close

केन्यामा गूगलले बलूनबाट यसरी दिइरहेको छ इन्टरनेट

टेकपाना टेकपाना

असार २४, २०७७ १२:१३

केन्यामा गूगलले बलूनबाट यसरी दिइरहेको छ इन्टरनेट

एजेन्सी । गूगलको सहायक कम्पनी लूनले केन्याको हिमाली क्षेत्रमा आफ्नो व्यावसायिक इन्टरनेट सेवाको औपचारिक सुरुवात गरेको छ । लूनले आकाशमा बलून उडाएर पृथक शैलीमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । 

ती बलुनहरु पृथ्वीको माथिल्लो सतहमा हावामा उड्छन् र सेल सर्भिस टावरको रुपमा काम गर्छन् । लूनले यस किसिमको पृथक प्रविधिको प्रयोग गरेर पहिलो पटक यति ठूलो मात्रामा आफ्नो सेवा प्रदान गर्न थालेको छ । लूनले यो सेवा केन्याको स्थानीय टेलिकम सेवाप्रदायक कम्पनी टेल्कोम केन्यासँगको साझेदारीमा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले पाँच हजार वर्ग किलोमिटर क्षेत्रमा आफ्नो नेटवर्कबाट सेलुलर सेवा प्रदान गरिरहेको छ । सो क्षेत्र हिमाली भूभागमा परेको हुँदा भूतरातलमा पूर्वाधार तयार गर्न सेवाप्रदायकहरुलाई अप्ठ्यारो परिरहेको थियो । 

लूनले केन्यामा आफ्नो पहिलो व्यावसायिक सेवा प्रदान गर्न २०१९ मा नै सम्झौता गरेको थियो । कोभिड १९ को महामारी फैलिएसँगै कम्पनीको यस किसिमको प्रयासको औचित्य थप बलियो बनेको छ  । 

Google Project Loon internet balloons tested in Australia - YouTube

लूनको यो भिन्न प्रविधि अन्तर्गत लक्षित कभरेज क्षेत्रमा ३५ वटा बलुनहरु हावामा उडिरहने छन् । यसरी उपलब्ध हुने इन्टरनेटको औषत स्पीड १८.९ एमबीपीएससम्म  र डाउनलोड स्पीड ४.४७ एमबीपीएसमाथि रहेको छ । यसमा १९ मिलिसेकेण्डको लेटेन्सी छ । लूनका अनुसार यसमा भ्वाइस कल, भिडियो कल, युट्युवको भिडियो स्ट्रिमिङ, ह्वाट्सएप सजिलै प्रयोग गर्न सकिन्छ । 

लूनले केन्यामा आफ्नो सेवालाई गत वर्षदेखि नै परीक्षण गर्दै आइरहेको थियो । कम्पनीले परीक्षण कालमै ३५ हजार सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइरहेको थियो । 

हालैको व्यावसायिक सेवा सुरु हुनुअघि २०१७ मा प्योर्टो रिकोमा पनि मारिया तुफानपछि आपतकालीन सेवाको रुपमा लूनले आफ्नो बलुन प्रविधिको प्रयोग गरेको थियो ।

अहिले विश्वभरका धेरै विकट क्षेत्रमा व्यावसायिक टेलिकम कम्पनीहरुसँग मिलेर लूनले आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । लून अल्फाबेटका लागि गूगल जस्तै एउटा सहायक कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३