close

टेलिकमको व्यापारमा कोभिड – १९ कहर, आम्दानी करिब दुई अर्बले घट्यो

टेकपाना टेकपाना

साउन ३०, २०७७ ७:५६

टेलिकमको व्यापारमा कोभिड – १९ कहर, आम्दानी करिब दुई अर्बले घट्यो

काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमको आम्दानी एक अर्ब ८९ करोड रुपैयाँले घटेको छ । टेलिकमले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक वित्तीय प्रतिवेदन अनुसार टेलिकमको आम्दानी ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँमात्र पुगेको छ ।

जबकी त्यस अघि आव २०७५÷७६ मा टेलिकमले ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । टेलिकमको आम्दानीमा कोभिड १९ को असर प्रष्टसँग देखिएको छ । कोभिड १९ का कारण जारी गरिएको लकडाउन अवधि अर्थात गत आवको अन्तिम त्रैमासिकमा टेलिकमले धेरै आम्दानी गुमाउन पुगेको हो ।

गत बैशाखदेखि असारसम्मको उक्त अवधिमा टेलिकमको आम्दानी ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ मात्र पुगेको छ । जबकी आव २०७५÷७६ को सोही त्रैमासिकमा टेलिकमको आम्दानी ११ अर्ब ३६ करोड रुपियाँ थियो ।

वित्तीय प्रतिवेदन अनुसार टेलिकमले सेवा बिक्रीबापत गत आजवमा ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसको अघिल्लो आवमा सेवा बिक्रीबापत टेलिकमको आम्दानी ३६ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ थियो ।

टेलिकमको समग्र आम्दानी घट्दा नाफामा स्वभाविक संकुचन देखिएको छ । खुद नाफा एक अर्ब रुपैयाँभन्दा बढीले घटेर गत आवमा जम्मा ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जबकी त्यसको अघिल्लो आवमा टेलिकमले ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ आम्दानी खुद नाफा आर्जन गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०