close

अडियो समेत जूम गर्न मिल्ने रेड्मी के थर्टी अल्ट्रा सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन २८, २०७७ १८:१५

अडियो समेत जूम गर्न मिल्ने रेड्मी के थर्टी अल्ट्रा सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । शाओमीले आफ्नो दशाैं वार्षिकोत्सवको अवसरमा एमआई टेन अल्ट्रा सार्वजनिक गरेको छ । यो फोनसँगै कम्पनीले ल्याएको अर्को स्मार्टफोन हो रेड्मी के थर्टी अल्ट्रा

रेड्मी के थर्टी झट्ट हेर्दा पोको एफ टू जस्तै देखिन्छ । तर यसले आफ्नो के थर्टी सिरिजका अन्य फोनको तुलनामा केही नयाँ विशेषता पस्केको छ ।

यसमा महत्वपूर्ण विशेषता भनेकाे मिडियाटेक डाइमेन्सिटी १००० प्लस फाइभजी चिपसेट प्रयोग गरिएको छ । यसअघिको ‘के थर्टी प्रो’ मा स्न्यापड्रागन ८६५ सिरिज प्रोसेसर प्रयोग भएको थियो ।

यसको अर्थ तपाईंले यसमा दुई वटा फाइभी सिम प्रयोग गर्न पाउनुहुनेछ । फोनको ब्याट्री ४५०० एमएएच क्षमताको छ । त्यस्तै यसमा १२० हर्ज एमोलेड डिस्प्ले छ ।

उत्कृष्ट डिस्प्लेको अनुभव गर्न मन पराउने र गेमिङमा रुची राख्नेहरुका लागि यो फोन सही रोजाइ बन्न सक्छ । यो फोनमा तीनवटा माइक्रोफोनका अतिरिक्त अडियो जूम प्रविधिको प्रयोग गरिएको छ ।

जसका कारण तपाईंले जूम गरेर खिचेका भिडियोहरुको समेत राम्रो अडियो आउँछ । यो फोनमा चारवटा क्यामेराको सेटअप छ । जसको मुख्य क्यामेरा ६४ मेगापिक्सेलको छ ।

त्यसैगरी यसमा १३ मेगापिक्सेलको अल्ट्रा वाइड सेल्फी क्यामेरा रहेको छ भने पाँच मेगापिक्सेलको टेलिफोटो म्याक्रो र दुई मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ ।

अन्य देखिने मुख्य विशेषता अन्तर्गत आईआर ब्लास्टर, ईन डिस्प्ले फिङ्गरप्रिन्टर सेन्सर र डुअल स्टेरियो स्पीकर रहेका छन् ।

रेड्मी के थर्टी अल्ट्राको मूल्य यसअघिको के थर्टी प्रोको तुलनामा धेरै नै सस्तो छ । कम्पनीले छ जीबी र्‍याम तथा १२८ जीबी रोम क्षमताको फाेनकाे मूल्य २८८ डलर (३४ हजार ६४७ रुपैयाँ) ताेकेकाे छ ।

त्यस्तै आठ जीबी र्‍याम तथा १२८ जीबी रोम क्षमताको तीन सय ६० डलर (४३ हजार ३०० रुपैयाँ) र आठ जीबी र्‍याम र २५६ जीबी रोम क्षमताको फाेनकाे मूल्य तीन सय ८८ डलर (४६,६७० रुपैयाँ) राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०