close

प्रक्षेपणको तयारीमा नेपालमै बनेको पहिलो स्याटेलाइट, क्राउड फण्डिङबाट लगानी जुटाउँदै

टेकपाना टेकपाना

साउन ५, २०७७ २०:३४

प्रक्षेपणको तयारीमा नेपालमै बनेको पहिलो स्याटेलाइट, क्राउड फण्डिङबाट लगानी जुटाउँदै

काठमाडौं । ओरियन स्पेसले पहिलोपटक नेपालमै निर्माण गरेको सानो स्याट वान नामको स्याटेलाइट प्रक्षेपणको तयारी सुरु भएको छ । कम्पनीले यसै वर्षको डिसेम्बरमा स्पेस एक्सको फाल्कन नाइन रकेटबाट उक्त स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको हो ।

नेपाली विद्यार्थी, इञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि उक्त स्याटेलाइट निर्माणको काम सुरु भएको थियो । २५० ग्राम तौल रहेको यो पिको स्याटेलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ । 

यसको वैकल्पिक नाम नेपाल पीक्यू वान हो । यसको लम्बाई चौडाई र उचाई समान पाँच सेन्टिमिटर रहेको छ । डिजिटल रिपिटरको रुपमा प्रयोग गर्ने स्पेस मिसनका साथ सानोस्याट निर्माण गरिएको इन्जिनियर सौरभ पौड्याले बताए । स्याटेलाइटले एक ठाउँबाट लिएको म्यासेजलाई अर्को ठाँउमा गएर रिपिट गर्नेछ । 

यस्तै यसको अर्को मिसन भनेको स्पेसको बेटागामा रेडियसन मापन गर्नु हो । यो स्याटेलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तिब्रता मापन गरेर पृथ्वीमा पठाउनेछ ।

हालै स्थापना भएको एमस्याट नेपाल र एमस्याट स्पेनले उक्त स्याटेलाइट अपरेट गर्नेछन् । ओरियन नेपालले अमेच्योर रेडियो प्रयोगकर्तालाई आफ्नो स्याटेलाइटबाट सिग्नल रिसिभ गर्न आह्वान गरेको छ ।

यसले नेपालमा अमेच्योर रेडियो समुदायलाई प्रवर्द्धन गर्नेछ । नाफा रहित तथा गैर व्यावसायिक रुपमा सन्देशको आदान प्रदान गर्न रेडियो फ्रिक्वेन्सी अर्थात स्पेक्ट्रमको प्रयोग नै अमेच्योर रेडियोको प्रयोग हो ।

यो परियोजनाको सफलताले नेपाली युवाहरुको क्षमतालाई दर्शाउने कम्पनीको विश्वास छ । उपलब्ध सीमित श्रोत साधनमा समेत युवाहरुले घरेलु स्याटेलाइट निर्माण गरेर प्रक्षेपण गर्नसक्ने क्षमतालाई समेत यसले प्रदर्शन गर्नेछ ।

तीन वर्षको अवधिमा कम्पनीले स्याटेलाइटका विभिन्न भर्सन तयार गरिसकेको छ । कम्पनीले इञ्जिनियरिङ मोडल सम्प्नन गरेर ग्राउण्ड स्टेसन सहित सम्पूर्ण हार्डवेयर तथा सफ्टवेयरमाथिको परीक्षण समेत सम्पन्न गरिसकेको छ । हाल यो स्याटेलाइट फ्लाइट मोडल एसेम्बलको चरणमा छ ।  

यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयर नेपालमै डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो । यो स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सबसिस्टम र पेलोड जडान गरिएको छ । यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् ।

यसलाई विद्यार्थीहरुले स्वतन्त्ररुपमा प्रोग्राम गर्न सक्छन् । साथै आफ्नो आवश्यकताअनुसार मिसन सेट गर्न समेत सकिनेछ । सञ्चारका लागि यसमा लोरा र नन लोरा आधारित सञ्चार चिप प्रयोग गरिएको छ ।

सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटेलाइटमा ३.७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । यो सूर्यको प्रकाशबाट चार्ज हुन्छ । सोलार सेलबाट ब्याट्रीमा पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ । 

तर प्रक्षेपण गर्नु अघि स्याटेलाइटले रकेटको भाइब्रेसन र अन्तरिक्षमा प्रक्षेपण भइसकेपछि विकिरण तथा तापमानमा गडबडी हुँदा प्रतिकूल वातावरणलाई  थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्न अत्यावश्यक हुन्छ । परीक्षणको क्रममा स्याटेलाटलाई अन्तरिक्षको स्टिमुलेट वातावरण (थर्मल भ्याकूम च्याम्बर) मा र भाइब्रेसन टेबलको प्रयोग गरेर रकेट प्रक्षेपणको स्टिमुलेट वातावरण तयार गर्नुपर्ने हुन्छ ।

तर नेपालमा यस किसिमको परीक्षण सुविधा नहुँदा त्यसको लागि रिजर्भेसन लिनु पर्ने हुन्छ । जसको मूल्य दैनिक एक हजारदेखि पाँच हजार अमेरिकी डलरसम्म लाग्दछ । यसरी स्याटेलाइटको परीक्षण तथा यातायातका लागि करिब १० हजार अमेरिकी डलर लागत लाग्नेछ ।

यसरी स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गर्न वान वे रकेटको खर्च करिब ३० हजार अमेरिकी डलर लाग्नेछ । स्टेसनका लागि कम्पनीसँग आफ्नै कोष भए पनि स्याटेलाइट प्रक्षेपण गर्नु अघि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न ४० हजार अमेरिकी डलर (करीब ४८ लाख रुपैयाँ) अभाव छ ।

ओरियन स्पेस अहिले उक्त लगानी जुटाउन क्राउड फण्डिङमा जुटेको छ । हालसम्म ९२५ अमेरिकी डलर संकलन गरिसकेको कम्पनीले  डेढदेखि दुई महिनाभित्र आवश्यक सबै रकम जोहो गरिसक्ने लक्ष्य राखेको छ । तपाईं पनि नेपालमै स्याटेलाइट बनाउने युवाहरुको आकांक्षालाई सार्थक तुल्याउने अभियानमा साथ दिन सक्नु हुनेछ ।

कम्पनीलाई सहयोग गर्नका चाहनुहुन्छ भने खल्ती तथा ईसेवाबाट डोनेट ओरियन स्पेसको क्राउड फण्डिङमा योगदान दिन सक्नुहुन्छ । त्यसका लागि सोझै ९८४२०६६४६१ वा ९८४४७८२५२५ मा रहेको ईसेवा तथा खल्तीको अकाउण्टमा रकम पठाउन सकिनेछ । साथै देश बाहिर भएका नेपालीहरुले यहाँ क्लिक गरी गो फण्ड मीको पेजबाट सहयोग गर्न सक्नेछन् ।

नेपालमै स्याटेलाइट बनाउन सुरु गर्ने र स्याटेलाइट निर्माण सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले  स्थापना भएको कम्पनीले हालसम्म नेपालमा विभिन्न इन्जिनियरिङ कलेज सहित पाकिस्तान र श्रीलंकामा समेत प्रशिक्षण दिँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४