close

सीडीएमए बन्द गर्दै टेलिकम, प्रयोगकर्तालाई जीएसएममा सारिने

टेकपाना टेकपाना

साउन १९, २०७७ २०:२६

सीडीएमए बन्द गर्दै टेलिकम, प्रयोगकर्तालाई जीएसएममा सारिने

काठमाडौं । नेपाल टेलिकमले अब स्काई फोन अर्थात् (सीडीएमए) सेवा पूर्ण रुपमा बन्द गर्ने भएको छ । चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममामार्फत कम्पनीले स्काईफोन बन्द गर्ने र त्यसमा रहेका प्रयोगकर्तालाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना ल्याएको हो ।

यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा टेलिकमले यस वर्षको वार्षिक कार्यक्रममा सीडीएमए माइग्रेसनलाई प्रमुख कार्यक्रमको रुपमा अघि बढाएको हो ।

‘हाल सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएम टूजी, थ्रीजी र फोरजीमा रुपान्तरण गरिनेछ कार्यक्रम रहेको छ,’ टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘यसलाई कम्पनीको यो वर्षको मुख्य कार्यक्रमकै रुपमा अगाडि बढाउन खोजेका छौं ।’

पछिल्लो समय नयाँ र सहज प्रविधिको रुपमा जीएसएम मोबाइल सेवाको विस्तारले रफ्तार लिएको छ । यस्तो अवस्थामा पुरानो प्रविधिमा आधारित सीडीएमए सेवालाई रुपान्तरण गर्न लागिएको भण्डारीले बताए ।

‘विस्तारै सीडीएमए प्रविधिलाई पूर्णरुपमा बन्द गर्ने तयारी छ,’ उनले भने, ‘त्यसो हुँदा सीडीएमएका ग्राहकलाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना बनाइएको हो । यो वर्ष नै यसको धेरै काम सम्पन्न हुनेछ । त्यसैअनुसार काम समेत अघि बढाइसकेका छौं ।’

कम्पनीले सीडीएमए प्रविधि विस्थापनको काम सुरु गरिएको भने पनि अहिले नै ग्राहकलाई अर्को सेवामा रुपान्तरण गर्न थालिएको भने होइन । भण्डारी स्पष्ट पार्दै भन्छन्, ‘यसरी रुपान्तरण गर्दा ग्राहकलाई कस्तो प्याकेज दिने, ह्याण्डसेट बण्डलिङका कुराहरु पनि आउन सक्छन्, त्यसलाई कसरी समाधान गर्ने, माइग्रेट कसरी गर्ने, कुन ठाउँबाट यसको सुरुवात गर्ने भन्ने लगायतको अध्ययनको काम अगाडि बढाइएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३