close

टेलिकमले ल्यायो ह्याप्पी लर्निङ प्याक, ५०० रुपैयाँमा ३५ जीबी डेटा

टेकपाना टेकपाना

भदौ २, २०७७ १९:४०

टेलिकमले ल्यायो ह्याप्पी लर्निङ प्याक, ५०० रुपैयाँमा ३५ जीबी डेटा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक सार्वजनिक गरेको छ । कम्पनीले कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको हो ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने यो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ ।

यसैगरी ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले यहाँ क्लिक गरी ईमेल पठाउनुपर्नेछ ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत प्याकेज खरिद गर्न सूचना दिनेछ । एसएमएस प्राप्त भएपछि सूचीमा रहेका मोबाइल नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज छनौट गर्न सकिनेछ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टूजी, थ्रीजी र फोरजी) को डेटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् ।

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट कोभिड महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न/गराउन विद्यार्थी, अभिभावक तथा शिक्षकलाई थप सहज र मितव्ययी हुने कम्पनीको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०