close

२१ वर्षे नेपाली युवाले पत्ता लगाए इन्स्टाग्रामको ‘बग’, हात पारे ६ हजार डलर पुरस्कार

टेकपाना टेकपाना

साउन ३०, २०७७ १४:१५

२१ वर्षे नेपाली युवाले पत्ता लगाए इन्स्टाग्रामको ‘बग’, हात पारे ६ हजार डलर पुरस्कार

काठमाडौं । साइबर सुरक्षा सम्बन्धी अनुसन्धानकर्ता सौगात पोखरेलले इन्स्टाग्रामा रहेको बग (सुरक्षा कमजोरी) पत्ता लगाएका छन् । २१ वर्षीय उनले इन्स्टाग्राममा लामो समय अघि नै प्रयोगकर्ताले डिलिट गरेको फोटो र डाइरेक्ट म्यासेज कम्पनीको सर्भरमै रहने गरेको पत्ता लगाएका थिए ।

युरोपको नयाँ डेटा नीतिअनुसार सन् २०१८ मा इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नो डेटा डाउनलोड गर्न सकिने सुविधा उपलब्ध गराएको थियो । उक्त सुविधाको सदुपयोग गर्दै सौगातले आफ्नो डेटा डाउनलोड गरेका थिए । डाउनलोड भएको डेटामा उनले एक वर्ष अघि नै डिल‍िट गरेको फोटा र डाइरेक्ट म्यासेज पनि रहेको थियो ।

इन्स्टाग्रामको नीति अुनसार यदि कुनै प्रयोगकर्ताले फोटो तथा डाइरेक्ट म्यासेज डिलिट गर्छ भने उक्त डिलिट भएको म्यासेज र फोटो ९० दिनभित्र पूर्णरुपमा हट्नुपर्ने हुन्छ । यसको अर्थ कम्पनीको सर्भरमा समेत त्यस्तो डेटा रहँदैन ।

तर, सौगातले डाउनलोड गरेको डेटामा ९० दिनभन्दा पुरानो फोटो पनि अझै सर्भरमा रहेको र उक्त फोटो समेत डाउनलोड भएको थियो ।

‘लामो समय अघि नै मैले डिलिट गरेको डेटा इन्स्टाग्रामले आफ्नो सर्भरबाट डिलेट गरेको रहेनछ,’ उनले टेकक्रञ्चसँगकाे कुराकानीमा भनेका छन्, ‘त्यैसैले मैले सन् २०१९ अक्टोबरमा इन्स्टाग्रामको बग बाउन्टी कार्यक्रममार्फत यो बगको विषयमा जानकारी गराएको थिएँ । उक्त बग अघिल्लो महिनामात्रै फिक्स (समधान) भएको छ ।’

‘अनुसन्धातकर्ताले लामो समय अघि डिलिट गरेको डेटा समेत सर्भरमा रहने गरेको र डेटा डाउनलोड गर्दा उक्त जानकारी समेत डाउनलोड हुने गरेको समस्या दर्ता गराएका थिए,’ इन्स्टाग्रामका प्रवक्ताले भनेका छन्, ‘अहिले उक्त समस्याको समाधान भइसकेको छ । त्यसरी जम्मा भएर बसेको डेटाको कुनै मिसयुज (दुरुपयोग) भएको छैन ।’

उक्त बग पत्ता लगाइदिए बापत इन्स्टाग्रामले सौगातलाई ६ हजार अमेरिकी डलर अर्थात ७ लाख २० हजार नेपाली रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०