close

नेपालमै बसी विदेशको काम गर्न सकिने प्लेटफर्म : अनलाईन काम

टेकपाना टेकपाना

भदौ १५, २०७७ १८:६

नेपालमै बसी विदेशको काम गर्न सकिने प्लेटफर्म : अनलाईन काम

काठमाडौं । विदेशमा नेपाली दाजुभाइ सबै श्रमिकका रूपमा मात्रै गएका छैनन् । बौद्धिक र प्राविधिक काममा पनि विदेश जाने प्रवृत्ति बढ्दाे छ । यस्ता जनशक्ति नेपालमै बसेर विदेशका काम गर्न सामर्थ्य राख्छन् ।

कम्प्युट र ईन्टरनेटमार्फत विदेशी कम्पनीहरुको काम आफ्नै परिवारसँग बसेर गर्न कसलाई रहर नहाेला र ? स्वदेशमै बसी काम गर्दा देशको अर्थतन्त्र पनि मजबूत हुने थियो । 

कोभिड १९ को महामारीबीच जारी लामो लकडाउन र निषेधाज्ञाले भने घरमै बसी काम गर्ने संस्कृतिकाे अभ्यास भइरहेकाे छ ।

त्यसो त धेरै नेपालीहरुले देशमै बसेर अन्तरार्ष्ट्रिय कम्पनीहरुको आउटसोर्स जब पनि गर्दै आइरहेका छन् । अन्तराष्ट्रिय अपवर्क फ्रिल्यान्स प्लेटफर्मले यस्ता अवसरहरु पनि प्रदान गर्दै आइरहेका छन् ।

तर नेपाली कामदारलाई लिएर अन्तराष्ट्रिय प्लेटफर्महरुले खासै आदर गरेकाे पाइँदैन । तर कोभिडले रिमोट वर्कको गति र सम्भावनाको दुविधाबाट पर्दा उठायो । र, सम्भावना बढाउँदै नेपाली युवाहरूलाई पनि प्राेत्साहन गर्ने अवस्था सिर्जना गरेकाे छ ।

यसैबीच राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगारदाता कम्पनी र सक्षम नेपाली श्रम शक्तिबीच सम्पर्क स्थापित गराएर रिमोट वर्कमार्फत देशमा रेमिट्यान्स भित्र्याउन अहिले धादिङका २२ वर्षीय विकास पोखरेल लागि परेका छन् ।

यही वृहत् उद्देश्य लिएर विकासले आफ्नो स्टार्टअप कम्पनी अनलाईन कामको वेबसाइट सार्वजनिक गरिसकेका छन् । उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरी स्नातक तहको पढाइलाई थाँती राखेर विगत चार/पाँच वर्षदेखि प्रविधि क्षेत्रका विभिन्न कम्पनीहरुमा विकासले काम गरे ।

अनलाईन कामका संस्थापक विकास पाेखरेल

उनको काम प्राय: मार्केटिङको हुन्थ्याे । तर उनको उत्सुकता र जिज्ञासाले त्यही बेला प्रविधिकाे साेच विकास भयाे । यसैबीच २०१८ मा आइपुग्दा आफूले बटुलेका साेचलाई आफैं उद्यमी बनेर किन कार्यान्वयन नगर्ने भन्ने उत्कट चाहाना विकासको मनमा पलायो । 

त्यो बेला नेपालमा ‘वर्क फ्रम होम’को अभ्यास, अनुभव र बजार केही पनि थिएन । उनले भने यसको भविष्य छ भन्ने बुझेर अनलाईन काम डटकम नामकाे डोमेन किनेर राखे । त्यो साेचलाई विस्तारै मलजल गरे ।

सन् २०२० को सुरुतिर विश्व कोरोना भाइरसको महामारीको जगडमा पर्‍यो । विश्व लकडाउनभित्र कैद भयो । यसबीच सबैले रिमोट वर्किङको अभ्यास गरे । यो सफल पनि भइरहेकाे छ । यही क्रममा विकासको साेचले पनि फल्ने-फुल्ने अनुकूल वातावरण पायो । साेच अझ ब्यापक बनेर आयो । 

चार वर्षअघि उनले चार/पाँचजना अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुलाई डिजिटल मार्केटिङ सिकाइरहेको थिए । त्यस बेलाका केही विद्यार्थीहरुले पनि विकासको यो साेचमा लगानी गर्ने इच्छा देखाए ।

उनीहरुले नै आठलाख रुपैयाँको सिड फण्डिङ उपलब्ध गराए । अहिले विकासको अनलाईन काम टिमले राजधानीकाे सोल्टीमोडमा सपोर्ट अफिस पनि सेटअप गरिसकेको छ । केही हप्ताअघि विकास र उनको टिमले अनलाईन काम वेबसाइट पनि सार्वजनिक गरेकाे छ ।

विभिन्न किसिमका सीप भएका व्यक्तिहरु जसले कम्प्युटर तथा ईन्टरनेटको सहायतामा काम गर्न सक्छन् भने अनलाईन कामले त्यस्ता व्यक्तिहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु जुटाइदिन्छ ।

यसमा प्राविधिक तथा गैरप्राविधिक सबै किसिमका कामहरु डेभलपमेन्ट, कन्टेन्ट राइटिङदेखि वेब डिजाइनिङसम्म पर्ने विकास सुनाउँछन् । 

भर्खरै साइट सार्वजनिक गरेको अनलाइन काम सिधै बजारमा गएर क्लाइन्टमार्फत पैसा कमाउनभन्दा आफ्नो गुणस्तर श्रमशक्ति तयार पार्न लागिरहेकाे छ। 

यसका लागि ती श्रमशक्तिलाई प्रशिक्षण दिने योजना रहेको विकासले टेकपानालाई बताए । ‘हामीले साइट सार्वजनिक गरेको एक हप्तामै ७० भन्दा बढी एप्लिकेसन प्राप्त भएकाे छ । त्यसबाट पनि क्वालिटी वर्कफोर्स निकाल्न पहिले ती नामहरुबाट सर्ट लिस्टिङ गर्छौं,’ उनले सुनाए ।

भावी दिनमा रोजगारदाता कम्पनीबाट माग सिर्जना गराउने र त्यसअघि नै श्रमशक्तिलाई प्रशिक्षण दिएर आफ्नो ट्यालेन्टको पोर्टफोलियो तयार गर्ने अनलाईन कामको योजना छ । आफूसँग त्यस्तो श्रमशक्ति नभएको अवस्थामा बाहिरबाट खोजेर पूर्ति गराउने उनी सुनाउँछन् । 

हाल कम्पनी फाइदामा जानेभन्दा पनि टिक्न केन्द्रित छ । अनलाईन कामले आफ्नो कामलाई पूर्ण स्केलमा सुरु गर्ने समयसम्म पाँच सय ट्यालेन्टलाई तयार गर्ने लक्ष्य लिएको उनी बताउँछन् । 

कोभिडका कारण देशको अर्थतन्त्र तहसनहस भएको छ र यो लामो समयसम्म पनि रहने अनुमान गरिएकाे छ । यस्तो बेला कम्पनीहरुले सकेसम्म कम जनशक्तिबाट धेरै काम गराउनुपर्ने अवस्था हुन्छ । कम्पनीको तत्कालको उद्देश्य भनेको त्यस्ता आवश्यकतालाई पनि पुरा गरिदिनु रहेको विकासले बताए । 

‘कुनै पनि कम्पनीलाई आफ्नो बिजनेस प्लान राइटर चाहियो भने उसले यो बेला अनावश्यक फूल टाइम कर्मचारी नियुक्त गर्न सक्दैन । यस्तो बेला वान टाइम प्रोजेक्ट र अनगोइङ प्रोजेक्टका लागि १०/२० दिनका लागि कर्मचारी राख्न सकिन्छ । यसले त रोजगारदाता कम्पनीलाई पनि उसको खर्च घटाउन मद्दत गर्छ,’ उनले भने । 

उनले नेपालका जनशक्तिलाई विश्व परिवेशमा चिनाउन जरूरी भएकाे बताउँदै पाँच वर्षभित्रमा नेपाली जनशक्तिलाई तयार गर्ने र बाहिरका अवसरहरुसँग पनि जाेडी स्वदेशमै आम्दानी भित्र्याउने योजना रहेको सुनाए ।

आफ्नो संस्थालाई डिजिटल इम्प्लोयमेन्ट डिस्ट्रिब्युसन एण्ड म्यानेजमेन्ट सर्भिस भन्न रुचाउने विकास भविष्यमा कहिले पनि कार्यालयमा गएर गरिने कामकाे प्रोमोट नगर्ने बताउँछन् ।

नेपालमा यस्ता सेवा दिने कम्पनीहरू अरु पनि भएको उनी स्वीकार गर्छन् । तर ती कम्पनीहरुभन्दा आफ्नाे कम्पनी एकदमै फरक रहेको उनीकाे दाबी छ ।

‘नेपालका लागि फ्रिल्यान्सिङ प्लेटफर्म त आइरहेका छन् । अन्तराष्ट्रिय बजारमा पनि अपवर्किङ छन् । सबैले रेमिट्यान्स नै भित्र्याउँछन् । तर उनीहरुले फरक क्षमता भएकाहरुलाई हेर्दैनन् । क्षमतावानलाई मात्र समेट्छन्,’ उनले सुनाए ।

कामको प्रकृति हेर्दा काठमाडौंमा च्याउसरी उम्रिएका जब प्लेसमेन्ट कम्पनी जस्तै लाग्छन् । तर विकासको अनलाइन काम ती कम्पनी भन्दा फरक छ। अनलाईन कामले दिन सक्नेभन्दा धेरै बाचा नगर्ने उनी बताउँछन् ।

‘क्लाइन्टहरुलाई अधिकार छ कि हाम्रो एग्रिमेन्ट पढेर त्यसलाई अप्रुभ वा डिस्प्रुभ गर्न सक्नुहुन्छ । हामी दिनसक्ने भन्दा धेरै बाचा गर्दैनाैं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०