close

वैधानिकता खोजिरहेको ‘हाम्रो डक्टर’

युजु खालिङ युजु खालिङ

असार २८, २०७७ ११:४६

वैधानिकता खोजिरहेको ‘हाम्रो डक्टर’

काठमाडौं । २०१५ तिर उद्धवराज भेटवाल कान्तिपुर टेलिभिजनमा स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्थे । त्यसताका उनको अवचेतन मनमा स्वास्थ्य क्षेत्रका सम्पूर्ण विवरण, जानकारी तथा सरोकारवालाहरुलाई एउटै प्लेटफर्ममा ल्याउन सके मानिसहरुलाई सहजता दिलाउन सकिने सोच पलाएको थियो ।

पत्रकारिताकै कारण स्वास्थ्य क्षेत्रका थुप्रै सरोकारवालाहरुसँग राम्रै उठबस थियो । यहिँ सम्बन्धले जगाएको हिम्मत र दूरदर्शिताको आडमा उनले भविष्य लुकेको देखिरहेका थिए । उनलाई त्यो अवधारणालाई मूर्तरुप दिन एउटा साथको खाँचो थियो थियो ।

त्यसताका रोशन श्रेष्ठ कान्तिपुरमै मल्डिमिडिया शाखामा कार्यरत थिए । उनैसँग उद्धवले आफ्नो मनमा अंकुराउँदै गरेको सोचको चर्चा गरे । त्यो चर्चा उपलब्धिमुलक रह्यो । उद्धवले उत्कृष्ट मिडिया नामक एउटा कम्पनी चलाइरहेका थिए भने रोशनको मन्त्र आइडिया नामक अर्को कम्पनी थियो । पाँच वर्ष अघि दुवै कम्पनी बीच एमओयू (आपसी समझदारी पत्र) मा हस्ताक्षर भयो । 

उक्त एमओयूमा हाम्रो डक्टर वेब र एप बनाउने योजना पनि थियो । यसरी सम्झौता अनुरुप २०१६ को मार्चमा ‘हाम्रो डक्टर’ एप सार्वजनिक भयो । ‘त्यसबेला एपमा अहिलेजस्तो छुट्टा छुट्टै सूची विभाजन गरी सेवा राखिएको थिएन । केवल स्वास्थ्य क्षेत्रको डेटाबेस मात्र राखिएको थियौ । प्रयोगकर्ताहरुले त्यही डेटाबेस हेर्न एप प्रयोग गर्दथे । 

हाम्रो डक्टरको खर्च धान्न उद्धवले आफ्नो कलमको कौशल प्रयोग गरे । हाम्रो डक्टर डट कमको साइटमा उनले हाम्रो डक्टर न्युज नामको अनलाइन समाचार पोर्टलको सुरुवात गरे । त्यसबाट आएको विज्ञापनले उनको सपनालाई जिवित राखेको थियो । हाम्रो डक्टरले पनि समाचारकै कारणले ब्राण्ड बनाउँदै गयो । 

२०१७ मा आइपुग्दा उत्कृष्ट मिडिया र मन्त्र आइडियाको सम्झौता अनुसार हेल्दी लाइफ फाउण्डेसन प्राइभेट लिमिटेड स्थापना भयो । आज त्यही फाउण्डेसन अन्तर्गत हाम्रो डक्टर सञ्चालन भइरहेको छ । २०१८ मा कम्पनीको दोस्रो वार्षिकी मनाउँदै गर्दा कम्पनीले हाम्रो डक्टरलाई रिब्राण्ड गरेर अनलाइन हेल्थकेयर गेट-वेको रुपमा विकास गर्‍यो ।

अझै पनि स्वास्थ्य हेरचाहको प्रणालीमा धेरै ठूलो खाडल छ । कस्तो किसिमको स्वास्थ्य समस्या कुन डक्टरलाई देखाउने, कुन अस्पतालमा के सेवा लिने भनेर थाहा पाउने सुविधा थिएन । जुन अस्पताल आफ्नो आखाँ अगाडि छ, त्यसैमा जानुपर्ने । त्यही स्वास्थ्य सेवाको सुविधा पनि शहरको मानिसहरुलाई मात्र छ । गाउँमा त त्यति पनि छैन ।

स्वास्थ्य क्षेत्र सम्बन्धी सम्पूर्ण सरोकारवाला र जानकारीलाई एकीकृत ढंगले उपलब्ध गराउने कुनै सिस्टम थिएन । त्यही अभाव पूर्ती गर्ने उद्धवको सपना थियो । उनले साथीहरुसँग मिलेर सुरुमा हाम्रो डक्टर डट कम र एपमा अस्पतालहरुको डेटाबेस, चिकित्सकहरु, एम्बुलेन्सहरु र रक्तदाताहरु सबैको विवरण राख्न सुरु गरे । साइट अपग्रेडको काम निरन्तर चलिरह्यो । 

हाम्रो डक्टरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भेटवाल सम्झन्छन्, ‘हामीले त्यसबेला हाम्रो डक्टरलाई डिजिटल हेल्थकेयरको प्लेटफर्म गेट-वे बनाउने योजना बुनेका थियौं । जसबाट मानिसहरुले हरेक किसिमका परामर्श तथा स्वास्थ्य सेवा डिजिटल माध्यमबाटै प्रयोग गर्न सकुन् भन्ने थियो ।’

डिजिटल प्लेटफर्मको रुपमा नेपालमा टेलिमेडिसिनको पायोनियर कम्पनी नै हो हाम्रो डक्टर । हाम्रो डक्टरकै पदचाप पछ्याउँदै आज धेरै स्टार्टअप त्यही अवधारणामा आधारित हुँदै उत्पत्ति हुँदैछन् । नेपालमा अनलाइन स्वास्थ्य परामर्श र अपोइन्टमेन्ट बूकिङको सेवा दिने पहिलो स्टार्टअप हो, हाम्रो डक्टर ।

अहिले हाम्रो डक्टरको प्लेटफर्ममा नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त २०,५९४ चिकित्सकहरु आवद्ध छन् । देशभरका ४६० अस्पताल तथा क्लिनिकहरु, ३० वटा फर्मास्युटिकल्स र १० हजार ८३९ जना सक्रिय प्रयोगकर्ता छन् । हाम्रो डक्टरले सन् २०१८ देखि नेपालमै पहिलोपटक सःशूल्क अनलाइन कन्सल्टेन्सी सुरु गर्‍यो ।

अनलाइन कन्सल्टेन्सी नेपालका लागि नवीन अभ्यास हो । जसमा तपाईंले चाहेअनुसारका विज्ञ चिकित्सकसँग अनलाइनबाटै परामर्श सेवा लिन सक्नुहुन्छ । ‘स्वास्थ्य क्षेत्रको डेटाबेसमा हामी जत्तिको बलियो डेटाबेस नेपालमा कसैको पनि छैन,’ दाबीका साथ उद्धवराज भेटवाल भन्छन्, ‘हामीसँग नेपालको स्वास्थ्य प्रणालीको गहन डेटाबेस छ ।’ 

अहिले कम्पनीले अनलाइन स्वास्थ्य परामर्शलाई गतिलै आम्दानीको स्रोत बनाएको छ । सेवाग्राहीहरुले अपोइन्टमेन्टको भुक्तानीका लागि लागि ईसेवा, खल्ती, आईएमई पे, फोन पे र मास्टरकार्ड प्रयोग गर्न सक्छन् । हाम्रो डक्टरको डिजिटल कन्सल्टेसनमा थोरै पैसा तिरेको भरमा आफूले रोजेको अनुकूलको डक्टर खोजेर सेवा लिन सकिने सुविधा छ ।

यो एउटा भर्चुअल अस्पताल जस्तै हो । तपाईंले २५० को चेक सब्स्क्रिप्सन खरिद गर्नुपर्छ, जसको समय एक हप्ताको हुन्छ र त्यस अवधिभित्र तपाईंले डक्टरसँग प्रश्नोत्तर गर्नसक्नुहुन्छ । चिकित्सकको सबै जानकारी नियाल्दा चित्त नबुझे अर्को चिकित्सककोमा जानसक्नुहुन्छ । 

कोभिड १९ का कारण लागु भएको लकडाउनले त अझ टेलिमेडिसिनको औचित्यलाई थप बल पुर्‍याएको छ । जसअनुरुप अनलाइन परामर्श लिनेहरुको संख्या बढ्न थालेको छ । कम्पनीले अनलाइन परामर्श सेवालाई अझ सजिलो बनाउन अडियो र भिडियो कल पनि थपेको छ । 

संस्थाले प्रयोगकर्ताको ध्यान खिच्न निःशूल्क प्रश्न सोध्न सकिने फिचर समेत थप गरेको छ । लकडाउनको समयमा बन्द गरिएको अस्पतालको अपोइन्टमेन्टको बूकिङ समेत अहिले पुनः सुचारु भएको छ ।

‘अहिले हामी एउटा अस्पतालबाट बूक अपोइन्टमेन्ट परीक्षण गरिरहेका छौं । बिरामीले बूक गरेका हुन्छन् । तर बिरामी अस्पतालमा नगइदिने वा अस्पतालले नै केयर नगरिदिने किसिमका प्रवृतिले समस्या भयो,’ कोरोनाभाइरसले निम्त्याएको समस्या सुनाउँदै उद्धव भन्छन्, ‘अब यस किसिमको समाधान गर्न हामीले अनिवार्य सःशूल्क बनाएका छौं । जसले गर्दा बिरामी र अस्पताल दुवै जिम्मेवार बन्ने अवस्था आएको छ ।हाम्रा लागि अनलाइन कन्सल्टेन्सीपछि यो दोस्रो प्राथमिकता विषय हो ।’

यसअलावा हाम्रो डक्टरले स्वास्थ्य जाँचका लागि विभिन्न किसिमका प्याकेज पनि उपलब्ध गराउँदै आइरहेको छ । वालेटबाट पहिले पाँच हजार रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्न नमिल्ने हुँदा हाम्रो डक्टरले हेल्थ चेकअप प्याकेज सञ्चालन गर्न सकिरहेका थिएन । तर अहिले भुक्तानी सजिलो भएको छ । त्यससँगै कम्पनीले प्रयोगकर्ताका लागि स्वास्थ्य जाँचका विभिन्न प्याकेज समेत अनलाइनबाटै बिक्री गर्न थालेको छ । 

हाम्रो डक्टरले हेल्थ केयरको सिस्टमलाई नै डिजिटलाइज गर्ने उद्देश्य बोकेको छ । त्यसैले सामान्य प्रयोगकर्ता र डक्टर मात्र आफूहरुको लक्ष नभएको उद्धव बताउँछन् । संस्थाले डक्टरको प्रोफाइल समेत तयार गरेर मिनी होस्टिङ अर्थात् सोकेसको सुविधा समेत दिइरहेको छ ।

‘चिकित्सकले अहिले हामीलाई रकम भुक्तानी गरेर आफ्नो प्रोफाइल बूस्ट गर्नसक्ने अप्सन छ,’ उनी भन्छन् । डक्टरहरुले आफ्नो प्रोफाइलमा आफ्नो कमाई, कन्सल्टेसन, प्रश्न , अस्पताल, पब्लिक प्रोफाइल, पासवर्ड सबै एपमै हेर्न सक्छन् । साथै संस्थाले डक्टरहरुलाई उनीहरुको एनालिटिक्स समेत उपलब्ध गराउँदै आएको छ । 

हाम्रो डक्टरसँग अस्पताल र चिकित्सहरुको डाटाबेस जस्तै नेपालमा उत्पादन हुने औषधी, फर्मास्युटिकल्स कम्पनीहरुको समेत डेटाबेस छ । प्रयोगकर्ताले ती सबै विवरण सहजै हेर्न सक्छन् । डक्टरहरुले आफ्नो औषधीको बारेमा थाहा पाएर सल्लाह दिउन् भनेर फर्मास्युटिकल्सहरुले व्यक्तिहरु खटाएर चिकित्सकहरुसम्म ‍‍औषधीको मार्केटिङ गराइरहेका हुन्छन् ।

यो एउटा परम्परागत तथा चल्तिको विधि नै हो । तर हाम्रो डक्टरहरुले आफ्नो बलियो डाटाबेसकै कारण फर्मा कम्पनीहरुको ध्यान समेत खिच्न सफल भएको छ । अहिले उसले फर्मालाई पनि आफ्नो ईकोसिस्टममा समेट्न सफल भएको छ । चिकित्सकहरुले उनीहरुको औषधी देख्छन् । यसकारण यो पनि हाम्रो डक्टरका लागि अर्को महत्वपूर्ण आम्दानीको स्रोत बन्न पुगेको छ ।

हाम्रो डक्टरको योजना देशभर पुग्ने रहेको सीईओ उद्धव सुनाउँछन् । काम पनि त्यही अनुसारले अघि बढिरहेको उनको भनाई छ । ‘अब सबै अस्पतालहरुलाई सिस्टम दिइसकेका छौं । त्यसमध्ये १७८ ले लग ईन गरिसकेका छन् । हाम्रोमा यूजर, डक्टर,अस्पताल वा क्लिनिक, फर्मा र ल्याबका लागि लग ईन उपलब्ध छ,’ उद्धव भन्छन्, ‘हामीले पछिल्लो समय सर्जिकल डिस्ट्रिब्युटरका सामग्रीको लागि समेत लग ईन तयार पारेका छौं । ती सबैले आफ्नो उपलब्ध सेवा, छूट सहितको मूल्य राख्न सक्छन् । हामीले आगामी दिनमा खरिदको सुविधा पनि दिंदै छौं । त्यसका लागि अहिले सर्जिकल डिस्ट्रिब्यूटरहरुलाई तयार गर्ने काम भइरहेको छ ।’ 

हाम्रो डक्टरभित्र स्वास्थ्य ईको सिस्टमका सबै सरोकारवालाहरु जोडिएका छन् ।  ‘हाम्रो सिस्टममा डक्टरहरुले कमाउँछन् र खर्च पनि गर्छन् । हामीसँग भएको बलियो डेटाबेसका कारण सर्च अप्टिमाइजेसन इञ्जिनमा सबै कुरा माथि आउँछ । आज पनि हाम्रो साइटमा १६ हजारभन्दा धेरै दैनिक भिजिटरहरु छन् । दिनमा दश जनाभन्दा धेरैले कन्सल्टेसनको सुविधा लिइरहेका छन् । हामीले गोपनीयताको समेत उच्चस्तरमा व्यवस्थापन गरेका छौं,’ उद्धव थप्छन् ।

अस्पतालहरुले पनि आफ्नो प्रडक्ट विभिन्न प्लेटफर्मबाट बिक्री गरिरहेका छन् । अहिले ती अस्पतालहरुले हाम्रो डक्टरको साइटलाई समेत त्यसको माध्यम बनाएका छन् । रजिस्टर हुनेहरुलाई अहिलेसम्म संस्थाले शूल्क लिने गरेको छैन । तर अतिरीक्त सेवा लिने अर्थात ब्राण्डिङ गर्न चाहने डक्टर तथा अस्पतालको ब्राण्डिङ गराउने, आर्टिकल तथा भिडियोहरु लिने सवालमा भने निश्चित शूल्क लिने गरेको छ ।

मुलुकमा जनस्वास्थ्यको अवस्था खराब रहेको उद्धवले देखेका अनि भोगेका छन् । दीर्घकालीन रुपमा उनी हाम्रो डक्टरलाई यस्तो प्लेटफर्म बनाउन चाहन्छन्, जहाँ मानिसहरुले अस्पताल तथा चिकित्सहरु तथा शूल्कको रेटिङ हेरेर आफै रोजेर छनौट गर्न सकुन् । आज ठेकेदारहरुले अस्पताल खोलेका छन् । एम्बुलेन्सले पैसा खाएर अस्पतालसम्म पुर्‍याउँछन् । यो सबै विकृति हटाउने माध्यमको रुपमा हाम्रो डक्टरलाई खडा गर्ने उद्धवको धोको छ ।

हाम्रोव डक्टरका संस्थापक तथा सीईओ उद्धवराज भेटवाल

लकडाउनले गर्दा टेलिमिडिसिन र टेलिकन्सल्टेन्टको आवश्यकता र औचित्य बढेको छ । यसकारण हाम्रो डक्टरको आय समेत बढेको छ र अहिले कम्पनी निकै उत्साहित रुपमा क्रियासिल बनेको छ । मानिसहरु दोहोर्‍याइ तेहेर्‍याई हाम्रो डक्टरमा पुगिरहेका छन् ।

हाम्रो डक्टरलाई यहाँसम्म ल्याइपुर्‍याउन कम्पनीको प्राविधिक टिम अहोरात्र रुपमा खटिको छ । कम्पनीले सुरुवाती दिनमा धेरै ठूलो संघर्ष गर्नु पर्‍यो । सञ्चालन खर्च धान्न समेत हम्मेहम्मे परेपछि शेयरधनीहरुले आफ्नो शेयर बिक्री गरेर भए पनि संस्था जोगाए । 

‘हामीले सस्टेन गर्न नसक्नेसम्मका चुनौती पार गरेर आयौं,’ उनी भन्छन् । यो अवधारणामा पायोनर भएको नाताले हाम्रो डक्टरको टिमले सबैको विश्वास र माया पाउँदा समेत चैनको स्वाश भने फेर्न पाएको छैन । सरकारबाट वैधानिक मान्यता पाउन नसक्दा संस्थालाई अगाडि लान समस्या उत्पन्न भइरहेको चिन्ता उद्धवको छ ।

‘२०१७ देखि म सरकारले यस किसिमको सिस्टमलाई पहिचान देओस् भनेर लागिपरेको छु,’ उनी भन्छन्, ‘तर सरकारी क्षेत्रले हामीलाई पहिचान नै दिएको छैन । हामीबाट कर उठाओस् ठीक छ, तर हाम्रो अन्वेषणलाई रोक्नु चाहिँ पाइँदैन ।’

आफूहरुलाई नियमन गर्न भन्दै हाम्रो डक्टरको तर्फबाट सरकारलाई लिखित रुपमा आग्रह समेत गरिएको थियो ।अनलाइन स्वास्थ सहजीकरण सेवालाई पहिचान गरेर अनुमतिपत्र प्रदान गरिदिनु आग्रह गर्दा समेत फाइल हराएको जवाफ आयो । पछि उद्धवले स्वास्थ्य सेवा विभागका महानिर्देशक समक्ष त्यो विषय पुर्‍याएको थिए । कानूनमा त्यस किसिमको सेवाका लागि कुनै व्यवस्था नभए भन्दै मेडिकल काउन्सिललाई सोध्नु भनेर पठाए । मेडिकल काउन्सिबाट पनि केही थाहा नभएको उत्तर पत्रमा आयो ।

‘सरकार आफै ट्वाँ परेको छ । कसलाई भन्ने ?,’ खिन्नता व्यक्त गर्दै उद्धव भन्छन्, ‘दुःखको कुरा अहिलेसम्म हामीलाई कसैले नियमन गरेको छैन ।’ तर यसबीच उद्धवका लागि एउटा सानो आशाको किरण भने पलाएको छ । पहिलो दिनदेखि नै हाम्रो डक्टरका शुभेच्छुक डा. भगवान कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष बनेका छन् ।

उनी लगायतको बोर्डले टेलिमेडिसिन सेवालाई नियमन गर्न निर्देशिका बनाइरहेको छ । ‘आशा छ, त्यहाँबाट हामी पनि समेटिने छौं,’ उद्धव भरोसा व्यक्त  गर्छन्, ‘त्यसपछि हामी पनि वैधानिक सीमाभित्र बसेर सञ्चालन हुने मौका पाउने दिन आउन सक्छ ।’ 

वैधानिक हैसियत नपाउँदा आफ्नो व्यवसायमा निकै धेरै समस्याहरु उत्पन्न भइरहेको उद्धव बताउँछन् । भन्छन्, ‘हामीले डक्टरलाई रिपोर्ट, स्किनको फोटो तथा भिडियोको आधारमा औषधी सब्स्क्राइब गर्न भनेर शर्तबन्ध गरेका छौं र प्रयोगकर्ताको हकमा पनि हामीले कसैले सेवा लिएमा र दिएमा लिने र दिनेको बीचमा सरोकार हुन्छ । हामी जिम्मेवार हुन सक्दैनौं भनेर स्पष्ट बताएका छौं ।’

कानूनी अस्पष्टतका कारण कम्पनीले लगानी समेत भित्र्याउन सकेका छैन । थुप्रै लगानीकर्ताहरु इच्छुक भए पनि सरकारले वैधानिक हैसियत नपाउँदा त्यसलाई पूर्णता दिन नसकेको उद्धवको दुखेसो छ । आशावादी हुँदै अगाडि भन्छन्, ‘कानूनी रुपमा पहिचान पाइसकेपछि पक्कै पनि हामी लगानी भित्र्याउँछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३