close

ट्रम्पविरुद्ध टिकटकले हाल्यो मुद्दा

टेकपाना टेकपाना

भदौ ९, २०७७ १९:११

ट्रम्पविरुद्ध टिकटकले हाल्यो मुद्दा

काठमाडौं । अमेरिकाले आफ्नो कारोबारमा प्रतिबन्ध लगाउनु गैरकानुनी काम भन्दै चिनियाँ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अगष्ट ६ मा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै अमेरिकामा हुने कारोबार अमेरिकी कम्पनीलाई बिक्री गर्न टिकटकलाई नोभेम्बर १२ सम्मको अल्टिमेटम दिएका थिए ।

टिकटकले विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको निर्णय विरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेको जानकारी गराएको छ । ‘हामीले अमेरिकी सरकारको चासोलाई सम्बोधन गर्नको लागि भरपूर प्रयास गर्दा पनि वेवास्ता गरिएको गरिएको छ,’ टिकटकले आफ्नो विज्ञप्तिमा भनेको छ ।

‘सरकार विरुद्ध मुद्दा दायर गर्नु सामान्य काम होइन,’ टिकटकले भनेको छ,‘तर हाम्रा कर्मचारी र अधिकारको संरक्षणको लागि यो बाहेकको विकल्प रहेन ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटकले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै यसलाई प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । अमेरिका अघि भारतले पनि टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ ।

टिकटकले दायर गरेको मुद्दामा अमेरिकी सरकारी निकायले आफ्नो कम्पनीबारे पहिल्यै अनुसन्धान गरेर कुनै पनि गैरकानुनी काम नगरेको पुष्टि भइसकेको दाबी गरेको छ ।

अमेरिकी सरकारले टिकटकलाई अमेरिकामा हुने कारोबार अमेरिकी कम्पनीलाई बिक्री गर्न दबाव दिएपछि माइक्रोसफ्टले टिकटकसँग खरिद बिक्रीको लागि छलफल अघि बढाइसकेको छ ।

अमेरिकी सरकारले चिनियाँ एप टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाएको छ । वीच्याट प्रयोगकर्ताको समूहले पनि अमेरिकी सरकारको निर्णय विरुद्ध मुद्दा दायर गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३