close

नेपालको इन्टरनेट स्पीड सुधार्न टिकटकसँग सहकार्य गर्दै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

भदौ १४, २०७७ ९:१

नेपालको इन्टरनेट स्पीड सुधार्न टिकटकसँग सहकार्य गर्दै वर्ल्डलिङ्क

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन लिमिटेडले विद्यमान इन्टरनेट स्पीडमा सुधार ल्याउन टिकटक र अकामाईसँग सहकार्य गर्ने भएको छ । टिकटकको प्रयोग अत्यधिक बढ्दा र प्रोटोकलमा परिवर्तन हुँदा पटिल्लो समय नेपालको इन्टरनेट इकोसिस्टम नै बिग्रिएको छ ।

हाल सेवाप्रदायकको कूल अन्तर्राष्ट्रिय ब्याण्डविथको २५ प्रतिशतभन्दा बढी हिस्सा टिकटकले मात्रै खपत गर्ने गरेको छ । जसका कारण नेपाल लगायतका अन्य मुलुकका सेवाप्रदायकमा अन्तर्राष्ट्रिय ब्याण्डविथको अभाव उत्पन्न गराएको छ ।

मुख्य त राति ८ देखि ११ बजेको पिक आवरको समयमा नेपालमा इन्टरनेट स्पीड निकै नै सुस्त हुन पुगेको छ । टिकटकमाथि अन्तर्राष्ट्रिय रुपमा डेटा सुरक्षाको प्रश्न उब्जिएसँगै उसले गत २८ जुलाईमा एचटीटीपी (HTTP) बाट प्रोटोकल परिवर्तन गर्दै एचटीटीपीएस (HTTPS) मा सारेको थियो ।

प्रोटोकलमा आएको यस किसिमको अनपेक्षित परिवर्तनले नेपालमा टिकटकको क्यास सर्भर समेत स्पेस उपलब्ध हुन सकेन । जसले गर्दा टिकटकका लागि पूर्णतः अन्तरर्राष्ट्रिय ब्याण्डविथ प्रयोग हुने भए पछि नेपालको समग्र इन्टरनेटको गुणस्तरमाथि नै चुनौति पैदा भएको हो ।

पूर्व जानकारी नदिएरै टिकटकले प्रोटोकलमा महत्वपूर्ण परिवर्तन गरेका कारण ब्याण्डविथका लागि आवश्यक तयारी गर्न नपाएका कारण इन्टरनेट स्पीड खस्किएको सेवाप्रदायकहरुको भनाई छ । केही सातादेखि ब्याण्डविथको संकट समाधान गर्न टिकटक र अकामाईसँग सहकार्य भइरहेको वर्ल्डलिङ्कले जनाएको छ ।

‘निषेधाज्ञाका बावजूद संयुक्त रुपमा हामी क्यास नोड तयार पार्ने काम गरिरहेका छौं,’ वर्ल्डलिङ्कले भनेको छ, ‘जुन छिट्टै एक्टिभेट हुनेछ र त्यसले हालको इन्टरनेट स्पीडको समस्या सुधार हुनेछ ।’

कम्पनीले एक साताको अवधिमै आफ्ना इन्टरनेट प्रयोगकर्ताको अनुभवमा सुधार ल्याउने अपेक्षा व्यक्त गर्दै पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ । कम्पनीले आफ्ना मात्र नभएर नेपालमा सबै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक र अकामाईसँगको सहकार्यमा समाधानको विकल्प पहिल्याउन छलफलमा रहेको समेत उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०