close

कोभिडको त्रासले छोएन एप्पललाई, बन्यो २ ट्रिलियन डलरको पहिलो अमेरिकी कम्पनी

टेकपाना टेकपाना

भदौ ४, २०७७ ११:२५

कोभिडको त्रासले छोएन एप्पललाई, बन्यो २ ट्रिलियन डलरको पहिलो अमेरिकी कम्पनी

काठमाडाैं । कोभिड-१९ काे महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलै हलचलको अवस्था सिर्जना भइसकेको छ । कतिपय कम्पनीको आर्थिक अवस्था नाजुक बनिरहेकाे छ । तर, यही समयमा विश्वका धनी व्यक्ति तथा ठूला कम्पनीहरुको सम्पत्ति भने अझ थपिँदै गएको छ ।

जसको एउटा उदाहरण एप्पल बनेको छ । आजभन्दा दुई वर्षअघि एप्पलका लगानीकर्ताले एक ट्रिलियन डलरको कम्पनी बनाएका थिए । त्यतिबेला कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । अहिले कोरोना महामारीको बेलामा पनि एप्पलको मूल्य दुई गुणाले बढेको छ ।

अमेरिकी समयअनुसार बुधबार बिहान एप्पलको एक सेयरको मूल्य शेयरमा बजारमा ४६७.५५ डलर भयो । कम्पनीले कुल ४.३ मिलियन सेयर जारी गरेको छ ।

शेयर बजारको मूल्यले शेयर संख्यालाई गुणा गर्दा कम्पनीको भ्यालू दुई ट्रिलियन भएको हो । यसरी कम्पनीको शेयर बजारमा आएको उछालको कारण कम्पनीले केही समयअघि गरेको निर्णय हो ।

कम्पनीले यही अगस्ट २४ तारिखबाट शेयर विभाजन गर्ने निर्णय गरेको थियो । जसले एप्पलको हाल रहेको शयेर संख्या बढाउने छ र शेयरको मूल्य चार गुणाले कम हुनेछ ।

यसरी शेयर विभाजन गर्दा कम्पनीको मूल्य उस्तै रहने र शेयरको मूल्य कम हुँदा लगानीकर्तालाई समेत खरिदबिक्री गर्न सहज हुनेछ । कम्पनीको यो निर्णयले नै शेयरको मूल्यले यो उचाई छोएको जनाइएकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३