close

अब अनलाइन तथा वैकल्पिक शिक्षालाई समेत शैक्षिक शत्रमा गणना गरिने

टेकपाना टेकपाना

भदौ ९, २०७७ ९:५

अब अनलाइन तथा वैकल्पिक शिक्षालाई समेत शैक्षिक शत्रमा गणना गरिने

काठमाडौं । अब अनलाइन कक्षालाई नियमित शैक्षिक शत्रमा गणना गरिने भएको छ । यससँगै पठनपाठनबाट अन्यौलमा रहेका लाखौं विद्यार्थीलाई केही हदसम्म भए पनि राहत मिल्ने देखिएको हो ।

कोरोना महामारीका कारण अहिले समग्र शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ महिना पछि सरकारले त्यसलाई सही ट्र्याकमा ल्याउने पहलकदमी थालेको छ । यस अघि भौतिक उपस्थितिलाई मात्र आधार मानिँदै आएकोमा अब भने अनलाइन कक्षा तथा वैकल्पिक सिकाईलाई समेत हाजिरीको रुपमा गणना गरिने भएको हो ।

महामारीका कारण ८१ लाख विद्यार्थीहरु प्रभावित भएका छन् । जसमा धेरैको पठनपाठन सुरु हुन सकेको छैन भने कतिपयको परीक्षा समेत हुन सकेको छैन ।

सहरी क्षेत्रमा इन्टरनेटको पहुँच हुँदा अनलाइन कक्षा संभव भए पनि ग्रामीण क्षेत्रमा भने त्यसबाट बञ्चित भइरहेको अवस्था छ । यस किसिमको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी थालेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

‘यो अनलाइन शिक्षालाई विश्वले कुनै न कुनै रुपमा स्वीकार गरेकै छ,’ उनले भने, ‘हामीले खुल्ला विश्वविद्यालयको अवधारणामामा कोभिड महामारी आउनु अगावै देखि अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छौं भने यसलाई नियमित पठनपाठनका क्रेडिट आवरभित्र राखेर जान नसक्ने भन्ने अवस्था हुँदैन ।’

‘यस सम्बन्धि मन्त्रिपरिषदले औपचारिक निर्णय गर्न मात्र बाँकी हो, त्यो हामी गर्छौं,’ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले भने, ‘जहाँ यो अनलाइन शिक्षाका लागि आवश्यक पूर्वाधार छैन, उहाँहरुका लागि पनि वैकल्पिक शिक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ ।’

यद्यपी अनलाइन बाहेक वैकल्पिक शिक्षाको व्यवस्था कसरी गर्ने भन्ने विषय भने उनले प्रष्ट पारेनन् । यस अघि नै सरोकारवालाले वैकल्पिक व्यवस्था नगरे शैक्षिक शत्र नै धरासायी हुनसक्ने भन्दै सरकारको ध्यानकर्षण गराएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३