close

टेलिकमको डिजिटल पेमेन्ट कम्पनीको सीईओमा कृष्णप्रसाद भण्डारी

टेकपाना टेकपाना

साउन २०, २०७७ २०:४५

टेलिकमको डिजिटल पेमेन्ट कम्पनीको सीईओमा कृष्णप्रसाद भण्डारी

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । टेलिकम सञ्चालक समितिको बैठकले मंगलबारदेखि भण्डारीलाई सहायक कम्पनीको सीईओकाे जिम्मेवारी दिएको हो ।

टेलिकमकाअनुसार भण्डारीले नियमित प्रक्रियाबाट नयाँ सीईओ नियुक्त नहुञ्जेलसम्म अन्तरिम सीईओको रुपमा काम गर्नेछन् । टेकपानासँगको संक्षिप्त कुराकानीमा नवनियुक्त सीईओ भण्डारीले राष्ट्र बैंकले निर्धारण गरेको समयसीमा भित्र मोबाइल मनी सेवाको लाइसेन्स प्राप्त गर्न आवश्यक कामहरु आफ्नो तत्कालको प्राथमिकतामा रहेको बताए ।

‘टेलिकमको सहायक कम्पनीको रुपमा मोबाइल मनी सेवा सकेसम्म छिटो सञ्चालनमा ल्याउने तर्फ मेरो प्रयास हुनेछ ,’ उनले भने ।

सहायक कम्पनीको सीईओमा नियुक्त भएसँगै भण्डारी टेलिकमको सहायक प्रवक्ताको पदबाट भने मुक्त हुने भएका छन् । यद्यपी, अर्को व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी नतोकेसम्म भने उनको यो पद कायम रहनेछ ।

यसैगरी टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन मंगलबार नै अन्तर्राष्ट्रिय स्तरको बोलपत्र समेत आह्वान गरेको छ । मोबाइल फाइनाइन्सियल सोलुसनको सप्लाई, डेलिभरी, इन्स्टलेसन र कमिसनिङ कार्यका लागि असोज २ भित्र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रदाताले शिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३