close

दक्षिणपन्थीका लागि ट्वीटरको गतिलो विकल्प बन्दै पार्लर एप

टेकपाना टेकपाना

असार २२, २०७७ १२:१२

दक्षिणपन्थीका लागि ट्वीटरको गतिलो विकल्प बन्दै पार्लर एप

एजेन्सी । सन् २०१८ मा ट्वीटरले अमेरिकी उग्रदक्षिणपन्थी अभियान्ता लौरा लुमरलाई घृणाजन्य सामग्री सम्प्रेषण सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगायो । त्यसै बेला लौराले ट्वीटरको विकल्प खोज्न थालिन् ।

सोही वर्ष लौरा पार्लर नामक नयाँ सामाजिक सञ्जाल एपमा जोडिन पुगिन् । आज त्यही प्लेटफर्ममा ५ लाख ७४ हजार भन्दा धेरैले उनलाई पछ्याइरहेका छन्  । लुमर फेसबुक र फेसबुककै फोटो सर्भिस एप इन्स्टाग्राममा पनि प्रतिबन्धित छिन् ।

उनले पार्लरको आफ्नो प्रोफाइलमा ‘विश्वकै सबैभन्दा धेरै प्रतिबन्धित महिला’ भनेर आफ्नो व्याख्या गरेकी छिन् । अहिले लूमरजस्ता सयौं, हजारौं अमेरिकीहरु अभिव्यक्तिका लागि पार्लरको सहारा लिइरहेका छन् ।

उनीहरु यो प्लेटफर्मलाई निष्पक्ष र स्वतन्त्र अभिव्यक्तिको रक्षा गर्ने प्लेटफर्म मान्छन् । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटमा फ्याक्ट चेकिङको लेबल लगाइदिए पश्चात टेक्ससका रिपब्लिकन सिनेटर टेड क्रुज पनि पार्लर एपको प्रचारबाजी गरिरहेका छन् । 

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प आफैं पनि पार्लर लगायत सामाजिक सञ्जाल प्लेटफर्महरुमा ‘अडियन्स निर्माण’ को अभियानमा लागेका छन् । जर्नल आर्टिकल प्रकाशित भएपछि पार्लरले ट्वीटर र रेडिटलाई पछि पार्दै समाचार वर्गमा टप र्‍यांकिङ आईफोन एप बन्न सफल भएको सीएनबीसीले जनाएको छ । 

पार्लर एपका सीईओ जोन म्याटजेले पनि करिब एक हप्तामा मात्र कम्पनीका प्रयोगकर्ता १० लाखबाट १५ लाख पुगेको बताएका छन् । 

के हो पार्लर एप ?

सन् २०१८ मा सार्वजनिक भएको यो एप डेन्भेर विश्वविद्यालयका ग्राज्युएट विद्यार्थीहरु म्याटजे र ज्यारेड थम्पसनले बनाएका हुन् । ठूला प्रविधि कम्पनीहरुमा पारदर्शीताको कमी, विचारको दमन र गोपनीयताको दुरुपयोग जस्ता कुराहरुबाट आजित भएर पार्लर ल्याइएको कम्पनीको वेबसाइटमा उल्लेख छ । 

यो एप प्रयोग गर्दा ट्वीटरको समानुभूति पाउन सकिन्छ । यसमा ट्वीटरमा जस्तै अकाउन्ट फलो गरेपछि न्यूज फीडमा सामग्रीहरु देखा पर्छ । प्रयोगकर्ताहरुले हजारवटासम्म क्यारेक्टरहरु पोस्ट गर्न सक्छन् । तस्वीर, जीआईएफ र मिमहरु पनि अपलोड गर्न सक्छन् । 

पोस्टमा कमेन्ट गर्नेदेखि ह्यासट्याग सर्च सम्मका फिचर पनि यसमा रहेका छन् । यसमा मेगाफोन आइकन आकारको फिचर छ, जसलाई ‘ईको’ भनिन्छ । त्यसले ट्वीटरको रिट्वीट बटनले जस्तै काम गर्दछ । यसमा साइन अप गर्नका लागि तपाईं १३ वर्ष नाँघेको हुनुपर्छ । 

कसले प्रयोग गर्छ पार्लर एप ?

२७ वर्षे म्याटजेले फक्स बिजनेससँग बताए अनुसार पार्लर एप अधिकांश अमेरिकी कञ्जरभेटिभहरुले प्रयोग गर्दै आएका छन् । उदाहरणका लागि डोनल्ड ट्रम्प पनि एक कञ्जरभेटिभ नेता नै हुन् ।

तर कञ्जरभेटिभसँग मतभेद राख्दै आएका ब्ल्याक लाइभ्स मुभमेन्टका बामपन्थी झुकाव राख्नेहरुले पनि अहिले यो एपको व्यापक प्रयोग गरिरहेका छन् । म्याटजेले उक्त एपलाई कन्जर्भेटिभको मात्र ठेक्का बन्न नदिने कम्पनीको उद्देश्य रहेको बताएका छन् ।  

उनले पार्लर कञ्जरभेटिभहरुको सोसल नेटवर्क नभएको स्पष्टिकरण दिएका छन् ।पार्लरका सीईओ म्याटजेले जे सुकै भने पनि यसले कन्जर्भेटिभहरुको आवाजलाई बल पुर्‍याएको सजिलै देख्न सकिन्छ ।

पूर्वी अमेरिकी रिपब्लिकन रोन पल, ट्रम्प अभियान, लुमर, रिपब्लिकन अमेरिकी प्रतिनिधि डेभिन न्युस पनि यो एपमा छन् । यस्त कञ्जरभेटिभका कमेन्टेटर क्यानड्याक अवेन्सदेखि फेसबुक, ट्वीटरमा प्रतिबन्धित चरम दक्षिणपन्थी षडयन्त्र शिद्धान्तकार एलेक्स जोन्स पनि यही एपमा जोडिएका छन् ।

यस्तै दक्षिणपन्थी समाचार संस्थाहरु ब्रेइटबार्ट समाचार, द इपोच टाइम्स र द डेली कलरको समेत पार्लरमा अकाउन्ट छ । जब तपाईं यो एप खोल्नुहुन्छ, तब तपाईंलाई फलो गर्न धेरै कञ्जरभेटिभ प्रयोगकर्ताहरुको नाम सुझाउने गरिन्छ । तर त्यसमा लिब्रल दलका एकजना पनि हुँदैनन् । 

यो एपमा डेमेक्रेटिक तर्फकी सभामुख नेन्सी पेलोसी जस्ता कानुन निर्माताका फेक अकाउन्ट छन् । यसै हप्ता मात्र ३२ जना रिपब्लिकन कानुन निर्माताहरु यो एपमा जोडिएको पोलिटिकोले पत्ता लगाएको छ । 

कञ्जरभेटिभहरुले वर्षौंदेखि फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालहरुले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई दबाएको आरोप लगाउँदै आएका छन् । तर फेसबुक र ट्वीटरले त्यस्तो आरोपको खण्डन गर्दै घृणा फैलाउने तथा हिंसा उत्पन्न गराउने प्रकृतिका सामग्रीमाथि नियन्त्रण कायम गरेको बताउँदै आएका छन् । 

यसैबीच यहि वर्ष ट्वीटरले ट्रम्पको पोस्टमा फ्याक्ट चेकिङको लेबल लगाइदिएपछि कञ्जरभेटिभहरुको विरोधको आवाज अझ चर्किएको छ । 

अर्को तर्फ पार्लरमा फेसबुक र ट्वीटरको तुलनामा एकदमै कम नियमहरु छन् । प्रयोगकर्ताहरुले पार्लरको नीति उल्लंघन गर्ने पोस्टहरु विरुद्ध रिपोर्ट गर्नसक्छन् । तर कम्पनीसँग थर्ड पार्टी फ्याक्ट चेकर छैन र उसले कुनै पोस्टमा पनि भ्रामक जानकारीको लेबल लगाउँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३