close

ब्रेन कम्प्युटर इन्टरफेस, जसमार्फत अब दिमागले सोझै नियन्त्रण गर्नेछ इलेक्ट्रोनिक उपकरण

टेकपाना टेकपाना

भदौ ६, २०७७ १५:१९

ब्रेन कम्प्युटर इन्टरफेस, जसमार्फत अब दिमागले सोझै नियन्त्रण गर्नेछ इलेक्ट्रोनिक उपकरण

काठमाडौं । भविष्यमा तपाईं मोबाइल, कम्प्युटर, ल्यापटप लगायतका कुनै पनि डिभाइस हात नलगाएर सोझै आफ्नो दिमागबाटै नियन्त्रण गर्न सक्नुहुनेछ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । हुन त तपाईंले डाक्टर अक्टोपसलाई फिल्ममा देख्नु भएकै होला । फिल्ममा डाक्टर अक्टोसका मसिनका धेरै हातहरु हुन्छन् । 

ती मसिनका हातहरुलाई डाक्टर अक्टोपस आफ्नो दिमागबाट नियन्त्रण गर्छन् । यो सबै कुरा वास्तविक जीवनमा समेत सम्भव छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

तर वास्तवमै यो सम्भव छ । ब्रेन कम्प्युटर इन्टरफेस प्रविधिमार्फत अब इलेक्ट्रोनिक उपकरणहरुलाई नियन्त्रण गर्न सम्भव भइसकेको छ ।

आखिर के हो यो ब्रेन कम्प्युटर इन्टरफेस ?

आज हामी तपाईंलाई यो ब्रेन कम्प्युटर इन्टरफेस के हो र यसले कसरी काम गर्छ भन्ने बारेमा बताउँदै छौं । साथमा यसको उपयोगिताको विषयमा पनि तपाईंले जानकारी प्राप्त गर्नुहुनेछ । 

ब्रेन कम्प्युटर इन्टरफेसलाई सजिलोसँग बुझ्ने हो भने यो एक प्रकारको मसिन नै हो वा भनौं एक किसिमको सिस्टम हो । जसले हाम्रो दिमागलाई कम्प्युटरसँग कनेक्ट गराउँछ र त्यसमार्फत दिमागको निर्देशन कम्य्युटरमा पठाउँछ । 

यसलाई हामी अर्को नाम एनसीआईबाट समेत चिन्न सक्छौं । जसको पुरा नाम चाहिँ न्युरल कन्ट्रोल इन्टरफेस हो । यसलाई अझ सजिलो गरी बुझ्ने हो भने यस्तो मसिन मसिन वा सिस्टम, जसमार्फत हाम्रो दिमागको सूचनालाई कुनै कम्प्युटर वा इलेक्ट्रोनिक डिभाइसको स्क्रिनमा देखाउन सकिन्छ । वास्तवमा यो सिस्टमबाट तपाईं कम्युटरसँग सोझै कुराकानी गर्न वा निर्देशन दिन सक्नुहुन्छ ।

यो कुरा थाहा पाउँदा तपाईंलाई रोचक र अनौठो पक्कै लागेको हुनुपर्छ । अब यसले कसरी काम गर्छ भन्ने बारेमा कुरा गरौं । ब्रेन इन्टरफेस कम्य्युटर इन्टरफेसलाई बुझ्न हामी वास्तविक जीवनको एउटा उदाहरण लिएर हेरौं है त । 

हाम्रो दिमागले कसरी काम गर्छ भन्ने बारेमा धेरैजसोलाई थाहा भएकै हुनुपर्छ । यदि तपाईंलाई त्यसको जानकारी छ भने यो ब्रेन कम्प्युटरलाई सहजै बुझ्न सक्नुहुनेछ । खासगरेर हाम्रो दिमागले शरीरका विभिन्न अंगहरुसँग सूचना तथा निर्देशन आदान प्रदानको काम गर्न इलेक्ट्रिक पल्स अर्थात इलेक्ट्रिक सिग्नलको प्रयोग गर्दछ ।

यही इलेक्ट्रिक्स पल्स तथा सिग्नलकै सहयोगमा हामी सोच्न सक्छौं । काम गर्न सक्छौं । सपना देख्न सक्छौं । यसरी हाम्रो दिमागले विभिन्न किसिमका कामहरु गर्न सक्छ । 

यसै प्रकारले तपाईंसँग कम्प्युटरको सामान्य जानकारी छ भने कम्युटरले पनि इलेक्ट्रिक सिग्नलकै आधारमा काम गर्दछ । जसबाट तपाईं हामीले दिएको निर्देशनका आधारमा कम्प्युटरले काम गर्दछ । 

कम्य्युटरमा काम गर्ने इलेक्ट्रिकल सिग्नल शून्य र एक अंकको रुपमा बायनरी फर्ममा (ढाँचामा) हुने गर्दछन् । अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने कम्य्युटर पनि इलेक्ट्रिक सिग्नलबाटै काम गर्दछ र दिमाग पनि एक किसिमको इलेक्ट्रिक सिग्नल नै प्रयोग गर्दछ । 

अब यस्तो अवस्थामा यी दुवैको बीचमा हामी एउटा कनेक्सन तयार पार्न सक्दछौं । यसको अर्थ के भने हाम्रो दिमागबाट जुन किसिमको इलेक्ट्रिकल सिग्नल निस्किरहेको हुन्छ त्यसलाई हामीले कुनै सिस्टम वा मसिनको माध्यमबाट कम्प्युटरसम्म पुर्‍याउन सक्ने हो भने कम्प्युटरले हाम्रो दिमागको भाषा बुझ्न सक्छ । 

सुन्नमा निकै रोचक लाग्ने यो विषय वास्तविक जीवनमा हुँदा कति आनन्द होला ? यसमा वैज्ञानिकहरुले विभिन्न परीक्षणहरु सम्पन्न गरिसकेका छन् । जसमध्ये पहिलो परीक्षण एउटा बाँदरमा गरियो । 

जसमा बाँदरको टाउकोमा केही पिनहरु लगाइएको थियो र त्यसलाई तारले जोडियो । यसरी गरिएको परीक्षणमा बाँदरले रोबोटिक आर्म (रोबोटको हात खुट्टा) नियन्त्रण गर्न सफल देखिएको थियो । 

यहिँनिर तपाईं डाक्टर अक्टोपस फिल्मलाई ख्याल गर्नु हुन्छ भने ठीक यसै प्रकाले देखाइएको छ । त्यसमा उनी जोडिएका मसिनका हातहरुलाई नबोलेरै दिमागले चाहे अनुसार हातहरुलाई चलाउन सक्छन् । 

अब ब्रेन कम्प्युटर इन्टरफेस प्रविधि फिल्मको एउटा काल्पनिक कथा मात्र होइन, वास्तविक जीवनकै प्रयोग बन्न पुगेको छ । यस्तोमा आउँदा दिनहरुमा यो प्रविधि पक्कै पनि थप उन्नतस्तरमा विकास हुने नै छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३