close

तपाईंको पासवर्ड कत्तिको बलियो अथवा कमजोर छ ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

साउन ९, २०७७ १०:५८

तपाईंको पासवर्ड कत्तिको बलियो अथवा कमजोर छ ? यसरी चेक गर्नुहोस्

काठमाडौं । पक्कै पनि अनलाइनमा तपाईंका थुप्रै खाता होलान् । यस्तोमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, मोबाइल वालेट, इन्टरनेट बैंकिङ, जीमेल जस्ता अकाउण्टका लागि फरक फरक पासवर्ड राख्नु भएको होला । 

तपाईंलाई लागिरहेको होला, ती अकाउण्टहरुमा राखेको पासवर्ड एकदमै बलियो छ, जो कसैले ह्याक गर्न पनि सक्दैन । तर के तपाईंले कहिल्यै चेक गरेर हेर्नुभएको छ, तपाईंले आफ्ना अनलाइन अकाउण्टमा प्रयोग गरेका पासवर्ड कत्तिको मजबुत छन् ?

यदि अहिलेसम्म जाँच्नु भएको छैन भने आज हामी तपाईंलाई यस्ता टूलहरुको विषयमा बताउँदैछौं, जसको प्रयोगबाट तपाईंले आफ्नो पासवर्ड कत्तिको सुरक्षित तथा बलियो छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ ।

सामान्यतयाः बलियो पासवर्डको लागि १० क्यारेक्टरको लम्बाई पर्याप्त मानिन्छ । यद्यपी यहाँनिर सम्झिनुपर्ने कुरा के छ भने पासवर्ड जति लामो भयो, ह्याकरलाई क्र्याक गर्न उत्तिकै मुस्किल हुनपुग्छ । त्यसैले २० देखि ३० क्यारेक्टरयुक्त पासवर्ड राख्न लाज नमान्नुहोस् ।

साथै अर्को महत्वपूर्ण कुरा तपाईंले जतिसुकै बलियो पासवर्ड राखेपनि हरेक तीनदेखि चार महिनामा पासवर्ड फेर्ने बानी बसाल्नुहोस् ।

नोर्डपास

नोर्डले प्रयोगकर्तालाई नि: शूल्क रुपमा अनलाइन पासवर्ड परीक्षण गर्ने टूल (पासवर्ड स्टेन्थ चेकर टूल) उपलब्ध गराउँछ । यसको मद्दतले, तपाईंले आफ्ना अनलाइन अकाउण्टहरुमा राखेको वा राख्न लागेको पासवर्ड बलियो छ वा छैन भन्ने कुरा जाँच्न  सक्नुहुन्छ ।

जहाँसम्म तपाईं तपाईंलाई थाहा भएकै हुनुपर्छ, यदि तपाईंको पासवर्ड मजबूत छ भने  ह्याकरले तपाईंका महत्वपूर्ण तथा गोप्य डेटामा सजिलै पहुँच पाउन सक्ने छैन ।  यसको सहायताले तपाईंले मजबूत किसिमको पासवर्ड सिर्जना समेत गर्न सक्नुहुन्छ । 

यसले कुनै पनि पासवर्ड कत्तिको बलियो छ भन्ने कुरा त्यसको लम्बाई, अपरकेस-लोअरकेस (अंग्रेजी ठूला तथा साना अक्षर), चिन्ह, संख्या आदिको आधारमा जाँच्ने गर्दछ । 

कति लामो पासवर्ड ह्याकरले तोड्न (क्र्याक) सक्दैन भन्ने कुराको अनुमान समेत यसले लगाउन सक्छ । यहाँ पासवर्डको सामर्थ्य जाँच गर्न तपाईंलाई कुनै पनि सफ्टवेयर वा एप डाउनलोड गरिरहन आवश्यक पर्दैन । तपाईं यहाँ क्लिक गरेर नोर्डपासको वेबसाइटमा गएर पासवर्ड जाँच्न सक्नुहुन्छ । यदि बलियो पासवर्ड सिर्जना गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

यूआईसी एकेडेमी

तपाईं पासवर्डको सामर्थ्य जाँच गर्न यूआईसी एकेडेमिक कम्प्युटिङ एण्ड कम्युनिकेसन सेन्टरको वेबसाइटको समेत सहयोगमा लिन सक्नुहुन्छ । जसमा तपाईंले आफ्नो अकाउण्टको लागि कसरी बलियो पासवर्ड राख्न सकिन्छ भन्ने टिप्स समेत पाउन सक्नुहुनेछ ।

यूआईसीको पासवर्ड चेकर टूलमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

यसको सहयोगमा तपाईंले कमजोर र बलिया पासवर्डहरूबीचको भिन्नता के हो भन्ने कुराको ज्ञान समेत प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले यसमा पासवर्ड जाँच गर्न लग ईन गर्नु पनि पर्दैन । साथै, पासवर्डको शक्ति परीक्षण तपाईंको कम्प्युटरमा नै गरिन्छ, त्यसैले तपाईंको जानकारी अनलाइनबाट अन्त कतै पठाउँछ कि भन्ने विषयमा समेत चिन्ता लिनुपर्दैन ।

यदि तपाईं यो कुरामा अझै पनि विश्वस्त हुन सक्नुहुन्न भने आफ्नो पासवर्डलाई थोरै परिवर्तित रुपमा अथवा नमूनाको रुपमा राखेर समेत परीक्षण गर्न सक्नुहुन्छ । वेबसाइट खोलिसकेपछि, तपाईंले पासवर्ड चेकरमा पासवर्ड राख्ने बित्तिकै यसले तपाईंको पासवर्ड कमजोर छ वा बलियो छ भनेर देखाउँदछ ।

यो वेबसाइटको विशेषता नै के हो भने यसले तपाईंको पासवर्डको हरेक पक्षसँग सम्बन्धित प्रभावलाई बताउँछ । जसले गर्दा तपाईंलाई बलियो पासवर्ड सिर्जना गर्न महत्वपूर्ण सहयोग मिल्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४