close

जेफ बेजोस बने २०० अर्ब डलर सम्पत्ति भएको विश्व इतिहासकै पहिलो धनाढ्य

टेकपाना टेकपाना

भदौ ११, २०७७ ११:५०

जेफ बेजोस बने २०० अर्ब डलर सम्पत्ति भएको विश्व इतिहासकै पहिलो धनाढ्य

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोससँग सम्पत्तिको यति धेरै रास थुप्रिएको छ कि जति उनीसँग यस अघि कहिल्यै थिएन । फोर्ब्सको करिब चार दशकदेखिको गणनामा बेजोसले यस्तो कोशेढुङ्गा पार गरेका छन्, जुन यस अघि कहिल्यै कसैको नाममा देखिएको थिएन ।

बुधबार दिउँसो अमेजनको स्टक दुई प्रतिशतमा समाप्त हुँदा बेजोसको कूल सम्पत्तिमा ४.९ अर्ब डलरले बढोत्तरी हुन पुग्यो । जसबाट ५६ वर्षीय धनाढ्य २०० अर्ब डलरभन्दा बढी सम्पत्ति सहित विश्वको अहिलेसम्मकै धनी भाग्यमानी बन्न सफल भए ।

बुधबार १ः५० मिनेट जाँदा अमेजनका संस्थापक तथा सीईओको सम्पत्ति २०४.६ अर्ब (२४१ खर्ब ९० अर्ब ३२ करोड रुपैयाँ)  पुगेको छ । जुन विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कूल सम्पत्तिको तुलनामा करिब ९० अर्ब डलरले बढी हो । बिल गेट्ससँग हाल कूल सम्पत्ति ११६.१ अर्ब डलर रहेको छ । 

मुद्रा स्फिर्तीमा मिलान गर्दा समेत बेजोस नयाँ सौभाग्य कोर्न सफल भएको फोर्ब्सले बताएको छ । बिल गेट्स सय अर्ब डलर सम्पत्ति भएको पहिलो व्यक्ति बनेका थिए ।

जब माइक्रोसफ्ट आफ्नो शिखरमा पगेको थियो, त्यतिखेर गेट्सले १०० अर्ब सम्पत्ति कुम्ल्याएका थिए । जुन अहिलेको समयमा मोटामोटी १५८ अर्ब डलर सम्पत्ति बराबर हो । कोरोना भाइरसको महामारीका कारण उपभोक्ताको बानी व्यहोरामा निकै परिवर्तन भएको छ ।

जसको प्रत्यक्ष लाभ अमेजनले बटुलेको छ । उसको स्टकले यस वर्षको सुरुवातको तुलनामा ८० प्रतिशत बढीको वृद्धि हाँसिल गरेको छ  । जसले गर्दा गत जनवरीसम्ममा सालाखाला ११५ अर्ब डलर रहेको बेजोसको सम्पत्तिको थुप्रोले रकेटको गतिमा उचाई ग्रहण गरेको छ ।

उनको सम्पत्ति वृद्धि गराउनुमा अमेजनमा रहेको ११ प्रतिशत शेयरले ९० प्रतिशत भूमिका खेलेको छ । वासिङ्टन पोस्ट, एरोस्पेस कम्पनी ब्लू ओरिजिन र अन्य निजी लगानीमा समेत बेजोसको स्वामित्व छ । बेजोसले गत वर्ष मात्रै विश्वकै महंगो डिभोर्स व्यहोरेका थिए ।

जसमा उनी आफ्नी पूर्व पत्नीलाई अमेजनमा रहेको २५ प्रतिशत शेयर दिन राजी भएका थिए । अहिलेको समयमा उक्त शेयरको मूल्य ६३ अर्ब डलर छ । १.७ अर्ब डलर परोपकारमा दान गरेकी बेजोस पूर्व पत्नी म्याकेन्जी स्कट अहिले संसारकै १४ औं धनाढ्य हुन् भने धनाढ्य महिलाको सूचीमा उनी दोस्रो स्थानमा छिन् ।

पहिलो स्थानमा भने फ्रान्सिस्कोइज बेटनकोर्ट मेयर्स रहेकी छिन् । प्रविधिको डुङ्गामा धनको समुद्रमाथि छाल लगाउँदै नयाँ सम्पत्तिको रास थुपार्ने बेजोस मात्र एक्ला खेलाडी चाहिँ होइनन् । फेसबुकका मार्क जुकरबर्गले मंगलबार मात्रै सय अर्बको रेकर्ड बनाएका थिए ।

फेसबुकमा रहेको स्टकबाट एकै दिन ३.४ अर्ब डलर कुम्लाएका उनको कूल सम्पत्ति १०३.१ अर्ब डलर पुगेको थियो । उनको सम्पत्तिको रास त्यत्तिकैमा सीमित भएन । बुधबार दिउँसो मात्रै ६ अर्ब डलरले थपिँदा उनको कूल सम्पत्ति १०९.१ अर्ब डलर पुगेको छ ।

यससँगै सय अर्ब डलर सम्पत्ति भएका धनाढ्यहरुको संख्या समेत अहिलेसम्मकै धेरै पुगेको छ । जसमा बेजोस, गेट्स, बर्नार्ड अर्नौटसँगै नयाँ ताज पहिरिएका मार्क जुकरबर्ग समेत थपिएका छन् । अर्नौटको सम्पत्ति अहिले ११५ अर्ब डलर छ ।

बेजोसले दुई सय अर्ब डलरको रेकर्ड कायम गरेसँगै अमेजनमा रहेको आफ्नो २६ लाख डलर बराबर मूल्यको ७,५४८ कित्ता शेयर एउटा गैरनाफामुलक संस्थालाई दान गरेका छन् । यससँगै मुद्रा स्फिर्ती समेतको हिसाब हुँदा बेजोसको सम्पत्ति अहिले २०५ अर्ब डलर (२४३ खर्ब ८ अर्ब ९० करोड रुपैयाँ) कायम भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३