close

तीन महिनामै एनसेललाई पौने ५ अर्बको घाटा

टेकपाना टेकपाना

भदौ १२, २०७७ ११:३२

तीन महिनामै एनसेललाई पौने ५ अर्बको घाटा

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी भारी मात्रामा गुमेको छ । कोभिड महामारीले गर्दा कम्पनीले तीन महिनाको अवधिमा मात्रै ४ अर्ब ७८ करोड ६० लाख रुपैयाँ घाटा व्यहोर्नु परेको हो ।

एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले प्रकाशित गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार एनसेलले सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर यस वर्षको सोही अवधिमा भने एनसेलको आम्दानी घटेर ९ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ । 

त्यसो त कम्पनीको पहिलो त्रैमासिकको आम्दानीमा समेत गिरावट देखिएको थियो । जसअनुसार गत वर्षको पहिलो तीन महिनामा १३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ आम्दानी रहेकोमा चालु वर्षको सोही अवधिमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ मात्रै कमाई भएको थियो । यस हिसावले कम्पनीले पहिलो त्रैमासिक अवधिमै एक अर्ब ४८ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरिसकेको थियो ।

डेटाले दियो राहत

कम्पनीको डेटा प्याकजेले भने आम्दानीमा केही भरथेग गरेको छ । कम्पनीको कूल आम्दानीमा डेटा तर्फको हिस्सा लगातार रुपमा बढ्दै गएको छ ।

चालु वर्षको पहिलो तीन महिनाको तुलनामा कूल आम्दानीमा डेटाको हिस्सा ४ प्रतिशतले बढेर २६ प्रतिशत पुगेको छ । यसको मतलव एनसेलले पछिल्लो तिन महिनाको अवधिमा डेटा बिक्री वापत दुई अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

जब कि गत वर्षको दोस्रो त्रैमासिक अवधिमा डेटाको योगदान २२ प्रतिशत मात्र रहेको थियो । यद्यपी कूल आम्दानीमा डेटाको योगदानको प्रतिशत बढेको भए पनि कम्पनीको डेटा वापतको आम्दानीमा भने कमी आएको छ ।

गत वर्षको दोस्रो त्रैमासिकमा डेटा बिक्रीवापत ३ अर्ब १५ करोड १६ लाख ५० हजार रुपैयाँ आम्दानी भएकोमा त्यसको तुलनामा यस वर्षको सोही अवधिमा ६७ करोड १३ लाख ७० हजार रुपैयाँले आम्दानी घटेको छ ।  

सञ्चालन खर्च बढ्यो

कम्पनीको सञ्चालन खर्च समेत बढेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा ३७.४ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा सञ्चालन खर्च बढेर ४९.७ प्रतिशत पुगेको हो । 

घट्यो खुद सम्पत्ति

आम्दानीसँगै कम्पनीको खुद सम्पत्ति समेत ओह्रालो लागेको छ । गत वर्ष जुन महिनासम्म ८२ अर्ब ४१ करोड ४० लाख रहेको कम्पनीको खुद सम्पत्ति २०२० को सोही अवधिसम्म आइपुग्दा ७१ अर्ब ९५ करोड ६० लाखमा खुम्चिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०