close

अमेरिकालाई टिकटक सुम्पिन ट्रम्पको ९० दिनको अल्टिमेटम

टेकपाना टेकपाना

भदौ १, २०७७ १५:५२

अमेरिकालाई टिकटक सुम्पिन ट्रम्पको ९० दिनको अल्टिमेटम

काठमाडाैं । अमेरिकी कम्पनीलाई टिकटक सुम्पिन वा आफ्नो व्यवसायलाई ध्वस्त पार्ने निर्णय गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई ९० दिनको समय दिएका छन् ।

यसअघि ट्रम्पले टिकटकलाई सेप्टेम्बर २० सम्मको अल्टिमेटम दिएका थिए भने अब उनले यो समय नोभेम्बर १२ सम्म बढाइदिएका छन् । ट्रम्पले हालै जारी गरेको कार्यकारी आदेशअनुसार बाइटडान्सले सबै अमिरिकी टिकटक प्रयोगकर्ताहरुको डेटा ध्वस्त पार्नुपर्नेछ ।

यस्तै बाइटडान्सले २०१७ मा अधिग्रहण गरेको टिकटकअघिको कम्पनी म्युजिकल्लीमा रहेको डेटा पनि ध्वस्त पार्नुपर्नेछ । 

४५ दिनको समय सीमाभित्र बाइटडान्सले सबै काम गर्न नसक्ने हुँदा ट्रम्पले सो अवधि बढाएका हुन् । यसअघि माइक्रोसफ्टले १५ सेप्टेम्बरभन्दा अगावै टिकटकको स्वामित्व अधिग्रहण गरिसक्ने बताएको थियो ।  

टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। अमेरिकामा मात्रै ८ करोड प्रयोगकर्ता छन्। अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

चिनियाँ कम्पनीले चलाएको भएपनि चीनभित्र भने टिकटक प्रतिबन्धित छ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०