close

टिकटकसँग किन डराइरहेको छ अमेरिका ?

टेकपाना टेकपाना

साउन २८, २०७७ १६:११

टिकटकसँग किन डराइरहेको छ अमेरिका ?

काठमाडौं । चीन कस्तो बनेको हेर्न चाहन्छ अमेरिका ? बाइटड्यान्सका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक झाङ यिमिङ यसबारे बताउँछन् । बाइटड्यान्स त्यही कम्पनी हो, जसको मातहतमा टिकटक चल्छ । 

चीनमा यस्ता धेरै आईटी उद्यमी छन्, जसले विभिन्न किसिमका एप्स तथा सर्च इन्जिनहरु बनाए । तर  झाङ यस्ता चिनियाँ उद्यमी हुन्, जसले नवीनता र अन्वेषणमा केन्द्रीत रहेर काम गरे । 

वितेको आधा शताब्दीमा अमेरिकाको प्रमुख वैदेशिक लक्ष्य भनेको धेरै झाङहरु जन्माउनु थियो । अमेरिकाले कम्युनिष्ट मुलुक चीनलाई आफूजस्तै धनी, स्वतन्त्र, अन्वेषक र खुल्ला मुलुकको रुपमा परिवर्तन गराउनसकिने विश्वास लिएको थियो ।

झाङ जस्ता स्मार्ट आइडिया र पूँजीवादको अस्त्रले एउटा व्यवसाय स्थापना गरेर त्यसबाट विश्व परिवर्तन गर्ने सोच ल्याउन नसकोस् । 

केही हदसम्म अमेरिका आफ्नो यो सोचाईमा सफल रहेको एउटा उदाहरण झाङ पनि हुन् । टिकटकमा चीनको स्वामित्व होला, तर अमेरिकीहरुले यसलाई आफ्नै जसोगरी अंगालेका छन् । टिकटक पनि फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्तै एउटा प्लेटफर्म हो । 

जीवनयापन र जीवनशैलीलाई राम्रो बनाउन जहाँसुकैको जुन कुरालाई पनि अंगाल्न खुल्लापन अंगिकार गर्ने अमेरिकाको प्रवृतिलाई विश्वले नै सराहना गर्दै आएको छ ।

अमेरिकाकै शब्दमा भन्नुपर्दा, जहाँसुकै जन्मिए पनि कुनै पनि व्यक्तिको उद्यमशीलता, क्षमता र नवीनतालाई अमेरिकाले सधैं स्वागत र सम्मान गर्दछ । 

अब के झाङलाई अमेरिकाकाले चीनको ट्यालेन्ट भनेर वाल स्ट्रिटमा स्वागत सम्मान गर्ला त ?  यी दुईको साझेदारीले कस्तो परिणाम ल्याउला ? अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा युवा मतदाताहरुलाई आकर्षित गर्न डोनल्ड ट्रम्प र जोय बिडेनले टिकटकको विषयलाई चर्को स्वरका साथ उठाइरहेका छन् ।

न्यूयोर्कका बैंकरहरु पनि बाइट्ड्यान्सको शेयरलाई अमेरिकी स्टक बजारमा सूचीकृत गर्न प्रतिस्पार्धामा उत्रिएका छन् । केही वर्ष अघि हुन्थ्यो भने यो सबै सम्भव हुन सक्थ्यो ।

तर अहिले यो सम्भव छैन । अधिकांश अमेरिकी जनताहरु अब चीनलाई सम्भावित साझेदार होइन, एउटा रणनीतिक शत्रुको रुपमा लिन्छन् । ट्रम्पले चीनविरुद्ध ट्वीटर तथा पत्रकार सम्मेलनहरुबाट जेहाद नै छेडेका छन् ।

चीनसँग समझदारी तथा धैर्यताका साथ पेश हुनु कमजोर लिब्रल फेन्टासी मात्र हुने उनको धारणा छ । यसो गर्दा चीन जस्तो सर्वसत्तावादी शत्रु राष्ट्रको हातमा शक्ति र सम्पत्ति मात्र जाने उनको धारणा छ । 

बेइजिङ विरुद्ध अमेरिकी जनलहर र अमेरिकाका रिपब्लिकन हक (युद्धको पक्षमा रहने राजनीतिक खेमा) बाट उत्साहित अमेरिकी अर्थमन्त्रालयले टिकटक एप विरुद्ध एक्सन लिन ट्रम्प प्रशासनलाई सुझाव दियो ।

सोही अनुसार ट्रम्पले ४५ दिन भित्र अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरेको खण्डमा प्रतिबन्ध लगाउने गरी गत साता प्रशासनीय निर्देशनमा हस्ताक्षर गरिसकेका छन् ।

मिसोरीका रिपब्लिकन सिनेटर जोस हावले भन्छन्, ‘टिकटकका अमेरिकी प्रयोगकर्ताहरु चिन्तित हुनुपर्ने समय आएको छ । उनीहरुले यो बइजिङका लागि निगरानी गर्ने टूल भएको कुरा बुझ्नुपर्छ । मानिसहरुको फोनभित्र बस्ने यो ट्रोजन हर्स हो ।’

एउटा नाचेकै भिडियोले त कसरी कसैको निगरानी गर्नसक्ला र भन्ने प्रश्न मनमा उठ्नु स्वभाविकै हो । तर पछिल्लो केही समय यता यहि विषयलाई अमेरिकामा राष्ट्रिय सुरक्षाको विषयसँग जोडेर हेर्न थालिएको छ ।

साथै कम्पनीलाई लिएर अमेरिकामा धारणा पनि निकै कट्टर र अनुदार बन्दै गइरहेको स्थिति छ । आजको समयमा इन्टरनेटले विश्वलाई नै कब्जा गरेको छ । अमेरिकी कम्पनीहरु फेसबुक, अल्फाबेट, अमेजन र चिनियाँ कम्पनी टिकटकले अमेरिका हुँदै विश्व जनमानसमाझ आफ्नो प्रभाव विस्तार गरिसकेका छन् ।

त्यसो त यो सूचीमा चीनकै कम्पनी अलिबाबा, बाइडु र टेन्सेन्ट पनि आएका छन् । तर यो स्तरमा पुग्न यी कम्पनीहरुले अझै धेरै गर्न बाँकी छ । टिकटक एउटा बलियो भ्याकुम बन्न सक्छ, जसले अमेरिकी जनताहरुको तस्वीर तथा विवरणलाई संकलन गरेर चीनको भोको गर्भमा भर्न सक्छ ।

अमेरिकीहरु माझ यस्तै त्रास छ । चीनले आफ्नै जनताहरुको व्यापक डेटा संकलन गरेको तथ्य, सिनजियाङमा निर्माण गरेको निगरानी स्टेट, उसले लागु गरेको सोसल क्रेडिट सिस्टम र कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा ल्याएको ट्रयाकिङ सिस्टम ।

यस्ता कुराहरुले आम जनमानसमा चीनको गतिविधिमाथि संशय र त्रास पैदा गरेको छ । त्यसमाथि टिकटक अहिले अमेरिकामा आफ्नो बढ्दो प्रभावका कारण मात्र होइन, चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा समेत बलीको बोको बनिरहेको छ । 

झाङले बारम्बार बाइटड्यान्सले कसैको पनि डेटालाई चिनियाँ सरकार समक्ष नबुझाएको र चीन सरकारबाट त्यस्तो किसिमको माग नआएको र माग आएको खण्डमा पनि त्यसलाई मान्न असम्भव रहेको बताउँदै आइरहेका छन् । 

झाङ सम्भवत: आफ्नो भनाईप्रति इमान्दार देखिन्छन् । किनभने उनले कम्युनिष्ट पार्टीको लागि काम गरेको त्यस्तो कुनै पुख्ता सबूत छैन । तर चीनको बढ्दो अविश्वनियता बीच झाङको प्रतिबद्धता र इमान्दारिताले खासै ठूलो अर्थ राख्दैन ।

चीनले आफ्ना १ अर्ब ४० करोड जनताहरु चिनियाँ कम्युनिष्ट पार्टी प्रति बफादार रहेको भान विश्वलाई गराउँदै आइरहेको छ । सैद्धान्तिक रुपमा यसको अर्थ चिनियाँ पासपोर्ट हुने हरेक मानिसहरु गुप्तचर भएको वा हुन बाध्य छन् भन्ने हुन्छ ।

हजारौं मुसलमान जनताहरुलाई लकअपमा राखेर यातना दिएको सरकारले झाङलाई केही दिनसम्म दबाब दिएर ती संवेदनशिल जानकारी हत्याउनु कुन ठूलो कुरा हो भन्ने सबैलाई सजिलै लाग्छ । 

वासिङटनको आफ्नो कम्पनी प्रतिको धारणालाई सहज तुल्याउन टिकटकलाई चीनबाट अलग्याउने झाङका लागि सधैं नै ठूलो अभियान बनिरह्यो । अमेरिकी राजनीति तातेसँगै झाङले एप र बेजिङबीच सकेसम्म दूरी ल्याउने प्रयास गरिनै रहे ।

टिकटकको अमेरिकी व्यवस्थापन टोलीलाई उनले चीनबाट बाहिर निकालेर अमेरिकाकै विभिन्न स्थानमा कार्यालय सारे । अमेरिकी क्षेत्रको व्यवसायलाई सम्हाल्नका लागि झाङले सम्पूर्ण अधिकार कार्यकारी टिमलाई दिएको टिकटकका अमेरिकी जनरल म्यानेजर बताउँछन् ।

टिकटकको भाग्यले के संकेत दिन्छ भने यदि चीनले आफ्नो ऐतिहासिक उदयलाई निरन्तर राखेर अमेरिकाको राजनीतिक तथा आर्थिक बर्चस्वलाई चुनौती दिइरहने हो भने चिनियाँ नेताहरुले चीनलाई प्राविधिक शक्तिकेन्द्र बनाउनु पर्छ भन्ने कुरा बुझ्न पर्छ  र त्यसैबाट मात्र आर्थिक सफलता र कूटनीतिक प्रभाव सम्भव छ ।

अन्यथा यदि भूराजनीतिक तूफानले झाङको महत्वकांक्षामा अवरोध उत्पन्न गराउन सक्छ । झन् त्यसले चीनलाई पनि बर्बाद पार्न सक्छ ।

वास्तवमा टिकटकले आधुनिक चीनको उत्कृष्ट र खराब दुवै चरित्रलाई देखाएको छ । यसले एकातिर सम्पत्ति र आइडिया दुवै जन्माउन सक्ने असिमित सम्भाव्यता देखाएको छ भने अर्कोतिर उसको बढ्दो सर्वसत्तावादले निम्त्याएको त्रास र विवाद ।

यसअघि कुनै पनि चिनियाँ कम्पनी अमेरिकी जीवनसँग यति नजिकबाट गाँसिन पाएको थिएनन् । घुसपेठी प्रविधि, बिग डेटा र बढ्दो अन्तरदेशीय द्वन्द्धको युगमा अमेरिकाले यो एउटा एपलाई कस्तो व्यवाहार गरिरहेको छ भन्ने कुराले उसको आदर्शको समेत परीक्षा लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०