा हो । जसले प्रयोगकर्तालाई लोभ्याउँछ । एन्ड्रोइड फोनले समेत एप्पलको यो टेक्स्टिङ फिचरसँग धेरै नै प्रतिस्पर्धा गर्ने प्रयास गर्‍यो ।

अन्ततः अहिले आएर एन्ड्रोइडले आफ्ना प्रयोगकर्ताहरुका लागि यो सुविधा दिन सफल भएको छ । कम्पनीले २०१९ मा नयाँ टेक्स म्यासेजिङ प्रोटोकल, गूगल आरसीएस म्यासेजिङ रोलआउट गरेको थियो । 

यो सेवा गूगलको म्यासेजिङ एपमा तयार गरिएको छ । यसले गूगलमा भित्र पनि एप्पलको जस्तै टेक्स्टिङ म्यासेज क्षमता विकास गर्‍यो । अब प्रयोगकर्ताहरुले यो सेवाको माध्यमबाट पूर्ण रेजोलुसनको फोटो पठाउन सक्छन् ।

साथै कसैले म्यासेज टाइपिङ गर्दैछ भने बबल्सको साइन पनि देख्न सकिन्छ । सामसङले पनि यस्तै फिचरमा काम गर्ने तयारी गर्दैछ । उसले नयाँ म्यासेज एप सार्वजनिक गर्ने जनाएको छ, जसमा गूगल म्यासेज एपको जस्तै आरसीएस प्रविधि समावेश गरिने बताइएको छ । 

यसरी एक्टिभेट गर्नुहोस् गूगलको टेक्स्टिङ फिचर 

यो फिचर एक्टिभेट गर्न सबैभन्दा पहिले तपाईसँग एन्ड्रोइड फोन हुनुपर्छ । यहाँ क्लिक गरेर गूगल म्यासेज एप डाउलोड गर्नुहोस् । यो एपलाई डिफल्ट टेक्स म्यासेजिङ एपको रुपमा सेट गर्नुहोस् ।

तपाईंले फोनमा पहिलोपटक म्यासेज इन्स्टल गरेपछि त्यसले तपाईंलाई डिफल्ट एपको रुपमा सेट गर्न चाहनुहुन्छ भनेर सोध्नेछ । 

उक्त एपलाई डिफल्ट म्यासेजिङ एपको रुपमा सेट गरिसकेपछि वेबका लागि सेटअप गर्नुहोस् । त्यसका लागि आफ्नो कम्प्युटरबाट यहाँ क्लिक गर्नुहोस् ।

अब मोबाइलमा भएको गूगल म्यासेजेज् एपको माथि शिरानीको दायाँतर्फ रहेको तीन थोप्लामा थिच्नुहोस् । त्यहाँ रहेको म्यासेजेज् फर वेब अप्सनमा ट्याप गर्नुहोस् ।

यति गरेपछि त्यहाँ क्यूआर कोड स्क्यानर देख्नुहुनेछ । त्यसमा दबाएर वेबमा देखिएको कूआर कोड स्क्यान गर्नुहोस् । वेबमा सेट गरेपछि तपाईंले कम्प्युटरबाट पनि म्यासेज पाउन तथा पाउन सक्नुहुन्छ । 

गूगल च्याट फिचर टर्न अन गर्नुहोस् 

गूगल म्यासेज एपलाई इन्स्टल गरेर त्यसलाई डिफल्ट टेक्स्टिङ एपमा सेट गरिसकेपछि दुई तरिकाबाट च्याटलाई इनेबल गर्न सकिन्छ । एपले तपाईंलाई साथीले टाइपिङ गर्दैगर्दाको संकेत हेर्न चाहनुहुन्छ भनेर सोध्छ ।

त्यस्तो नोटिफिकेसनलाई पर्खनुहोस् वा सेटिङ सेक्सनमा गएर च्याट टर्न अन गर्नुहोस् । जब तपाईंले नोटिफिकेसन पाउनुहुन्छ, तब त्यसलाई अपग्रेड गर्नुहोस् । त्यसपछि गाइडलाइनलाई पछ्याउँदै जानुहोस् । फोन नम्बर मागेको खण्डमा त्यसलाई पनि इन्सर्ट गर्नुहोस् । 

अर्को तरिकाबाट गर्ने हो भने तपाईंले म्यासेज बक्स खोलेर त्यहाँ माथि दायाँतर्फ कुनामा रहेको तीन वटा थोप्ला भएको मेनुलाई ट्याप गरेर सेटिङ चयन गर्नुहोस् । त्यसपछि सेटिङ सेक्सनमा च्याट फिचर छ कि छैन हेर्नुहोस् ।

यदि छैन भने तपाईंको अकाउन्टमा आरसीएसमा एक्सेस छैन । यस्तो सेवा हाललाई केही देशमा मात्र उपलब्ध छ । तर कुन कुन देशमा यो सेवा छ भन्ने सन्दर्भमा गूगलले आधिकारिक रुपमा केही खुलाएको छैन ।

यहिँ सेटिङ पेजमा गएर तपाईले रिड रिसिप्टलाई अन वा अफ पनि गर्नसक्नुहुन्छ । साथै आफूले टाइपिङ गर्दा नदेखाउनका लागि टाइपिङ इन्डिकेटरलाई पनि डिसेबल गर्नसक्नुहुन्छ । 

यदि म्यासेज पठाउँदा समस्या देखिन्छ भने च्याट सर्भिसमा तपाईंको फोनको कनेक्सन स्टाटस सेटिङ एपबाट हेर्न सक्नुहुन्छ । तर तपाईंले यो एपबाट कुरा गर्न चाहनुहुन्छ भने अर्को व्यक्तिले पनि यो फिचर इनेबल गरेको हुनुपर्छ ।

गुगलले यस्तो म्यासेजलाई इन्क्रिप्ट गरेको छ । तपाईंको म्यासेज सुरक्षित रुपमा गूगलको सर्भर हुँदै प्राप्तकर्ताको फोनमा पुग्छ । त्यसपछि ती म्यासेजहरु गूगलको सर्भरबाट स्वतः डिलिट हुन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३