close

भियतनाम र भारतमा समेत सेवा विस्तार गर्दै नेपाली ईकमर्स कम्पनी ग्यापु

टेकपाना टेकपाना

भदौ ५, २०७७ १८:६

भियतनाम र भारतमा समेत सेवा विस्तार गर्दै नेपाली ईकमर्स कम्पनी ग्यापु

काठमाडौं । छोटो समयमै लोभलाग्दो रुपमा स्थापित भएको नेपाली ईकमर्स कम्पनी ग्यापुले अब भियतनाममा समेत आफ्नो सेवा विस्तार गर्ने भएको छ । यससँगै ग्यापु विश्व बजारमा प्रवेश गर्ने पहिलो नेपाली ई-कमर्स कम्पनी हुनेछ ।

लकडाउनको विषम परिस्थितिमा स्थापना भएर फलफूल, तरकारी, इलेक्ट्रोनिक्स लगायतका सामग्रीको डेलिभरी दिँदै आएको ई-कमर्स कम्पनी ग्यापु छोटो समयमै धेरैको मन जित्न सफल भएको छ ।

अमेरिकाको आईटी हब सिलिकन भ्यालीमा रहेर लामो समय व्यवसाय गरेका ग्यानेन्द्र खड्काले गत चैत २१ गतेबाट ग्यापुको सुरुवात गरेका हुन् । खड्काका अनुसार कम्पनीले आफ्नो सेवा अब छिट्टै भियतनाममा समेत विस्तार गर्ने छ ।

‘आउँदो जनवरीदेखि नै भियतनाममा सेवा सुरु गर्ने योजनामा छौं,’ टेकपानासँग कुरा गर्दै उनले भने, ‘त्यसका लागि हाम्रो भियतनामको टिमले तयारी गर्दैछ । त्यहाँ हामी ग्यापु भियतनामको नामबाट सेवा दिन्छौं ।’

तर लकडाउन लम्बिदै गए भियतनाममा सेवा सुरु गर्न केही ढिलाई हुनसक्नेछ । उनले अगाडि भने ‘यी सबै कुराहरु लकडाउनमा भर पर्नेछन् । लकडाउन लम्बिएको अवस्थामा सेवा सुरु गर्न मार्चसम्म कुर्नुपर्ने हुनसक्छ ।’

भियतनाममा शतप्रतिशत लगानी ग्यापुकै हुनेछ । भियतनामपछि विश्वका विभिन्न मुलुकमा ग्यापुलाई लैजाने आकांक्षा खड्काले राखेका छन् ।

भियतनाम लगत्तै कम्पनीले भारतको दिल्लीमा समेत आफ्नो सेवा उपलब्ध गराउने योजना बनाएको छ । दिल्लीमा सेवा सुरुभएसँगै अमेजन, स्नापडिल र फ्लिपकार्टका सामान समेत ग्यापुले नेपालमा बिक्री गर्ने खड्काले जानकारी दिए ।

‘ग्यापु इन्डियाबाट हामी नेपाली उत्पादनहरु बिक्री गर्ने छौं,’ उनले भने, ‘सन् २०२१ भित्र दिल्लीबाट सेवा सुरु गरेर ब्याङ्लोरमा समेत विस्तार गर्ने योजनामा छौं ।’

त्यसो त ग्यापुका संस्थापक तथा सीईओ खड्काले खोलेको कम्पनी एक्सेल ट्रिपको कार्यालय यस अघि देखि नै भारतको बैंलोरबाट समेत सञ्चालनमा छ । जसले गर्दा बैंलोरमा सेवा विस्तार गर्न खासै अप्ठ्यारो नहुने उनको विश्वास छ ।

भारतमा सेवा सुरु गरे पनि भारतभर सेवा विस्तार गर्ने योजना भने ग्यापुले बनाएको छैन । भारतका मुख्य सहरहरुमा मात्रै ग्यापुले आफ्नो सेवा उपलब्ध गराउनेछ ।

नेपाल, भियतनाम र भारत गरी तीन देशमा सेवा विस्तार गरेपछि कम्पनीले विदेशी लगानी भित्र्याउने योजना बनाएको छ । हाल ग्यापुमा एक हजारभन्दा बढी बिक्रेता र चार लाख भन्दा बढी सामग्रीहरु उपलब्ध छन् ।

वेबसाइट र मोबाइल एपमार्फत कम्पनीको प्लेटफर्ममा ८० हजारभन्दा धेरै ग्राहक दर्ता भइसकेको खड्काले बताए । दश करोड रुपैयाँ लगानीमा सुरु भएको ग्यापुले हाल दैनिक दश लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको उनको भनाई छ ।

खाद्यान्न र घरायसी सामानसँगै ग्यापुले जी-बार नामक अनलाइन बार समेत सुरु गरेको छ । यसका साथै बाजेको सेकुवासँगको साझेदारीमा ग्राहकलाई कम्पनीले रेस्टुरेन्टका परिकार समेत डेलिभरी दिँदै आएको छ ।

ग्यापुले आफ्नो व्यापार स‍ञ्जाल विस्तार गर्ने क्रममा सिभिलमलका सम्पूर्ण पसल समेत आफ्नो प्लेटफर्ममा समेटिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३