close

क्रोमलाई पछि पार्न माइक्रोसफ्टले एजमा थप्यो नयाँ फीचर

टेकपाना टेकपाना

भदौ १५, २०७७ ८:३४

क्रोमलाई पछि पार्न माइक्रोसफ्टले एजमा थप्यो नयाँ फीचर

काठमाडौं । विश्व ब्राउजरको बजारमा क्रोमले अहिले राज नै गरिरहेको छ । झन्डै ६९ प्रतिशत मार्केट शेयर रहेको क्रोमलाई पछि पार्ने योजनाका साथ माइक्रोसफ्ट एजले पछिल्लो समय विभिन्न फीचरहरु सार्वजनिक गरिरहेको छ । एज हाल ७.५९ प्रतिशत मार्केट शेयरका साथ दोस्रो स्थानमा रहेको छ ।

यी दुवै ब्राउजर क्रोमियम ब्राउजर इन्जिनमा आधारित रहेका छन् । त्यसैले पनि यसमा धेरै फीचर एउटै हुने गर्छ । तर, धेरै प्रयोगकर्ता सुरक्षाका कारण गूगलको सर्भिसबाट टाडा रहन चाहेका छन् । एजले उक्त प्रयोगकर्ताको मन जित्न खोजिरहेको छ । यसै क्रममा कम्पनीले भर्खरैमात्र नयाँ फीचर सार्वजनिक गरेको छ ।

कोरोनाका कारण वर्क फ्रम होम, अनलाइन कक्षा नै एउटा मात्रै विकल्प भएको अहिलेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले एजले पछिल्लो भर्सन ८५ मा नयाँ फीचर सार्वजनिक गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक भएको एउटा नयाँ फीचरमा ‘माइक्रोसफ्ट कलेक्सन’ रहेको छ जसले प्रयोगकर्तालाई वेबमा फेला परेका विभिन्न कन्टेन्टलाई कलेक्सन गरेर राख्न मद्दत गर्नेछ । यसअघि पनि यो फीचर उपलब्ध भएको भएतापनि कम्पनीले यसलाई अझ परिस्कृत गरेर ल्याएको जनाएको छ ।

परिस्कृत भर्सनमा प्रयोगकर्ताले कुनै पनि वेव कन्टेन्ट सोझै नोटप्याड, माइक्रोसफ्ट वर्ड र एक्सेलमा पठाउन सक्नेछन् । कम्पनीका अनुसार यो फीचर डेस्कटपका साथै एन्ड्रोइड तथा आईओएसमा समेत उपलब्ध भएको छ ।

साथै एजले नयाँ फीचरको रुपमा बालबालिकालाई लक्षित गर्दै ‘फ्याम्ली सेफ्टी एप’ समेत सार्वजनिक गरेको छ । जसमार्फत बालबालिकाले के हेर्ने नहेर्ने भनी त्यसैबाट कन्ट्रोल गर्न सकिने उल्लेख गरिएको छ ।

यसका साथै पीडीएफ रिडरमा कम्पनीले हाइलाइट र स्क्रीन रिडर फीचर पनि थप गरेको उल्लेख गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०